नेपालगञ्ज / वीर अस्पताल ईन्टरनल मेडिसिन विभागको नर्सिङ इन्चार्ज सुभद्रा रेग्मीको निधन भएको छ ।वीर अस्पतालमै एन्जीयोप्लास्टी गरिसकेपछि अचानक स्वास्थ्यमा समस्या आउँदा आज दिउसो उनको निधन भएको हो ।
हिजोसम्म डिउटीमै खटिएकी रेग्मी आज पूर्वनिर्धारित योजना अनुसार साघुरिएको मुटुको इलाज गर्न आफैले गाडी चलाएर आफैले काम गर्ने वीर अस्पताल पुगेकी थिईन् ।
परीक्षण पछि त्यहाँका मुटु विभागका चिकित्सकहरुले एन्जीयोप्लास्टी गरेर साँघुरिएको दुईवटा रक्तनलीमा स्टेन्ट हालेका समेत थिए । तर अचानक उनको स्वास्थ्य विग्रिया, मुटु बन्द भयो र निधन भयो ।
अस्पतालका निर्देशक डा सन्तोष पौडेलले एन्जीयोप्लास्टी अहिले सामान्य भनिए पनि कहिले काँही नसोचेका जटिल यस भित्र आइदिने भन्दै नर्सिङ इन्जार्च रेग्मीको केशमा पनि त्यहि भएको उनले बताए ।
‘वीर अस्पतालको पुरानो र सिनियर दिदी हो । हिजो सम्म बिरामीको सेवा गरिरहेको र आज पनि आफै गाडी हाँकेर आउनु भएको थियो । साँघुरिएको मुटुको रक्तनलीमा स्टेन्ट हाल्नका लागि वीरकै विभागमा भर्ना हुनु भयो । तर एक्कासी कम्प्लिकेसन आयो,’ डा. पौडेलले अगाडी थपे, ‘हामी सबै वीर परिवार नै स्तव्ध छौँ ।’
मृतक रेग्मीको एक जना छोरी विदेशबाट आउनु पर्ने भएकोले उनको शबलाई त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।