नेपालगन्ज । बाँकेका ४ ओटा स्थानीय तहका १९ ओटा बिद्यालयको सहभागितामा चार दिने क्षमता अभिबृद्धी तालिम नेपालगन्जमा शुरु भएको छ ।
रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोगमा बास नेपालद्वारा सञ्चालीत बालिका शिक्षा कार्यक्रम अन्तरगत जिवन उपयोगी शिप, मेन्टोरींग र सराकारवालाको संलग्नता बिषयक फेज आउट तालिम सञ्चालन भएको हो ।
तालिमको उद्घाटन सत्रमा कार्यक्रमको उद्धेश्यमाथि प्रकाश पार्दै रुम टु रिडका फिल्ड कार्यक्रम मेनेजर खड्ग बहादुर कुँवरले जिवन उपयोगी शिपहरुका बारेमा शिक्षकहरुको क्षमता अभिबृद्धी गरी पालिकालाई कार्यक्रम हस्तान्तरण गर्ने योजनाकासाथ तालिमको आयोजना गरिएको बताए । उनले बिद्यालयले शिक्षक मार्फत शेषन अगाडी बढाउने र त्यसको स्वामित्व स्थानीय पालिकाले लिएमा कार्यक्रमको दिगोपना हुने बताए । बास नेपालका कार्यवाहक अध्यक्ष शिव कुमार बर्माको अध्यक्षतामा भएको उद्घाटनमा स्वागत गर्दै बास नेपालका निर्वतमान अध्यक्ष तथा तालिम विभाग प्रमुख रमेश सिटौलाले शिप हस्तान्तरणको अभ्यास अनुरुप आयोजना गरिएको ४ दिने क्षमता अभिबृद्धी तालिमले कार्यक्रमलाई थप प्रभावकारी र दिगो बनाउन मद्धत पुग्ने विश्वास ब्यक्त गरे । उनले तालिममा उपस्थिती सबैलाई स्वागत गरेका थिए ।
बास नेपाल बालिका शिक्षा कार्यक्रम संयोजक हेमराज भट्टले सहजिकरण गरेको उद्घाटन सत्रको समापन बास नेपालका कार्यवाहक अध्यक्ष शिव कुमार बर्माले गरेका थिए ।
तालिमको पहिलो दिन आज जिवन उपयोगी शिपको परिभाषा, पृष्ठभूमि र जिवन उपयोगी तत्वहरुका विभिन्न बिषयमा रुम टु रिडका फिल्ड कार्यक्रम प्रमुख खड्ग बहादुर कुँवर र अफिसर निरोज कोइरालाले सहजिकरण गरेका छन् । तालिममा १९ ओटा बिद्यालयका शिक्षक, फोकल शिक्षक, अल्मुनाई र बाल क्लबका प्रतिनिधि गरी ४० जनाको सहभागिता रहेको छ ।