वैकुण्ठधाम आध्यात्मिक महोत्सव नेपालगञ्जमा सुरु

असल शासन प्रतिनिधि

नेपालगञ्ज/ बाँकेको सिधनियाँ घाटमा प्रस्तावित वैकुण्ठधाम निर्माणको सहयोगार्थ वैकुण्ठधाम आध्यात्मिक महोत्सव नेपालगञ्जमा सुरु भएको छ ।

वाचन शिरोमणी पं दीनबन्धु पोखरेलको प्रमुख वाचनमा हुने आध्यात्मिक महोत्स बिहीबारबाट शुरु भएको हो ।

महोत्सवको उद्घाटन बाचन शिरोमणि पोखरेलले गरे ।

उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले जीवनको अन्तिम सत्य  मृत्यु भएको उल्लेख गर्दै मृत्युलाई सहज र सम्मानपूर्वक बनाउन वैकुण्ठधामको परिकल्पना गरिएको बताए ।

महोत्सव आयोजक समितिका संयोजक डा सुरेश कुमार कनोडियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिनधिसभा सदस्य दीपा शर्मा, लक्ष्मी तिवारी, प्रदेशसभा सदस्य रत्न खत्री, बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल, नेपालगन्ज उपमहानगर प्रमुख प्रसान्त विष्ट, कोहलपर नगरपालिकाकी उपप्रमुख संगिता सुवेदीलगायतले महोत्सवको सफलता सहित वैकुण्ठधाम निर्माणमा आफ्नो सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।

उदघाटन पूर्व पहिलोदिन महोत्सवस्थल रामलिला मैदानबाट निस्केको शोभा कलशयात्रा नगरको विभिन्न भागको परिक्रमा गर्दै पुनः रामलिला मैदान पुगेर सम्पन्न भएको थियो ।

बिहान ११ बजे महोत्सव स्थल रामलिला मैदानबाट झाँकी सहित निस्केको शोभा कलशयात्रा भेरी अस्पताल, गणेशमान चोक, विपी चोक, धम्बोझी, सेतु बिक चोक हुदै त्रिभुवन चोक, रानी तलाउ हुदै पुनः रामलिला मैदानमा पुगेर समापन भएको थियो । विभिन्न जाती, भाषा, धर्म र सम्प्रदायको झाँकी सहितको कलशयात्रामा हजार बढी स्थानीयबासीको सहभागिता रहेको थियो ।

  • २२ कार्तिक २०८१, बिहीबार प्रकाशित

  • Nabintech