बैजनाथमा सिकाई आदान प्रदान, कार्यक्रमलाई निरन्तरता दिने पालिकाको प्रतिबद्धता

असल शासन प्रतिनिधि

बाँके। बालिका शिक्षा कार्यक्रमको सिकाइ आदान प्रदान तथा आगामी योजना तय गर्ने उदेश्यले आयोजना गरिएको बैठक आज बाँकेको बैजनाथ गाउँपालिकामा सम्पन्न भएको छ। बैठक रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोगमा बास नेपालद्वारा आयोजित गरिएको हो।

बैठकको उद्देश्य बालिका शिक्षा कार्यक्रमका उपलब्धी, राम्रा अभ्यास र चुनौतीबारे छलफल गर्दै नियमित बालिका शिक्षा कार्यक्रम र जलवायु न्याय क्लब परियोजनाका गतिविधिहरूलाई समेटेर आगामी दिनमा कार्यक्रमलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेबारे छलफल गरिएको थियो।

बैठकमा प्रमुख अतिथि बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले बालिका शिक्षा कार्यक्रमको प्रभावकारीता र उपलब्धीप्रति खुसि व्यक्त गर्दै पालिकाले यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। उनले शिक्षामा लगानी गर्न पालिका तयार रहेको बताउँदै, रुम टु रिड र बास नेपाललाई कार्यक्रमलाई थप प्रभावकारी बनाउन आग्रह गरे।

पालिकाको उपाध्यक्ष निर्मला रोकायले बालिका शिक्षा कार्यक्रमले बालिकामा सकारात्मक परिवर्तन ल्याएको भन्दै कार्यक्रमलाई सबै माध्यमिक विद्यालयहरूमा विस्तार गर्नुपर्ने धारणा राखिन्। पूर्वमन्त्री तथा श्री प्रभात मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष दल बहादुर सुनारले साझेदारीमा प्रभावकारी कार्य गर्ने संस्थालाई प्रोत्साहन गर्नुपर्ने बताए साथै बैठकमा जलवायु न्याय क्लब गठनपछि विद्यालय सरसफाइ र हरियाली प्रवर्द्धनमा भएका सकारात्मक प्रभावबारे पनि छलफल गरिएको थियो ।

कार्यक्रममा बालिका शिक्षा कार्यक्रमका सफलताका कथाहरू कार्यक्रममा भुतपुर्व बालिका (अलुम्नाई) बसन्ती डाँगी र संगिता सुनारले कार्यक्रमले आफुमा पारेको प्रभावको बारेमा अनुभव शेयर गरेका थिए । त्यसैगरी, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक, फोकल शिक्षक, र जलवायु न्याय क्लबका सदस्यहरूले कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।
बैठक बास नेपालका केन्द्रीय अध्यक्ष लुना बुढाथोकीको अध्यक्षतामा सम्पन्न भएको थियो। बैठकमा स्वागत मन्तव्य उपाध्यक्ष शिव कुमार बर्माले दिएका थिए भने कार्यक्रमको उपलब्धी र चुनौतीबारे रुम टु रिडका बालिका शिक्षा कार्यक्रमका अधिकृत निरोज कोइरालाले प्रस्तुति गरेका थिए। परियोजनाका संयोजक हेमराज भट्टले खुला छलफलको सहजीकरण गरेका थिए।

बैठकमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक, फोकल शिक्षक, अलुम्नाई र जलवायु न्याय क्लबका गरी ४० जनाको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन बास नेपालका वरिष्ठ सामाजिक परिचालक मेघा रानाले गरेका थिए भने धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन बास नेपालकी केन्द्रीय अध्यक्ष लुना बुढाथोकीले गरेका थिए।

  • ११ पुष २०८१, बिहीबार प्रकाशित

  • Nabintech