६ नोभेम्बर २०२४ को दिन पहिलो पटक गोरखा बजारमा पाइला टेकें । बिहान साढे सात बजे घरबाट निस्कें । कलंकीदेखि ८:५५ मा बस छुट्यो ।
पोखराको लक्जरियस एसिसहितको टुरिस्ट बसमा आँबु खैरेनीसम्म आनन्दले यात्रा गरें । बाटो भने सेप्टेम्बर महिनाको अन्तिमतिरको बर्षाले जताततै भत्किएको र बिगारेको रहेछ । बाटो बनाउने क्रममा रहेछ । नौबिसे पुग्नै २ घन्टा लाग्यो । बाटो स्मूथ हुदोँ हो त काठमाडौंदेखी गोरखासम्मको यात्रा जम्माजम्मी ४-५ घण्टाको हो । बाटो खराब भएकोले ७ घण्टा बढि लाग्यो ।
गोरखा अफिसमा सुशील सर र एल बी जी सहितको टिमले मलाई स्वागत गर्नु भयो । नयाँ ठाउँ, नयाँ टिममा काम गर्ने सुनौलो अवसर हो मेरो लागि । उत्साहित हुन पर्ने हो खासमा । म लगायत टिमको पाचौं वर्क एनिभर्सरिको उपलक्ष्यमा सम्मान स्वरुप अफिसले श्री त्रिवेणी मावि पालुङ्टार गोरखामा पुस्तकालयको स्थापना गरेको छ । त्यहाँ पुगेर हेर्न र विद्यालयलाई सानो सहयोग गर्ने चाहना पनि छ । तर मनमा उत्साह भने पटक्क्कै छैन ।
बाटोभरी बाँकेको सम्झना आइरह्यो । यात्राभरी काठमाडौ नेपालगन्जको एक घण्टाको यात्रा मिस गरिरहें । बिहानैको फ्लाइटमा यात्रा गरेर ९ बजे ट्याक्क अफिस पुगेको कुरा मिस भैरह्यो । नोभेम्बर ६ को रातभरी मनमा यस्तै कुराहरू खेलिरह्यो । मनमा खेलेको कुरालाई लिपिवद्ध गर्न तिर लागें । जम्मा जम्मी दुई घन्टामा सुते होला ।
बाँके र बर्दियामा जीवनको सबैभन्दा उर्जाशील, उत्पादनशील उमेर र समय बिताएँ । साढे आठ वर्ष बाँके बेस भएर बाँके र बर्दिया गर्दै बिताएँ । यो अवधिमा निकै मिठा सम्बन्धहरू गाँसिएछ। मिठा पलहरू बिताइएछ । मेहनत पनि टन्नै गरियो । उपलब्धि पनि अपेक्षा गरिए अनुरूप हासिल गरियो । त्यसैले त होला बाँके छोड्नु पर्ने निर्णयमा मानसिक रुपले तयारी हुन निकै दिन लाग्यो ।
बाँके प्रवेश गर्दा एकजना मान्छे चिनेको थिइन । ८.५ वर्षमा यति धेरैलाई आफ्नो बनाउन पुगेंछु । छुट्नु पर्दा हरेक दिन जसो भावुक भएर समय बिताएँ । लगभग १५ दिनसम्मै कैयौं पटक आँखाबाट आँसु बगिरह्यो । बाँके छोड्नु पर्ने निर्णय २०२४ सेप्टेम्बर १३ शुक्रवार ५ बजेतिर सुनें । मैले ग्लोबल टिमलाई शेयर गर्नु पर्ने जलवायु परिवर्तन सम्बन्धी एउटा पावर पोइन्टमा काम गर्दै थिएँ । यस्तो निर्णय सुन्ने बितिकै चटक्कै काम छोडेर रूम गएँ । बेस्सरी रोएँ । सनिवार र आइतबार रोएरै बित्यो ।
मन बेचैन भयो । अत्यन्तै दुखि भएँ । मोबाइलमा भएको फोटोहरू हेर्दै विगत सम्झिदै रोएँ । एक्लै हुदाँ बेस्सरी रोएँ । साथीहरूको अगाडि कठोर जस्तो बनेँ । साथीहरूलाई जति रुनु छ अगाडि नै रोइ सक्नु है । बिदाइमा नरुनुस भनेर जिस्क्याउथें ।
सेप्टेम्बर १४ मा “मेरा प्यारा साथीहरू, सिनियरहरू जोसँग ८.५ वर्ष सँगै बिताएँ । बाँके र बर्दियामा सँगसँगै समय बिताएँ । सबैलाई सम्झना अनि माया छ ।❤️❤️❤️” क्याप्सन राखेर एक वर्ष अगाडि टिमसँगको मीठो सम्झना झल्काउने टिकटकमा राखेको भिडियो फेसबुकमा शेयर गरें । रातको ११ बजेतिर फेसबुकमा राखेर म निदाएँ ।
रातको १२ बजेनै नमस्कार शाह सरले “म्याडम तपाइँले बाँके छोड्दै हो” भनेर म्यासेज गर्नु भएको रहेछ । बिहान मात्र देखें । एकवर्ष अगाडि त्यो भिडियो टिकटकमा राख्दा कसैले वास्ता नगरेको तर यसपाली भने यो भिडियो सहितको स्टाटसले नमस्कार सरसहित धेरैजनालाई झस्काए छ । अरूको पनि म्याजेस आयो । उहाँसँग निकै पटक कामको सिलसिला भेट र सहकार्य भएको थियो । तर म्यासेन्जरमा भने आक्कल झुक्कल मात्र कुरा हुने गर्थ्यो । एकदम कम हुथ्यो । मेरा सहकर्मीहरूको त यो पोस्टले त ध्यान नै तानेन छ । सधैं नै राखी राख्ने भएकोले सामान्य ठानेछन् ।
नमस्कार सरको म्यासेजको जवाफ “छोड्ने बेला आउँदैछ नि सर फेजआउट जिल्ला हो” भनेर बिहान फर्काएँ ।
उहाँले “अहिले त होइन नि!” भनेर फेरि म्यासेज गर्नु भयो ।
मैले उहाँलाई त्यसबारे कुरा नगर्ने नै सोचेर “छोड्ने बेला आउँदैछ नि सर फेजआउट जिल्ला हो” भनेको थिएँ । तर यस विषयप्रति उहाँको गहन चासोको कारण नभनी बस्न सकिन । “अक्टोबर १ देखि होला जस्तो छ । कुरा भैरहेको छ । गोरखा जानु पर्ने भन्ने कुरा छ” भनेर जवाफ पठाएँ ।
“होर !” भनेर उहाँले म्यासेज गर्नु भयो ।
“हजुर । यो कुराले इमोसनल बनायो । यताको यत्रो वर्षको सम्बन्ध अनि लामो समय बिताइयो” भनेर मैले जवाफ फर्काएँ ।
उहाँले “त्यही त तपाइँको पोस्टले कस्तो नराम्रो लागिरहेको थियो” भनेर फेरि म्यासेज गर्नु भयो ।
“मलाई एकदम गाह्रो फिल भयो । दुई तीन दिन अघिको कुरा हो । अफिसको आवस्यकता अनुसार गोरखा जानु पर्ने कुरा चहिरहेको छ । म नै सर्प्राइज भएँ । अनेस्पेक्टेड” जवाफ पठाएँ ।
“है । हाम्रो सहकार्य भर्खर सुरु भएको थियो । तपाइँबाट धेरै सहयोग लिनु थियो, सिक्नु थियो । हामीलाई त तपाईं यहि बसेको राम्रो” उहाँँको म्यासेज आयो ।
“मलाई त छोरीको इच्छा विपरीत बाआमाको इज्जतको लागि जवरजस्ती विवाह गराइन्छ नि । त्यस्तै फील भैरहेको छ खासमा” भनेर म्यासेज पठाएँ ।
“है !” उहाँको म्यासेज आयो ।
“कुरा यस्तो छ सर । फिक्स भएको छैन । प्रशंगवश मैले भनिहालें । तर अहिलेलाई कन्फिडेन्सियल नै राख्नुस् है ।” मैले म्यासेज पठाएँ ।
“ओके” उहाँको जवाफ आयो ।
यस विषयमा पहिलो कर्न्सन उठाउने र थाहा पाउने व्यक्ती उहाँ नै हुनुहुन्थ्यो । उहाँ बास नेपालको कार्यकारी निर्देशक हुनु हुन्छ ।
केही दिनपछि खजुरा गाउँपालिकाको संयुक्त अनुगमन कार्यक्रममा भेट भयौं । “म्याडम तपाइँको पोस्टले कस्तो नमज्जा फिल भयो, झसङ्ग बनायो” भन्नु भयो । त्यतिबेलै रमेश सिटौला सरले भन्नु भयो, “छोड्नु हुँदै होर बाँके!” नमस्कार सर र म दुबै जना मिलेर हाँस्दै भन्यौं, “अहिले जाने कुरा छैन” ।
मेरो जाने पक्का भयो भनेर सेप्टेम्बर २७ को साँझमा उहाँलाई म्यासेज गरें । बाँके र बर्दियाको माया र अनुभूति सहितको छोटो लेख र केही फोटोहरू व्हाटस् एपमा सेलेक्ट गरेर अनलाइनमा राख्नुस भन्नलाई पठाउन लागेको थिँए । तर सकिन । अनि अक्टोबर २ मा रातको १२ बजे ती अनुभूति र भिडियो फेसबुकमा राखें । उहाँसँग कुरा त भएको थिएन । तर उहाँले १२:४५ मा असल शासन मिडियाको अलनाइनमा मेरो फोटो र टेक्सलाई गुड बाइ बाँके- बर्दिया शीर्षकमा पब्लिश गरेर मलाई लिन्क पठाइ दिनु भयो ।
म नै छक्क परें । उहाँसँग नजिकबाट मनका कुराहरू कहिले साटासाट नगरेको भए पनि सोचाइको तरङ्ग भने कति मिलेको भन्ने लाग्यो ।
सेप्टेम्बर २७ को साँझमै फेसबुकमा काउन्ट डाउन स्टार्टेड भनेर स्टाटस राखें । मेरा सहकर्मीहरू शक भए । भोलि पल्ट शनिवार थियो । साथीहरूले बिदाइ कार्यक्रम पनि आयोजना गरिहाले ।
म अक्टोबर १ मा काठमाडौ जानु पर्ने थियो । २ गतेदेखी ८ गतेसम्म काठमाडौमा तालिम संचालन हुने तालिका बनेको थियो । तर त्यही बेला विध्वंसात्मक झरी पर्यो । जताततै डुबान, बाढी पहिरोले देश नै अस्तव्यस्त बन्न पुग्यो । वर्षातको प्रभाव पूर्वी नेपाल र काठमाडौमा बढी पर्यो । त्यसैले काठमाडौको तालिम पोस्टपोन भयो ।
परिमाण स्वरुप म र निरोज मिलेर लैङ्गिक तथा जलजायु परिवर्तन सम्बन्धी ४ दिने तालिम सामाजिक परिचालक, शिक्षक र शिक्षा शाखाको अफिसरहरूको लागि संचालन गर्ने मौका मिल्यो । खजुरा गाउँपालिका शिक्षा शाखा प्रमुख खगेन्द्र मल्ल सरको टिमको सहयोग, माया र सम्मानले मनोबन उच्च बन्न पुग्यो । सम्बन्ध झन बलियो बन्न पुग्यो । विश्वासको डोरी अझ बलियो बन्न सक्यो । तालिम प्रभावकारी हुनका साथै अविस्मरणीय बन्न पुग्यो ।
सप्ताह व्यापी बिदाइ तथा सम्मान कार्यक्रममा सहभागी भैयो । अनेकौं थरिको मायाको चिनो सहित पालिका, बास नेपालको टीम, मेरा सहकर्मी तथा अफिसको भव्य विदाइ कार्यक्रम भयो । लामो समयको सहकार्य निकै अर्थपूर्ण रह्यो । अमीत छाप बन्यो ।
यी मायाका छापहरू, सम्झनाका तरङ्गहरू, बिछोड्को आलो घाउमा मल्हम हाल्दै नयाँ ठाउँमा, नयाँ टिममा घुलमिल हुनुछ । काम गर्नुछ । यहाँ मलाई विश्वास र माया गर्ने मेरो सुपरभाइजर हुनुहुन्छ र सहयोगी टिम छ । काम गर्ने क्रममा कुनै कठिनाई आइपर्ने छैन । उहाँहरूको साथ, सहयोग र मार्ग निर्देशन सदैब रहनेछ ।
गर्मी महिनामा बाँके र बर्दियामा जस्तो छट्पटाउनु पर्दैन । यहाँको मौसम आनन्दको छ । बाँके र बर्दिया छोड्न पर्दाको जस्तै पीडा गोरखा छोड्ने बेला पनि हुनेछ । त्यस्तै प्रकारको साथ, सहयोग, माया र विश्वास प्राप्त हुनेछ । प्रगाढ सम्बन्ध गाँसिनेछ ।
बाँके र बर्दियामा जोडिएको सम्बन्ध र गाँसिएका माया सधैं मिस गर्नेछु । मीठो सम्झना र माया छ सबैजनालाई ।