नेपालगन्ज/ विश्व भरी नेपालीको पहिचान झल्काउने नेपाली टोपी दिवस भव्यताका साथ मनाईएको छ ।
बास नेपालको आयोजनामा आज नेपालगन्जको गणेशमान चौकमा टोपी दिवस मनाईएको हो ।
नेपाली टोपी दिवस कार्यक्रममा बोल्ने बक्ताहरुले नेपालको नेतृत्वतहमा रहेका ब्यक्तिले टोपी लगाउन लाज मानिरहेको अवस्थामा हरेक नागरिकले नेपाली टोपी र पोषाकको जगेर्ना गर्नुपर्नेमा जोड दिएका थिए ।
नेपाल सरकारले नेपाली टोपी र दौरा, सुरुवाललाई राष्ट्रिय पोषाकको रुपमा अनिवार्य गरेपनि उच्च पदस्त व्यक्तिहरु समेतले राष्ट्रिय पोशाकलाई बेबास्था गर्दा राष्ट्रियताको बिषयनै ओझेल परेको बक्ताहरुले बताएका थिए ।
कुनै बेला नेपालको राष्ट्रिय पोशाकको एउटा महत्वपूर्ण हिस्सा बनेको टोपी ०६८ सालमा तत्कालीन बाबुराम भट्टराई नेतृत्वको सरकारले राष्ट्रिय पोशाक खारेज गरेसँगै टोपी पनि ओझेलमा पर्ने संकेत देखिएको थियो । नेपालीको पहिचान बोकेको टोपी संकटमा पर्नु भनेको नेपाली पहिचान नै संकटमा पर्नु हो भन्ने कुरालाई महसुस गर्दै नेपालमा टोपी दिवस मनाउन २०७० साल देखि शुरु गरिएको बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले बताए ।
काठमाण्डौंबाट शुरु गरिएको उक्त दिवस बिगत ५ बर्ष यता बाँकेमा बास नेपालले मनाउँदै आएको शाहले जानकारी दिए ।
नेपालमा कालोटोपी, भाद्गाउँले टोपी र ढाकाटोपीलाई नेपाली टोपीको रुपमा चिनिँदै आएको उल्लेख गर्दै शाहले यस प्रकारको टोपी बिश्वमैं अलग प्रकारको भएको बताए ।
नेपाली टोपीको बनोटले नै हिमाल, पहाड र तराईको प्रतिनिधित्व गर्ने कार्यक्रमका बक्ताहरुले बताएका थिए ।
कार्यक्रममा बोल्दै नेपालगञ्ज उपमहानगरपालिकाकी निबर्तमान उपप्रमुख उमा थापा मगरले नेपालीको पहिचानको रुपमा टोपी सबैलाई प्रयोग गर्न आग्रह गरिन् । कार्यक्रममा मुस्लिम अगुवा कादिर अन्सारी, सुटिंगका राष्ट्रिय खेलाडी रमेश मल्ल, गैसस महासंघ नेपाल बाँकेका अध्यक्ष चन्द्र प्रसाद तिमिल्सिना, पत्रकार शकिल अहमद कादरी लगायतले बोलेका थिए ।
बासका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले सञ्चालन गरेको कार्यक्रममा धन्यबाद ज्ञापन बास नेपालका केन्द्रीय उपाध्यक्ष शिबकुमार बर्माले गरेका थिए । कार्यक्रममा विभिन्न सरकारी, गैरसरकारी, ब्यवसायि, बिद्यार्थी लगायतको स्वस्फूर्त सहभागिता रहेको थियो ।
त्यसैगरी बास नेपाल बझांग शाखा, दैलेख शाखा, सुर्खेत शाखा, दार्चुला शाखा, डोटी शाखा लगायतले टोपी दिवस मनाएका छन् ।