कैलालीमा उद्धार गरेको चितुवाको मृत्यु

ईन्द्रा कुुमारी केसी

१ कार्तिक/
कैलालीको एक सामुदायिक वन भित्र पासोमा परेको अवस्थामा उद्धार गरिएको चितुवाको मृत्यु भएको छ । जिल्लाको जानकी गाउँपालिका ६ स्थित कैलाशेश्वर सामुदायिक वन भित्र पासोमा परेको अवस्थामा हिजो बिहान चितुवा फेला परेको थियो । सामुदायिक वनका हेरारुले चितुवा पासोमा परेको देखेपछि वन कार्यालयलाई खबर गरेका थिए ।
पासोमा परेको वयस्क भाले चितुवाको डिभिजन वन कार्यालय पहलमानपुरको समन्वयमा बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाको टोलीले उद्धार गरेको थियो ।
उद्धार गरी थप उपचार र पुनर्स्थापनाका लागि डिभिजन बन कार्यालय पहलमानपुर राखिएको चितुवाको मृत्यु भएको सव डिभिजन वन कार्यालय टिकापुरका वन अधिकृत विश्वराज पण्डितले जानकारी दिनु भयो ।
पण्डितका अनुसार चितुवा अन्य ठाउँमा नै पासोमा परेको हुनसक्छ । पासो थापेको लामो काठको किला घ्रिसार्दै आएको चितुवा झाडीमा अल्झिएर कतै जान नसक्ने अवस्थामा थियो ।
यसै बिच हिजो नै जानकी गाउँपालिका ३ लायकपुर स्थित कुलोमा फेला परेको मगर गोहीको पनि उद्धार गरिएको छ । गोहीको उद्धार गरी कर्णाली नदिमा छोडिएको वन अधिकृत पण्डितले जानकारी दिनु भयो ।


हिजै टिकापुर नगरपालिका ५ बसन्ताको धान खेतमा फेला परेको अजिङ्गरको पनि उद्धार गरिएको छ । सर्प उद्धारकर्ता लक्ष्मण उपाध्यायद्वारा उद्धार गरी प्राकृतिक वास स्थानमा पुर्न स्थापना गरिएको वन अधिकृत पण्डितले जानकारी दिनु भयो ।

 

  • १ कार्तिक २०८१, बिहीबार प्रकाशित

  • Nabintech