नेपालगन्ज उप–महानगरपालिकाको लैससास परिक्षण सम्पन्न

असल शासन प्रतिनिधि

नेपालगन्ज उप–महानगरपालिकाको लैँगिक समानता तथा सामाजिक समावेशीकरण परिक्षण पश्चात प्राप्त नतिजाको सार्वजनिकरण गरिएको छ । नेपालगन्ज उप–महानगरपालिकाको आयोजना र बास नेपालको सहजिकरणमा लैँगिक समानता तथा सामाजिक समावेशीकरणको परीक्षण गरिएको हो ।

उप–महानगरपालिकाको आर्थिक वर्ष २०८०÷०८१ को लैँगिक समानता तथा सामाजिक समावेशीकरण परिक्षणको मंगलबार सार्वजनिकरण भएको नजितामा उपमहानगरपालिकाले कुल १०० पुर्णाङ्खमा ६३.५ अंक प्राप्त गरेको छ । उपमहानगरपालिकाले सुशासन र उत्तरदायित्व सबै भन्दा बढि १४.५ अंक, मानव विकास तथा क्षमता विकासमा १३, संस्थागत व्यवस्थामा १२, सेवा प्रवाहमा १२.५ कानुन र योजनामा ११.५ अंक प्राप्त गरेको छ ।

नतिजा सार्वजनिकरण कार्यक्रममा बोल्दै उपमहानगरपालिका प्रमुख प्रशासकिय अधिकृत ओम बहादुर खड्काले कतिपय विषयमा नीतिगत रुपमै सुधार गर्नुपर्ने आवश्यक रहेको बताए । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख मञ्जु पाण्डेले प्रतिवेदनमा उपमहानगरपालिकाको लैससासको अवस्था झल्किएको बताउदै आगामी दिनमा कमजोरी देखिएका क्षेत्रमा सुधार गर्नका लागि सबै सम्वेदनसिल भएर लाग्नु पर्ने बताइन । कार्यक्रममा युवा, शिक्षा शाखा तथा खेल्कुद महाशाखा प्रमुख गोर्ख थापाले पालिकाले धेरै कार्य गरेपनि त्यसको अभिलेखिकरणमा उत्तिकै ध्यान जान जरुरी भएको बताए ।
परीक्षणको क्रममा उपमहानगरपालिका लैससासको आधारमा संवेदनशील छ÷छैन, पालिकाले प्रदान गर्ने सेवामा

सहभागितामूलक तरिकाले महिला, आदिवासी जनजाति, अपाङ्ग तथा अन्य लक्षित वर्गको सशक्तीकरण गरी लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण हासिल गर्न कतिको सहयोग पुगेको छ, नगरको नीति, योजना र कार्यक्रम लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण दृष्टिले सन्तुलन भए नभएको पहिचान गर्ने, नगरकोे विकास प्रक्रियामा काम गर्दा, विकास कार्यक्रम तय गर्दा, साधन र स्रोतको बाँडफाँड र परिचालनलाई लैङ्गिक उत्तरदायी र सामाजिक समावेशी बनाउन कतिको प्रयास भएको छ ? लगायतका विषयलाई केन्द्रमा राखेर परीक्षण गरिएको थियो ।

बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले सञ्चालन गरेको कार्यक्रममा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परीक्षणको नतिजा प्रस्तुतीकरणसँगै छलफल र कार्ययोजना निर्माणको सहजीकरण बास नेपालका कार्यक्रम प्रबन्धक मन भण्डारीले गरेका थिए ।

  • २३ पुष २०८१, मंगलवार प्रकाशित

  • Nabintech