कोही किन झुठो बोल्छ ?

महेश बिक्रम शाह

त्यसबेला म प्रहरी निरीक्षक (Inspector) थिएँ । पुलिस एकेडेमीमा पढाउँथे । श्रीकान्तिमार्ग, महाराजगन्जको भुइँतले घरमा सपरिवार बस्थें । एकदिन बिहान मैले नचिनेका एकजना व्यक्ति मलाई भेट्न घरमै आए । उनी सुदूरपश्चिममा कार्यरत प्रहरी जवान रहेछन् । केहीबेर भलाकुसारी भइसकेपछि उनले आफू आउनुको कारण खुलस्त गरे । उनी सरुवाका लागि आएका रहेछन् । उनले दुई हात घुँडामाथि अड्याएर तनक्क तन्काउदै भने ” सर मेरो सरूवा नभएको धेरै भयो । आफ्नो मान्छेले सिफारिस नगरि सरूवा हुँदैन । मेरो सरूवा गरिदिनु पर्यो हजुर !” उनको कुरा सुनिसकेपछि मैले म हाल पुलिस एकेडेमीमा कार्यरत रहेको, हेडक्वार्टरमा सरूवा गर्ने अफिसरलाई आफूले नचिनेकोले सिफारिस गर्न नसक्ने ब्यहोरा बताएँ । उनले निन्याउरो अनुहार लगाए । उनले जसरी भए पनि सरूवा गरिदिन फेरि अनुरोध गरे । मैले पहिले भनेको कुरा नै दोहोर्याएँ । उनी उदास अनुहार लगाएर फर्के ।

भोलिपल्ट बिहान जगिङ्ग गरेर घर पुग्दा उनी मेरो घरको गेट बाहिर उभिइरहेको देखें । मलाई अचम्म लाग्यो । उनले सरूवाका लागि फेरि अनुनय विनय गरे । मैले भनें ” भाइ मैले तपाईंलाई हिजो नै भनिसकेको हुँ । म गर्न सक्दिन । मेरो पनि पावर पुग्दैन । बरू तपाईं त्यहाँ आफै गएर भेट्नुस् ।” उनी टसमस भएनन् । अन्तमा मैले अफिस जान ढिलो भयो भन्दै पिछा छुटाएँ । उनी निरास अनुहार लगाउदै गेटबाट बाहिरिए ।

तेस्रोदिन अफिस जान लाग्दा उनलाई फेरि मेरो घरको आँगनमा उभिइरहेको भेटें । म तीनछक्क परें । रीस पनि उठ्यो । यो मान्छे बारम्बार मलाई किन डिष्टर्ब गरिरहेको छ हँ ? भन्ने लाग्यो । म अब के गर्ने होला भनी सोचिरहेको थिएँ । अचानक मेरो दिमागमा एउटा आइडिया आयो । मैले झोला भुइँमा राखें र उनको काँधमा हात राख्दै भनें ” ठीक छ, तपाईँले मेरो घर धाएको धायै गर्नुभयो । म आजै गएर तपाईंको सरूवाको सिफारिस गरिदिन्छु । तपाईंको सरूवा हुन्छ । चिन्ता नगर्नु ।”

” साँच्चै सर ??” उनको आवाज कापिरहेको थियो । एकैछिनमा उनको निन्याउरो अनुहार खुसीले धपक्क बल्यो । उनको अनुहारमा आश्चर्यजनक परिवर्तन देखेर म ट्वाल्ल परें । खुसीको आभाले चम्केको उनको त्यो देदीप्यमान अनुहार अझैसम्म मेरो मानसपटलमा ताजा छ ।
” हवस् सर !!” उनले भुइँमा पैतला बजार्दै एक चट्किलो सलाम ठोके र मबाट बिदा भएर गए ।

उनी गएपछि म अपराधवोधले ग्रस्त भएँ । मैले झुठो बोलेको थिएँ । तर मेरो झुठो कुराले उनको अनुहारमा फैलिएको खुसीले मलाई दिग्भ्रमित बनाइरह्यो । झुठो बोलेर मैले ठीक गरें वा गलत !!
त्यो प्रहरी जवान फेरि फर्केर मलाई भेट्न कहिल्यै आएनन् । मैले उनको सरूवाको सिफारिस पनि गर्न सकिन । तर उनी मेरो सरूवा किन भएन ? भनेर सोध्न पनि कहिल्यै आएनन् ।

त्यो घटनाको पटाक्षेप भएको नै २५ वर्ष भइसकेको छ । तर मेरो झुठो कुराले उनलाई दिएको खुसीको त्यो अद्भुत क्षण म बारम्बार सम्झिरहन्छु ।

  • ३० मंसिर २०८१, आईतवार प्रकाशित

  • Nabintech