सामुदायिक कुकुरकी आमा संगिता

असल शासन प्रतिनिधि

नेपालगञ्ज/ संगिता बुढाथोकी कुनै बेलाकी चर्चित नृत्याँगना हुन् । नेपालगञ्जका धेरै साँगितिक मञ्चहरु त्यो बेला संगिताको नृत्य बिना खल्लो लाग्थे । जब संगिता नेपाली र हिन्दिमा नृत्यका लागि मञ्चमा उपस्थित हुन्थिन् दर्शकहरु हुटिङ्गका लागि उर्लन्थे ।

६० को दशकमा उनले नेपालगञ्ज र आसपासका साँगितिक मञ्चहरु तताईन् । अहिलेको जस्तो सामाजिक सञ्जालको समय भएको भए उनी अहिलेको भाषामा भाईरल हुन्थिन् होला तर त्यो जमाना फरक थियो उनी मात्रै दर्शकहरुका लागि सेलिब्रेटी भईन् ।

दिन बदलिए, समय बदलियो, समयसँगै उनी पनि बदलिईन् । नृत्यमा बिशेष दखल भएकि उनको रुचि पनि बदलियो । अहिले उनी पशु सेवामा आफुलाई समर्पित गरेर लागेकि छिन् । पशु त्यसमा पनि सडकमा जीवन व्यतित गर्ने कुकुरहरुको सेवामा उनी तल्लिन छिन् ।

बौलाह, भुस्याह कुकुरहरुको उपमा पाएर मानिसहरुबाट अपहेलित र यातना भोगिरहेका कुकुरहरुलाई अधिकारकर्मीहरुले बौलाह, भुस्याह कुकुर नभनि सामुदायिक कुकुर भन्नु पर्ने आवाज उठाईरहेका बेला संगिता हो तिनै सामुदायिक कुकुरहरुको साहरा बनिरहेकि छिन् ।

मान्छेका रुचि र प्यासन अनौठा, अनौठा हुन्छन् । संगिताको प्यासन पनि अनौठो छ । बास्तविक रुपमा उनी बेरोजगार युवा हुन् तर जहाँ ईच्छा, त्यहाँ उपाय भनेझैं उनले अनेकन प्रयास गरेर सडकमा दुर्घटना भएर घाईते भएका, कुटिएका, फ्याँकिएका, बेबारिसे कुकुरहरुलाई बिगत ६ बर्ष यता उद्धार, उपचारका साथै खानपिनको व्यवस्था मिलाउँदै आएकि छन् ।

सानै देखि जनावरहरुको माया लाग्ने बानी आफुमा रहेको बताउने संगिताले घरमा तीन वटा कुकुर पालेकि रहिछन् । उनले सबै भन्दा बढि माया गर्ने खैरु नामको कुकुर बिरामी हुँदा उनले नेपालगञ्ज देखि भारतको लखनउ सम्म लगेर उपचार गरिन् । पाठकहरुलाई पत्यार नलाग्न सक्छ तर सत्य उनले खैरुको उपचारका लागि ऋण सापटि गरेर तीन लाख रकम खर्च गरिन् तर खैरुलाई बचाउन सकिनन्, उनकै काखमा खैरुले प्राण त्याग्यो ।

खैरुको देहवसानमा उनी मर्माहत बनिन् । यसै क्रममा संगिताले सडकमा एक दिन खैरु जस्तै कुकुर देखिन् । जसको शरिरमा कसैले तातो पानी हाल्दिएका कारण कपाल खुईलिएर पुरै छाला देखिएको थियो भने शरिरमा चक्कुले हाने जस्तो थियो । उनले तत्काल पुरानो पीडा कम हुने आशामा त्यो कुकुरको उद्धार गरेर उपचार गरेर पालिन् । जुन कुकुर अहिले पनि उनैसँग छ । जसको नाम उनले सेति राखिदिएकि छन् ।
हो यहि घटनाले गर्दा उनी सामुदायिक कुकुरहरुको लागि आमाको जिम्मेवारी बहन गरिरहेकि छन् । सडकमा रेटेर फालेको कुकुरलाई उनले उद्धार गरि उपचार गर्दा तीन महिनामा कुकुर ठिक भएको बताउने उनले हाल सम्म दर्जनौं कुकुरहरुको उद्धार गरेर उपचार गराईसकेकि छन् । घरमा पालिएको कुुुकुरको निधनबाट शोकमा डुबेकि संगिताले सो शोकलाई शक्तिमा बदल्दा अहिले सयौं कुकुरहरुले नयाँ जीवन पाएका छन् ।

हरेक दिन जसो सडकमा दुर्घटना हुने र उक्त दुर्घटनामा कुकुरहरुनै प्रायः पर्ने गरेको अनुभव उनसँग छ । भन्छिन्– कुकुरहरुलाई तिब्र गतिमा हुईकिने सवारी साधनहरुले ठक्कर दिन्छन् । कुकुरहरु घाईते हुन्छन्, घाईते कुकुरहरुलाई कसैले उठाउँदैन, त्यहि माथि अर्काे सवारी साधनले किच्दा कुकुरहरुको ज्यान जान्छ, मरिसकेपछि पनि कुकुरहरुले सुख पाउँदैनन् । कुकुरहरुको लास पनि किचेर धुलो, धुलो पारिन्छ ।
उनका अनुसार, उनले आफ्नै व्यक्तिगत लगानीमा घाईते, बिरामी कुकुरहरुको उद्धार गरेर नेपालगञ्जका बिभिन्न उपचार केन्द्रहरुमा पुर्याउनुका साथै बर्दिया लगायत जिल्ला पठाउने गरेकि छन् ।

नेपालगञ्जको व्यस्त सडक सुर्खेतरोड स्थित नेपालगञ्ज मेडिकल कलेज नजिक बस्ने उनले घरमा १० वटा कुकुर पालेकि छन् भने साँझ, बिहान एक दर्जन बढि कुकुरहरुलाई बिगत ५ बर्ष यता खाना खुवाउने गरेकि छन् । हप्तामा एक पटक मासु खुवाउने उनले मासिक २० हजार बढि खर्च कुकुरहरुको खानामा गर्ने गरेकि छन् ।

उनलाई यो कार्यमा उनका भाई दिपेन्द्र बुढाथोकीले सघाईरहेका छन् भने कहिले कसो साथी भाईहरुले चामल लगायत खाद्यान्न र आर्थिक सहयोग पनि गर्ने गरेका छन् ।

उनको दैनिकि भनेकै कुुकुरहरुको सेवा गर्नु हो । भन्छिन्– मैले सेवा गरिरहेका छु, तर म एक्लैले गरेर सम्भव छैन, तसर्थ सबैको सहयोगका लागि अपिल गर्दछु ।

स्थानीय सरकार लगायत सरोकारवालाहरुले स्थान उपलब्ध गराएमा कुकुर उद्धार केन्द्र स्थापना गरेर कुकुर पालनका साथै जोखिममा रहेका सामुदायिक कुकुरहरुको उद्धार, उपचार र समुदायमा पुर्नमिलन गराउने उनको सपना छ ।

के उनको सपना पुरा गर्न हामी केही मद्धत गर्न सक्दछौं, यदि सक्दछौं भने ढिलो नगरौं, संगिता जस्ता समाजका असल नागरिकहरुलाई सहयोग गरौं, राम्रो काम गर्नेलाई प्रोत्साहन दिऔं ।

  • १५ माघ २०८१, मंगलवार प्रकाशित

  • Nabintech