गिद्ध संरक्षण सम्बन्धी सरोकारवाला सँग अन्तरक्रिया

ईन्द्रा कुुमारी केसी

घोडाघोडी (कैलाली), १४ कात्तिक
गिद्ध संरक्षणका लागि कैलालीको घोडाघोडी नगरपालिकामा अन्तरक्रिया गरिएको छ । पोखरा पंक्षी समाजको आयोजनामा हिजो घोडाघोडी १० पहलमानपुरमा उक्त कार्यक्रम गरिएको हो ।
सुदूरपश्चिम प्रदेशमा हुने विकासका विभिन्न कार्यक्रमबाट गिद्धलाई पर्ने असरको न्यूनिकरण र समाधान खोज्नुका साथै विभिन्न निकायका प्रतिनिधिलाई गिद्धको महत्व तथा संरक्षणको आवश्यकताको बारेमा छलफल गर्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको आईयुसिएन गिद्ध विशेषज्ञ समूहका सदस्य कृष्ण प्रसाद भुसालले जानकारी दिनु भयो ।
गिद्धको अवस्था र संरक्षणको चुनौतीबारे जानकारी दिँदै पोखरा पंक्षी समाजका सचिव हेमन्त ढकालले नेपालमा ९ प्रजातिका गिद्धहरू पाइने गरेको बताउनु भयो । उहाँले भन्नु भयो, नेपालमा पाइने ४ प्रजाति अति सङ्कटापन्न छन् संरक्षणमा ध्यान नदिए सबै लोप हुने अवस्थामा पुग्नेछन ।
आहाराको अभाव, बासस्थानको विनाश, हाईटेन्सन लाइन, पशुुमा विषादी प्रयोग गरि मार्ने लगायतका कारण गिद्ध संरक्षणमा चुनौती रहेको उहाँले बताउनु भयो ।
नेपाल पंक्षी संरक्षण सङ्घका अधिकृत देउ बहादुर रानाले सुदूरपश्चिममा कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडीमा गिद्धहरू पाउने गरेको बताउनु भयो । सुदूरपश्चिममा १४ ओटा गिद्धमा जिपिएस ट्याग लगाएर अध्ययन समेत भइरहेको छ ।
गिद्ध आहारा खोज्न कति टाढासम्म पुग्न सक्छ ? उसको वासस्थान (गुँड बनाउने ठाउँ) कस्तो छ ? जस्ता विषयहरुको अध्ययन गर्न गिद्धमा जिपिएस ट्याग लगाउने कार्य गरिएकोे रानाले जानकारी दिनु भयो ।
नेपाल भरि गिद्धहरू कहाँ पाईन्छन भन्ने बारे एकिन तथ्याङ्क छैन । त्यसका लागि पोखरा पंक्षी समाजले आखिझ्याल टेक्नोलोजी पोखराको सहकार्यमा विङ वाचर मोबाइल एप्लिकेसन ल्याएको पारस देवकोटाले जानकारी दिनु भयो । उहाँले भन्नुभयो, यस एप्लिकेसनको माध्यमबाट जो कोहिले पनि गिद्ध देखिनासाथ रियल टाइम तथ्यांक प्रदान गर्न सक्छन् । यसले गर्दा देशैभरी कहाँ कहाँ गिद्ध पाइन्छन् भन्ने एकिन सूूचना प्राप्त भई भविष्यमा थप अध्ययन अनुसन्धान, नीति निर्माण र संरक्षणका कार्यहरु गर्न सहज हुने उहाँले बताउनु भयो ।
कार्यक्रममा बोल्दै कैलाली क्षेत्र न ३ का सङ्घीय सांसद गङ्गाराम चौधरीले गिद्ध संरक्षणको पाटोमा सदनमा अहिले सम्म कुरा नउठेको बताउनु भयो । धेरै जनालाई यो विषयको जानकारी पनि नभएकाले गिद्ध संरक्षणको कुरा सदनमा राख्ने उहाँले बताउनु भयो ।

पहिले निकै देखिने गिद्ध अहिले हराउँदै गएको घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडक रावतले बताउनु भयो । गिद्ध हराउँदै जाँदा सन्तुलित पारिस्थितीकिय प्रणालीमा असर परिहेको बताउँदै उहाँले भन्नु भयो, यसको संरक्षणमा नलागे भविष्यमा गिद्ध नै लोप हुने अवस्थामा पुग्नेछ ।
कार्यक्रममा डिभिजन वन कार्यालयका प्रतिनिधी, बसन्ता वन संरक्षण परिषद्का अध्यक्ष, डल्फिन संरक्षण केन्द्रका प्रतिनिधी, फेकोफनका प्रतिनिधी लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमको सहजीकरण पंक्षी संरक्षण सङ्घका फिल्ड अधिकृत हिरुलाल डगौराले गर्नु भएको थियो ।

  • १४ कार्तिक २०८१, बुधबार प्रकाशित

  • Nabintech