घोडाघोडी (कैलाली),१४ पुस/
कैलालीको टीकापुर नगरपालिका–७ स्थित सत्ती कर्णाली सामुदायिक वनको आम्दानीको प्रमुख स्रोत बेत बन्दै गएको छ । तीन सय हेक्टर क्षेत्रफलमा रहेको उक्त सामुदायिक वनबाट प्रत्येक वर्ष ठुलो मात्रामा बेत बिक्री हुने भएकाले आम्दानीको प्रमुख बनेको सामुदायिक वनका अध्यक्ष जितराम चौधरीले बताउनुभयो ।
“सुदूरपश्चिममा सबैभन्दा बढी बेत उत्पादन हुने यही वन हो”, चौधरीले भन्नुभयो, “वनको आम्दानीको मुख्य काठ नभइ बेत नै बनेको छ । सानो र ठुलो गरी चार वटा प्लटमा बेत उत्पादन गरिन्छ ।”
बेत काट्का लागि अनुभवी कामदार आवश्यक पर्छ । “गत वर्ष ठुलो परिमाण भएको प्लटको बेत काटेका थियौ । उहाँले भन्नुभयो, “वन कार्ययोजनाअनुसार छ हजार पाँच सय क्विन्टल काट्ने अनुमति पाएका थियौँ । तर अनुभवी कामदारको अभावले दुई हजार सात सय क्वीन्टल बेत मात्रै काट्न सक्यौँ ।”
बेतका कारण स्थानीय उपभोक्ताले रोजगारी पाउने गर्दछन् । प्रत्येक वर्ष फागुन १५ गतेपछि दुई महिनासम्म बेत काट्ने गरिन्छ । बेत काटेवापत स्थानीय उपभोक्ताहरुले प्रतिकिलो रु १०का दरले पारिश्रमिक पाउँछन् । एक जनाले दिनमा रु एक हजारदेखि दुई हजारसम्म कमाउँछन्, चौधरीले भन्नुभयो ।
बेत बिक्रीका लागि स्थानीय उपभोक्तालाई प्रतिकिलो रु ५० का दरले बिक्री गरिन्छ भने अन्यलाई रु ९० तोकिएको छ । गत वर्ष दुई हजार सात सय क्विन्टल काटेको बेत सुकेर नौ सय क्विन्टल भएको थियो । जसलाई प्रतिकिलो रु ९० का दरले छ सय क्विन्टलका बिक्रीका लागि बोलपत्र आह्वान गरिएको उहाँको भनाइ छ ।
“जिल्लामा बेतको माग धेरै छ”, चौधरीले भन्नुभयो, “नियमअनुसार १० प्रतिशत स्थानीय उपभोक्ता र १० प्रतिशत जिल्लाभित्रका उपभोक्तालाई मात्रै दिन पाइन्छ ।”
नजिकै रहेको सामुदायिक वनबाट बेत बास पाउँदा सहज हुने गरेको उद्योग सञ्चालक भरतलाल बिक बताउनुहुन्छ । विगत पाँच वर्षदेखि बेत बाँस उद्योग सञ्चालन गरिरहनुभएका उहाँले उद्योगमा स्थानीय ३५ जनाभन्दा धेरैलाई रोजगारी पनि दिनुभएको छ ।
उहाँले बेत खरिदका लागि भने समस्या हुने गरेको बताउनुभयो । विकले भन्नुभयो, “धेरै बेत आवश्यक हुँदा टेण्डर प्रक्रियामा नै जानुपर्छ । टेण्डरमा जाँदा एकमुष्ट धेरै लगानी हामी लगाउन सक्दैनौँ । सबै बेत बाहिर जान्छ र हामीलाई कच्चापदार्थको अभाव हुन्छ । स्थानीय उद्योगमा खपत भई बाँकी रहेको बेत टेण्डर लगाउने गरेको भए सहज हुन्थ्यो”, उहाँले भन्नुभयो ।
कर्णाली नदीको छेउमा रहेकाले सत्ती कर्णाली सामुदायिक वन कटान हुँदै गएको छ । पचास हेक्टरभन्दा बढी वन कटान भइसकेको छ । कटानका कारण मुख्य आम्दानीको स्रोतका रूपमा रहेको बेतहरु बगेर जाने गर्दछन् । वन कटानसँगै नजिकै रहेको बस्ती पनि जोखिममा छ ।