हात्तिपाइले रोग विरुद्ध नरैनापुरमा व्यापक अभियान सञ्चालन गरिने

असल शासन प्रतिनिधि

नेपालगञ्ज/ हात्तिपाइले रोग विरुद्धको औषधि सेवन गर्न लगाउनका लागि व्यापक अभियान सञ्चालन गर्न सहयोग पुगोस् भन्ने हेतुले हात्तिपाईले रोग बिरुद्ध सार्वजनिक सम्वाद कार्यक्रम नरैनापुरमा सम्पन्न गरिएको छ ।

स्वास्थ्य कार्यालय बाँके, नरैनापुर गाउँपालिका, स्वास्थ्य मन्त्रालय ईपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाको आयोजना र बास नेपालको संयोजनमा सो कार्यक्रम सम्पन्न भएको हो ।

हात्तीपाइले रोग विरुद्ध जनचेतना अभियान सञ्चालन गर्ने, हात्तीपाइले रोग विरुद्ध सरोकारवालाहरुको प्रतिबद्धता खोज्ने उद्धेश्यले आयोजित सो कार्यक्रममा नरैनापुर गाउँपालिकाका अध्यक्ष ईस्तियाक अहमद शाहले नरैनापुर गाउँपालिकालाई हात्तिपाईले रोग मुक्त पालिका बनाउने प्रतिबद्धता व्यक्त गरे ।

उनले सम्पूर्ण नरैनापुर गाउँवासी मिलेर गाउँपालिकामा हात्तिपाईले बिरुद्ध अभियान सञ्चालन गरिने बताए । जनतालाई रोगबाट बचाउने अभियानमा साथ दिन सबै पालिकाबासीहरुलाई उनले आग्रह गरे ।

हात्तिपाईले बिरुद्धको औषधि सबैले कुनै किसिमको अहसज महसुस नगरि खान सबैलाई अध्यक्ष साहले आग्रह गरे ।

कार्यक्रममा स्वास्थ्य मन्त्रालय ईपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाका बरिष्ठ जनस्वास्थ्य अधिकृत राम कुमार महतोले नेपालमा हात्तिपाईलेको अवस्था बारे प्रश्तुतिकरण गरेका थिए ।
कार्यक्रममा वडाध्यक्ष, कार्यपालिका सदस्य, शाखा प्रमुख, स्वास्थ्यकर्मी, स्वयंसेविका लगायत १०० बढि स्थानीयहरुको उपस्थितीमा सो कार्यक्रम सम्पन्न भएको हो ।
बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले सहजिकरण गरेको कार्यक्रममा स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद शाहीले स्वागत सहित उद्धेश्य माथि प्रकाश पारेका थिए । बिश्व स्वास्थ्य संगठनका डाक्टर प्रकाश शाक्य, पालिकाका स्वास्थ्य शाखा प्रमुख नागेन्द्र साह लगायतले बोलेका थिए ।
कार्यक्रममा हात्तिपाईले रोग बिरुद्धको औषधि बारे बिभिन्न अपबाह, हल्लाहरुका कारण स्थानीयहरुले औषधि नखाने गरेको सहभागिहरुले बताएका थिए ।
हात्तीपाइले रोग निवारणका लागि आइडिए इम्प्याक्ट सर्भेमा बाँकेका तीन वटा पालिका अनुतिर्ण भएका छन् । नेपालगन्ज उपमहानगरपालिका, डुडुवा गाउँपालिका र नरैनापुर गाउँपालिका आइडिए इम्प्याक्ट सर्भेमा अनुतिर्ण भएका हुन् । ती पालिकामा हात्तीपाइले रोग विरुद्धको औषधि सेवन कार्यक्रमलाई निरन्तरता दिनुपर्ने भएको छ ।

अध्ययन अनुसार, नेपालगन्ज उपमहानगरपालिकामा ३८२ घरधुरीका १ हजार २१८ जनाको स्याम्पल जाँच गर्दा १९ जना, डुडुवा गाउँपालिकामा ११४ घरधुरीका ३५१ जनाको स्याम्पल जाँच गर्दा ८ जना र नरैनापुर गाउँपालिकाको ९९ घरधुरीको ३३१ जनाको स्याम्पल जाँच गर्दा ७ जनागरी ३४ जनामा हात्तीपाइले पुष्टि भएको छ ।

हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गर्ने सम्पूर्ण लक्षित समुदायले औषधि नखाइदिएका कारण १३ वर्षदेखि निरन्तर औषधि खुवाउने अभियान सञ्चालन भईरहेको छ । खासगरी मधेशी र मुस्लिम समुदायले औषधि सेवन गर्न इन्कार गर्ने गरेका छन् ।
उनीहरुले औषधि सेवन नगरिदिने गरेका कारण सबै समुदायले हात्तीपाइले रोगको जोखिममा परेका छन् । औषधि खानेले निरन्तर खाइरहने र नखानेले एक पटक पनि औषधि नखाइदिएका कारण ६ वर्षमा सकिनुपर्ने यो अभियान १३ वर्ष पुग्दा पनि सकिएको छैन ।

  • १३ माघ २०८१, आईतवार प्रकाशित

  • Nabintech