नेपालगञ्ज / नेपाल बिद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले साउन १० गते माग गरेको सूचना उपलब्ध गराएको छ ।
नेपालगन्ज निवासी नमस्कार शाह, हेमराज भट्ट, माधव कुमार कार्की र मन भण्डारीले विभिन्न बिषयमा संयुक्त रुपमा माग गरेको सूचना प्राधिकरणले उपलब्ध गराएको हो ।
सुचनाको हक सम्बन्धि ऐन २०६४ को दफा ३ बमोजिम माग गरिएको सूचनामा २०६१ साल जेष्ठ ७ र असाड ५ गते आएको हावाहुरीको कारण २ थान ट्रान्सफर्मर, २६१ थान बिद्युतपोल, ४.७६ कि.मि. कन्डक्टर क्षती भएको जनाएको छ । सो क्षतीको पुनर्निर्माण कार्य गर्दा पूर्ण रुपमा क्षती भएका पोल, तार र ट्रान्सफर्मरहरु बदली गरी नयां भ्यालुको साथै बितरण प्रणाली सुद्धिकरण कार्य भई प्राप्त भएका बिना मुल्यको पुराना सामान प्रयोग गरिएको प्राधिकरणले जनाएकोछ । यस कार्यालयले सो समयमा ट्रान्सफर्मर जडान गर्दा कुनै पनि सामाग्री खरिद नगरिएको तथा आवश्यक पर्ने लाईन मेटेरियल नेपाल बिद्युत प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालय, नेपालगंजले उपलब्ध गराउने गरेको उल्लेख गरेको छ । कुनै पनि निर्माण तथा मर्मत सम्भार सम्बन्धि कार्य गर्दा स्टोरको खर्च बराबरको सामाग्री फिल्डमा कम देखिएमा बिल भुक्तानी अगावै प्राविधिक नापजांच पश्चात स्टोर फिर्ता गर्ने गरिएको सूचनामा उल्लेख गरिएको छ । बिद्युत पोल, तार, ट्रान्सफर्मर थप र बदलीका कार्यहरु (ज्याला) नेपाल सरकारको मान्यता प्राप्त निर्माण व्यवसायीको फर्म मार्फत नेपाल बिद्युत प्राधिकरण आर्थिक प्रशासन विनियमावली २०६८ ले दिएको अधिकार प्रयोग गरी खरिद गरिएको जानकारी दिएको छ । सूचना माग गर्दा पोल राखिएको स्थानको विवरण र सो पोल ट्रान्सफरम जडान गर्दाको सामाग्री निकासा गरेको र पुरानो सामाग्री स्टोर दाखीला गरेको कागजातको छाया कपी माग गरेकोमा उक्त सामाग्री भने उपलब्ध गराएको छैन । यसैगरी ट्रान्सफर जडान गर्दा र बदली गर्दा सो संगै जडान हुनुपर्ने अन्य सामानहरु के के हुन ? र स्वीकृत भै स्टोरबाट निकासा भएका सामानहरुको नामावली र कार्य पर्छ्यौट गर्दा वास्तविक रुपमा लागेका सामानहरुको अवस्था ? यदि खर्च काटिएका सामनाहरु ट्रान्स्फर्मर मा जडान छैनन भने कसरी त्यो काम सदर गरियो ? त्यसका कानुनी आधारको छायाँ कपी माग गरिएकोमा सो उपलब्ध गराईएको छैन ।
यसैगरी प्राधिकरणले नेपालगंज उपमहानगरपालिका भित्र ३२५ थान ट्रान्सफर्मरहरु जडित अवस्थामा रहेको जनाएको छ । तर टान्सफर्मर कुन कुन स्थानमा छन् भन्ने सुचना भने दिन सकेको छैन । सूचनामा माग गरिएको बिद्युत टान्सफर्मरहरुमा सुरक्षाको दृष्टीकोणले अनिवार्य हुनुपर्ने एमसिपि कतिवटा र कुनकुन स्थानका टान्सफर्मरमा जडान गरिएको छ भन्ने प्रश्नको जवाफ बिद्युतले दिएको छैन । जसमा घुमाउरो सैलीमा सुरक्षा उपकरणहरु स्टोर मौज्दात रहेको अवस्थामा ट्रान्सफर्मर जडान गर्ने समयमा नै जडान गर्ने गरिएको साथै जडान नभएको हकमा डिभिजन कार्यालयवाट प्राप्त हुनासाथ क्रमिक रुपमा जडान गर्ने गरिएको उल्लेख गरेको छ । यसैगरी आर्थिक बर्ष २०८०/०८१ मा बिद्युत तार र पोलहरु कति परिमाणमा नयाँ जडान गरिएको हो सो को विवरण तथा पुरानो बिद्युत पोल र तार स्टोर गरिएको स्टोरको पत्र तथा गेट ईन आउट भएको जानकारी पत्र माग गरिएकोमा त्यसको जवाफमा नयाँ निर्माण बाहेक तार तथा ट्रान्सफर्मरको क्षमता वृद्धि गर्दा पुरानो समान स्टोर फिर्ता गर्ने गरिएको भनेर सतही जवाफ दिएको छ ।
यसैगरी कार्यालय प्रमुखको कार्यकक्षमा जान सेवाग्राहीहरुलाई बाहिर बसेका कर्मचारीहरुले रोक्ने गरेको गुनासो छ यथार्थता के हो, कति जना कर्मचारी कार्यालय प्रमुखको कार्यकक्षमा सहायकको रुपमा नियुक्त गरिएका छन् कर्मचारीको नामावली सहितको विवरण माग गरिएकोमा बिद्युत प्राधिकरणले बांके जिल्लाकै सबै भन्दा बढि सेवाग्राही भएको कार्यालय भएकोले कार्यालय प्रमुखको कार्यकक्षमा पनि अत्याधिक भिडभाड हुने गरेको र सो लाई व्यवस्थित गर्न पालो अनुसार कार्यालय प्रमुखको कार्यकक्षमा प्रबेश गर्ने ब्यवस्था गरिएको छ । सो कार्यको लागि एक जना कार्यालय सहयोगी मात्रै खटाईएको जवाफ सूचनामा उल्लेख गरिएको छ । नेपाल बिद्युत प्राविधिकरण नेपालगन्ज बितरण केन्द्रमा सुचना अधिकारी ई. शृजेश प्रसादद्धारा हस्ताक्षरीत प्राप्त सुचनामा मागेको कागजात कुनै पनि प्राप्त नभएकाले कार्यालय प्रमुखलाई उजुरी गर्ने सूचना मागकर्ताहरुले बताएका छन् । सुचना मागकर्ता माधब कुमार कार्कीले मागेको आंशिक सुचना मात्रै प्राप्त भएको र चित्त बुझ्दो गरी सूचना प्राप्त नभएको बताए ।