नेपालगन्ज/ सहयात्री नेपालले १६ देखि २४ वर्ष उमेर समूहका युवाहरूलाई लक्षित गर्दै ‘सहयात्री युवा फेलोसिप–२०२४’ अन्तर्गत बाल अधिकार, युवा सशक्तिकरण, मानव बेचबिखन विरोध, र जलवायु न्यायका विषयमा दुई दिने तालिम आयोजना गरेको छ । यस कार्यक्रमको उद्देश्य युवाहरूलाई सामूहिक वकालतमा संलग्न गराई उनीहरूलाई सशक्त बनाउनु हो । तालिम मंसिर ४ र ५ गते दुई दिनसम्म सञ्चालन भयो ।
पहिलो दिनको तालिममा माइती नेपाल बाकेका प्रमुख केशव कोइरालाले प्रशिक्षण दिए, भने ‘युवा सशक्तिकरण’ विषयमा सहयात्री नेपालका ऋतिक शाहीले प्रशिक्षण सञ्चालन गरे । दोस्रो दिन प्रहरी निरीक्षक शिभा थापाले मानव बेचबिखन र कानूनी पक्षमा प्रशिक्षण दिइन् भने बाल अधिकार सम्बन्धी प्रशिक्षण स्वेता गुरुङले दिइन् । यो तालिम एनआरएनए अस्ट्रेलिया र नारी निकुञ्ज अस्ट्रेलियाको सहयोगमा सम्पन्न भएको हो ।
कार्यक्रमका सहभागीहरूलाई विभिन्न प्रक्रियाबाट छनोट गरिएको थियो, र सबै सहयात्री ‘युवा फेलोसिप–२०२४’ का सदस्य हुन् । तालिमपछि यी ११ जना सदस्यहरू विभिन्न सामाजिक अभियानहरूमा संलग्न भई सक्रिय भूमिका निर्वाह गर्नेछन् ।
प्रहरी निरीक्षक शिभा थापाले मानव बेचबिखनलाई विश्वका तीन ठूला अपराधहरूमध्ये एक, घातक र गम्भीर सामाजिक अपराधका रूपमा चित्रण गर्दै यसलाई कानूनी रूपमा दण्डनीय र मानव अधिकारको गम्भीर उल्लंघनको रूपमा उल्लेख गरिन् ।
युवा सशक्तिकरण र बाल अधिकारसम्बन्धी प्रशिक्षण क्रमशः ऋतिक शाही र स्वेता गुरुङले दिए । कार्यक्रमको सुरुवात र समापन राष्ट्रिय स्तरकी आध्यात्मिक योग प्रशिक्षक अरुणा गुरुङले मेडिटेशन गराएकी थिइन् । कार्यक्रममा किशोरी क्लब, बाल क्लब, र युवा क्लबमा लामो समयदेखि संलग्न युवाहरूको उल्लेख्य सहभागिता रहेको थियो ।