पुस्तक पसलेले यसरी लिए किशोरीको ज्यान

असल शासन प्रतिनिधि

डडेल्धुराडडेल्धुरामा गत शनिवार मृत भेटिएकी किशोरीको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

डडेल्धुरा सदरमुकाम अमरगढी नगरपालिका–७ की १४ वर्षीया आरती भट्टराईको हत्या आरोपमा ५८ वर्षीय टेकबहादुर भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो ।

भण्डारीले भट्टराईको हत्या गरेको स्वीकारेको डडेल्धुरा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले बताए । पोखरा बजारमा भण्डारी पुस्तक एण्ड स्टेस्नरी पसल सञ्चालन गरिरहेका भण्डारीले पसलभित्रै किशोरीको हत्या गरिएको खुलेको छ । प्रहरीका अनुसार, आवेशमा आएर किशोरीको घाँटी थिचेर हत्या गरेको, हत्या गर्नुको कारण भने अझै खुलेको छैन । स्थानीयले भने किशोरीको बलात्कारपछि हत्या गरिएको दावी गर्दै आएका छन् ।

जबरजस्ती करणी गर्न खोज्दा किशोरीले अस्वीकार गरेपछि आवेशमा आएर हत्या गरेको हुन सक्ने अनुमान प्रहरीको छ । पोष्टमार्टम रिपोर्ट नआईसकेकाले बलात्कार हो हैन भन्न नसकिने प्रहरीको भनाई छ । किशोरीले आफू भारत जाने र केही पैसा चाहिएको भन्दै भण्डारीलाई २३ गते पनि भेटेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीको भनाइ छ ।

१४ वर्षीया किशोरी आरती भट्टराई २५ गते दिउँसोसम्म घरमै रहेको र ४ बजे गहुँ पिस्न स्थानीय पोखरा बजारको मिलमा गएकी थिइन् । बजारमा उनले चप्पल पनि किनेको पाइएको छ । भण्डारीसँग किशोरीको एक बर्षअघिबाटै चिनजान रहेको उल्लेख गर्दै प्रनाउ श्रेष्ठले भने ‘किशोरी भण्डारीको पसलमा साँझ ५ बजेतिर पुगेको देखिन्छ, कुराकानीकै क्रममा आवेशमा हत्या भएको हुनसक्छ ।’

प्रहरीका अनुसार, हत्यापछि ६ बजेतिर भण्डारीले आरतीको शव प्लाष्टिकको बोरामा सामान जस्तै प्याक गरी पसलको बाहिर राखेका थिए । हतारमा पसल बन्द गरेर भाग्ने क्रममा उनको मोटरसाइकल पसल अगाडि नै ढलेपछि नजिकै रहेका सुरक्षाकर्मीले देखेर उठाउन सहयोग गरेका थिए ।

आफ्नै पसल अगाडि शव राखेका उनी त्यसपछि डडेल्धुरा सदरमुकाम हुँदै पोखराबाट १० किलोमिटर टाढाको स्याउले बजार पुगे । प्रहरी श्रोत भन्छ – पसलमा शव राखेर निस्किएका उनी त्यसपछि फेरि तीन किमी पछाडि नै फर्केर तुफानडाँडामा तीन घण्टा मदिरा पिए । त्यसपछी ९ बजेतिर फर्केर उनले आफ्नो पसल खोले ।

शव व्यवस्थापनका म १ प १४५४ नम्बरको आफ्नै मोटरसाइकलमा बाँधेर व्यवस्थापन गर्ने तयारीमा रहेका बेला कुकुर भुक्न थालेपछि भण्डारी अलमलमा पर्दा मोटरसाइकल नालीमा ढल्न पुग्यो ।त्यसपछि पोखरा बजारको १० मिटर पूर्वतर्फ शव फालेर भण्डारी भागे । तर, उनको टोपी र चप्पल भने शव फालेकै ठाउँमा छुट्न पुगेको थियो । शव नजिकै भेटिएको आरोपीको टोपी र चप्पलका कारण प्रहरीले दोस्रो दिन बिहान शौचालयमा लुकेको अवस्थामा भण्डारीलाई पक्राउ गरेको हो ।

  • ४ कार्तिक २०८१, आईतवार प्रकाशित

  • Nabintech