स्व. बिन्दु कुवँर स्मृती अक्षय कोषबाट खाद्यान्न सहयोग

असल शासन प्रतिनिधि

नेपालगन्ज । जानकी गाउँपालिका वडा नम्बर २ नवाजीगाउँका ४० बर्षिया राम नरेश रैदासको ७ जनाको परिवार छ, बिहान मजदुरीका लागि घरबाट निस्कने रैदास साँझ घर आउँदा दिनभरी कमाएको पैंसाबाट परिवारको गुजारा टार्दै आएका छन् ।
सानो एक कोठे टिनले छाएको घर कोठाको ढोकामा नै सटेको अगेनो र अगेनोको छेउमा पानीको नल्का छ, जहाँ राम नरेश उनकी आमा, श्रीमती र चार जना छोराछोरीसँगै बस्दै आएका छन् । कोठामा केही मात्र सामाग्री छन् । दैनिक मजदुरीबाट पैंसा आयो छाक टर्यो नत्र भगवान भरोसे उनको परिवारको दैनिकी चलेको छ ।
परिवारको खानाको लागि समेत समस्यामा रहेका रैदासको परिवारको बारेमा जानकारी पाएपछि भाद्र २० गते बास नेपालमा स्थापित स्वर्गीय बिन्दु कुवँर स्मृती अक्षयकोष मार्फत खाद्यान्न सहयोग गरिएको छ । मानब बेचबिखन बिरुद्धको दिवसको अवसरमा सो सहयोग प्रदान गरिएको हो ।
गरिब बिपन्न ब्यक्तिलाई सहयोग गरिदै आएको उक्त कोषबाट रैदासको घरमा नै पुगेर २ बोरी चामल, दाल, एक पेटी खाने तेल, तिन क्यारेट अण्डा, नुन, बिष्कुट लगायत खाद्यान्न प्रदान गरिएको हो । बास नेपालका केन्द्रीय उपाध्यक्ष शिव कुमार बर्मा, कार्यकारी निर्देशक नमस्कार शाह, उद्यमि रचना श्रेष्ठ, वडा अध्यक्ष चन्द्रीका प्रशाद गुप्ता लगायतले उक्त सामाग्री हस्तान्तरण गर्दा रैदासका ६६ बर्षिया आमा सुखनी रैदासको मुहारमा हाँसो थियो । उनी भन्दै थिईन –केही दिन राम्रोसँग खान पुग्ने भयो । निकै कष्टकर जिवन विताईरहेका रैदासको श्रीमति शुष्त मनष्थितीकी छिन् जसका कार परिवारको लालन पालनको जिम्मेवारी राम नरेशको काँधमा छ । खाद्यान्न लिएपछि राम नरेशले धन्यबाद भन्दै खुसी ब्यक्त गरेका थिए ।
खाद्यान्न हस्तान्तरण कार्यक्रममा बोल्दै वडा अध्यक्ष चन्द्रीका प्रशाद गुप्ताले सबै भन्दा ठुलो मानवीय कार्य अभावमा रहेकालाई दान गर्नु रहेको बताए । उनले अभावमा बाचिरहेका ब्यक्तिहरुको पहिचान गरी विभिन्न समयमा खाद्यान्न लगायत सामाग्री वितरण गर्दै आएको बास नेपाललाई धन्यबाद ज्ञापन गरे ।


खाद्यान्न सहयोग प्राप्त गरेका राम नरेश रैदासको परिवारमा श्रीमती पुनम रैदास, ५ बर्षिया छोरी माया रैदास, ४ बर्षिया छोरी दुर्गा रैदास, ३ बर्षिया छोरा सत्रुघन रैदास, १ बर्षिया छोरी प्रेमा रैदास र ६६ बर्षिया आमा सुखनी रैदास रहेका छन् ।
खाद्यान्न बितरण कार्यक्रममा वडा अध्यक्ष चन्द्रीका प्रशाद गुप्ता, बासका केन्द्रीय उपाध्यक्ष शिब कुमार बर्मा, कार्यकारी निर्देशक नमस्कार शाह, निर्देशक हेमराज भट्ट, कार्यक्रम प्रबन्धक मन भण्डारी, लेखा सहायक प्रदिप बोहरा, सरस्वती क्षेत्री, उद्यमी रचना श्रेष्ठ, रेखा गुप्ता लगायतको उपस्थिती रहेको थियो ।


पूर्ब महिला बिकास निरिक्षक स्वर्गिय बिन्दु कुवँरको स्मृतीमा बास नेपालले अक्षय कोष स्थापना गरेको थियो । क्यान्सर रोगबाट पीडित भई दिवंगत भएकि कुवँर मानव बेचबिखन, महिला हिंसा बिरुद्ध सशक्त रुपमा क्रियाशिल थिईन् ।


अक्षय कोषबाट प्राप्त हुने व्याजबाट भाद्रमा मनाईने मानव बेचबिखन बिरुद्धको दिवसमा मानव बेचबिखन, लैंगिक हिंसा बिरुद्ध काम गर्ने संघ, संस्था वा व्यक्तिलाई सम्मान गर्नुका साथै सहयोगापेक्षि व्यक्तिहरुलाई सहयोग गर्ने उद्धेश्यले अक्षय कोष स्थापना गरिएको थियो ।
क्यान्सर रोगबाट पीडित भई उपचारमा रहँदा वहाँको उपचारमा सहयोग गर्नका लागि नेपालगञ्जमा बिन्दु कुवँर उपचार सहयोगार्थ समिति गठन गरि आर्थिक संकलन गरेर आर्थिक सहयोग गरिएको थियो ।

  • २० भाद्र २०८१, बिहीबार प्रकाशित

  • Nabintech