डुडुवा/ हात्तिपाईले रोग बिरुद्ध सार्वजनिक सम्वाद कार्यक्रम डुडुवामा सम्पन्न भएको छ ।
स्वास्थ्य कार्यालय बाँके, नरैनापुर गाउँपालिका, स्वास्थ्य मन्त्रालय ईपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाको आयोजना र बास नेपालको संयोजनमा सो कार्यक्रम सम्पन्न भएको हो ।
हात्तीपाइले रोग विरुद्ध जनचेतना अभियान सञ्चालन गर्ने, हात्तीपाइले रोग विरुद्ध सरोकारवालाहरुको प्रतिबद्धता खोज्ने उद्धेश्यले आयोजित सो कार्यक्रममा गाउँपालिकालाई हात्तिपाईले रोग मुक्त बनाउन सरोकारवालाहरुले प्रतिबद्धता व्यक्त गरेका छन् ।
पालिकाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी लगायतका सरोकारवालाहरुले सो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
कार्यक्रममा स्वास्थ्य मन्त्रालय ईपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाका बरिष्ठ जनस्वास्थ्य अधिकृत राम कुमार महतोले नेपालमा हात्तिपाईलेको अवस्था बारे प्रश्तुतिकरण गरेका थिए ।
कार्यक्रममा वडाध्यक्ष, कार्यपालिका सदस्य, शाखा प्रमुख, स्वास्थ्यकर्मी, स्वयंसेविका लगायत १०० बढि स्थानीयहरुको उपस्थितीमा सो कार्यक्रम सम्पन्न भएको हो ।
बास नेपालका केन्द्रीय उपाध्यक्ष शिव कुमार बर्माले सहजिकरण गरेको कार्यक्रममा स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद शाहीले स्वागत सहित उद्धेश्य माथि प्रकाश पारेका थिए ।
बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले धन्यवाद ज्ञापन गरेको कार्यक्रममा बिश्व स्वास्थ्य संगठनका डाक्टर प्रकाश शाक्य, पालिकाका स्वास्थ्य शाखा प्रमुख हेमन्त शर्मा, मौलाना बद्रि आलम लगायतले बोलेका थिए ।
कार्यक्रम गाउँपालिकाको वडा नम्वर ५ को वडाध्यक्ष आमोद प्रसाद तिवारीले समापन गरेका थिए ।
कार्यक्रममा हात्तिपाईले रोग बिरुद्धको औषधि बारे बिभिन्न अपबाह, हल्लाहरुका कारण स्थानीयहरुले औषधि नखाने गरेको सहभागिहरुले बताएका थिए ।
हात्तीपाइले रोग निवारणका लागि आइडिए इम्प्याक्ट सर्भेमा बाँकेका तीन वटा पालिका अनुतिर्ण भएका छन् । नेपालगन्ज उपमहानगरपालिका, डुडुवा गाउँपालिका र नरैनापुर गाउँपालिका आइडिए इम्प्याक्ट सर्भेमा अनुतिर्ण भएका हुन् । ती पालिकामा हात्तीपाइले रोग विरुद्धको औषधि सेवन कार्यक्रमलाई निरन्तरता दिनुपर्ने भएको छ ।
अध्ययन अनुसार, नेपालगन्ज उपमहानगरपालिकामा ३८२ घरधुरीका १ हजार २१८ जनाको स्याम्पल जाँच गर्दा १९ जना, डुडुवा गाउँपालिकामा ११४ घरधुरीका ३५१ जनाको स्याम्पल जाँच गर्दा ८ जना र नरैनापुर गाउँपालिकाको ९९ घरधुरीको ३३१ जनाको स्याम्पल जाँच गर्दा ७ जनागरी ३४ जनामा हात्तीपाइले पुष्टि भएको छ ।
हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गर्ने सम्पूर्ण लक्षित समुदायले औषधि नखाइदिएका कारण १३ वर्षदेखि निरन्तर औषधि खुवाउने अभियान सञ्चालन भईरहेको छ । खासगरी मधेशी र मुस्लिम समुदायले औषधि सेवन गर्न इन्कार गर्ने गरेका छन् ।
उनीहरुले औषधि सेवन नगरिदिने गरेका कारण सबै समुदायले हात्तीपाइले रोगको जोखिममा परेका छन् । औषधि खानेले निरन्तर खाइरहने र नखानेले एक पटक पनि औषधि नखाइदिएका कारण ६ वर्षमा सकिनुपर्ने यो अभियान १३ वर्ष पुग्दा पनि सकिएको छैन ।