समाज सेवामा सक्रिय परमेश्वरको मण्डली

असल शासन प्रतिनिधि

नेपालगन्ज/ परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले रत्न राजमार्गमा सरसफाइ गरेको छ । नेपालगन्ज उपमहानगरपालिका अन्तर्गत करिब एक किलोमिटर आसपासमा सरसफाइ गरिएको हो ।

परमेश्वरको मण्डलीका सदस्यहरू, प्रहरीका साथै छिमेकीलगायत १५० जनाको सहभागितामा तीन घण्टा सडक वरपर सरसफाइ गरिएको थियो । सरसरफाइका क्रममा प्लास्टिक, एकल–प्रयोग सामग्रीहरू, क्यान, फुटेका बोतलहरू, चुरोटका ठुटाहरू जस्ता विभिन्न फोहोरहरूले ५० लिटरका २ सय बोरा फोहोर संकलन भएको थियो । त्यस्तै सरसफाइमा सहभागीले गैरकानूनी रूपमा टाँसिएका विज्ञापनसमेत हटाएका थिए ।

मानव–जातिको खुशीको निम्ति परमेश्वरले सृष्टि गर्नुभएको पृथ्वीलाई सुन्दर रूपमा सजाएर भावी पुस्तामाझ हस्तान्तरण गर्ने उद्देश्यले सरसफाइ कार्यमा स्वेच्छाले सहभागी भएको परमेश्वरको मण्डलीका पदाधिकारीले बताए ।

सरसफाइ कार्यमा नेपालगन्ज उप–महानगरपालिकाले फोहोर व्यवस्थापनको लागि टेक्टरको उपलब्ध गराएको थियो भने कार्यक्रममा सहभागी नेपालगन्ज उप महानगरपालिका वडा नं. १ का वडाध्यक्ष तथा नेपालगन्ज उप महानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले मण्डलीले गरिरहेको वातावरण सरसफाइका साथै रक्तदान जस्ता परोपकारी कार्यहरू अतिनै प्रशंसनीय रहेको बताए ।

कार्यक्रममा सहभागी ५६ वर्षीय जुनबहादुर थापाले वातावरण सरसफाइ गर्दै पृथ्वी र मानव हितको कार्यमा आफू सहभागी भएको भन्दै खुसी व्यक्त गरे । त्यस्तै कार्यक्रममा सहभागी मिन बहादुर पुनले वातावरण सरसफाइ गर्नु भनेको आफैमा असल कार्य हो, झरी पर्ने मौसम भए पनि कुनै प्राकृतिक अवरोधबिनै सरसफाइ कार्यक्रम सम्पन्न भएको भन्दै खुसी व्यक्त गरे ।

मण्डलीले देशका विभिन्न ठाउँमा सरसरफाइको कार्यक्रमहरु संचालन गर्दै आएको छ । बागमती प्रदेशको मकवानपुर र धादिङ, कोशी प्रदेशको मोरङ, कर्णाली प्रदेशको सुर्खेत लगायत देशका विभिन्न ठाउँहरूमा वातावरण सरसफाइ गर्न परमेश्वरको मण्डली अग्रसर रहेको छ ।
त्यस्तै वातावरण स्वच्छ बनाउने भन्दै काठमाडौँको नागार्जुनस्थित छग्डोल गाउँको सामुदायिक वनमा ५०० वटा र कोशी प्रदेश दमकको रतुवा खोला किनारमा ५०० वटा रूखहरू रोपेको थियो ।

त्यसै गरी काठमाडौंको बूढानीलकण्ठ भङ्गालस्थित धोवी खोला परिसरमा, भक्तपुरको सूर्यविनायकस्थित वन भोज खेल मैदानमा र गण्डकी प्रदेशको नवलपुरस्थित बर्दघाटमा ‘प्लास्टिक फुटप्रिन्ट मेटाउने’ अभियान संचालन गरेको छ । ‘प्लास्टिक फुटप्रिन्ट’ भन्नाले मानव–जातिले प्रयोग गर्ने र विसर्जन गर्ने प्लास्टिकको कुल मात्रालाई जनाउँछ । यसले समुद्र वा नदीहरूमा बग्ने प्लास्टिकजन्य फोहोरलाई संकलन गर्ने र त्यसलाई छुट्टाछुट्टै विसर्जन गर्ने र प्लास्टिकको प्रयोगलाई घटाएर कार्बनडाइअक्साइड उत्सर्जन घटाउने, वातावरण संरक्षण सम्बन्धी जनचेतना जगाउने र सहभागिता प्रवद्र्धन गर्ने लक्ष्य लिएको छ ।

त्यस्तै मण्डलीले १९ पटक बृहत् रक्तदान कार्यक्रमको आयोजना गर्नुका साथै वृद्धाश्रमको भ्रमण, माध्यमिक तथा उच्च माध्यमिक विद्यालयहरूमा कम्प्युटर सहयोग जस्ता विभिन्न गतिविधिमार्फत समाज सेवामा सक्रिय रहेको छ । विभिन्न क्षेत्रमा स्वयम्सेवा गर्दैआएको मण्डलीले २०७२ सालमा महाभूकम्प गएको बेलामा पनि सिन्धुपाल्चोकको श्री आधारभूत विद्यालय र काभ्रेको श्री भवानी माध्यमिक विद्यालयको पुनर्निर्माण गर्नुका साथै ७१० वटा क्षेत्रहरूमा मर्मत सम्भार कार्य तथा घाइतेको उद्धार गरेको थियो ।

समाजिक सेवा गरेको भन्दै ४ हजार ७ सय बढी अवार्डबाट सम्मानित मण्डलीले हिमाली क्षेत्रका गाउँहरूमा हेलिकप्टरबाट १ हजार घरधुरीका लागि १४ पटक खाद्यान्न ढुवानी गरेको थियो ।

२८ हजार पटकभन्दा बढी समाज सेवाका गतिविधि संचालन गरेको मण्डलीले वातावरण संरक्षण, रक्तदान, प्रकोप राहत कार्य, शैक्षिक सहयोग जस्ता गतिविधि संचालन गर्दै आएको छ ।

  • ४ भाद्र २०८१, मंगलवार प्रकाशित

  • Nabintech