मगर गोहीको उद्धार

ईन्द्रा कुुमारी केसी

घोडाघोडी (कैलाली),४ असोज/
कैलालीको घोडाघोडी नगरपालिकामा गोहीको उद्धार गरिएको छ । घोडाघोडी १ स्थित सानो ओजुवा तालबाट गाउँ तर्फको कुलामा आएको वयस्क मगर गोहीको वन कर्मचारी र स्थानीयले आज बिहान उद्धार गरेका हुन । उद्धार गरिएको गोही घोडाघोडी तालमा छोडेको डिभिजन वन कार्यालय पहलमानपुरका वन अधिकृत विश्वराज पण्डितले जानकारी दिनु भयो ।

सन २००३ मा घोडाघोडी ताललाई विश्व रामसार क्षेत्रमा सूचीकृत गरिएको छ । रामसार क्षेत्रमा सूचीकृत गर्ने सूचक प्रजाति मध्य मगर गोही पनि एक हो । मगर गोही सँगै जङ्गली धान,हरिहाँस घोडाघोडीका सूचक प्रजाति हुन ।
विभिन्न ठाउबाट उद्धार गरी घोडाघोडी तालमा गोही छाड्ने गरिन्छ । गोहीको संरक्षणका लागि केहि महिना पहिले घोडाघोडीमा गोहीको प्रजनन केन्द्र पनि व्यवस्थापन गरिएको छ । डिभिजन वन कार्यालय पहलमानपुरको सहयोगमा डल्फिन संरक्षण केन्द्रले गोही प्रजनन केन्द्रको व्यवस्थापन गरेको हो ।
डल्फिन संरक्षण केन्द्रका कोषाध्यक्ष हिरूलाल डङ्गौराका अनुसार एउटा वयस्क मगर गोहीले एक पटकमा ३० देखि ३५ वटासम्म अन्डा दिने गर्छ । गोहीले बालुवामा अन्डा पारी पुर्ने गर्दछन् ।
ताल बाहिर गई अन्डा दिने गर्नाले मगर गोहीका बच्चा खेतबारी, कुलोमा भेटिने गर्छन ।

  • ४ आश्विन २०८१, शुक्रबार प्रकाशित

  • Nabintech