नेपालगञ्ज/ नेपालगञ्ज उपमहानगरपालिकालाई हात्तिपाईले रोग मुक्त पालिका बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।
स्वास्थ्य कार्यालय बाँके, नेपालगञ्ज उपमहानगरपालिका, स्वास्थ्य मन्त्रालय ईपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाको आयोजना र बास नेपालको संयोजनमा नेपालगञ्जमा सम्पन्न हात्तिपाईले रोग बिरुद्ध सार्वजनिक सम्वाद कार्यक्रममा सहभागि सरोकारवालाहरुले सो प्रतिबद्धता जनाएका हुन् ।
कार्यक्रममा प्रतिबद्धता मन्तव्य व्यक्त गर्दै नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले उपमहानगरमा हात्तिपाईलेका धेरै बिरामीहरु देखिनु लज्जाको बिषय भएको उल्लेख गर्दै पालिकालाई हात्तिपाईले रोग मुक्त बनाउन उपमहानगर लागि पर्ने बताए ।
कार्यक्रममा धर्मगुरुहरुको तर्फबाट बोल्दै बागेश्वरी मन्दिरका मुल महन्त चन्द्र नाथ योगीले बिगतका बर्षहरु देखि धर्मगुरुहरुले आफै हात्तिपाईलेको औषधि सेवन गरेर औषधि सेवन गर्न आह्वान गरेको स्मरण गर्दै यस प्रकारको मानविय कार्यका लागि सबै धर्मगुरुहरुबाट सहयोग हुने प्रतिबद्धता व्यक्त गरे ।
हात्तीपाइले रोग विरुद्ध जनचेतना अभियान सञ्चालन गर्ने, हात्तीपाइले रोग विरुद्ध सरोकारवालाहरुको प्रतिबद्धता खोज्ने उद्धेश्यले आयोजित सो कार्यक्रममा मुस्लिम धर्म गुरु जियाउल मुस्तफा, बौद्ध धर्मका धर्म गुरु दिल कुमार लामा, क्रिश्चियन धर्मका धर्मगुरु डम्वर थापा लगायतले प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा स्वास्थ्य मन्त्रालय ईपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाका बरिष्ठ जनस्वास्थ्य अधिकृत राम कुमार महतोले नेपालमा हात्तिपाईलेको अवस्था बारे प्रश्तुतिकरण गरेका थिए ।
कार्यक्रममा वडाध्यक्ष, कार्यपालिका सदस्य, शाखा प्रमुख, स्वास्थ्यकर्मी, स्वयंसेविका लगायत १०० बढि स्थानीयहरुको उपस्थितीमा सो कार्यक्रम सम्पन्न भएको हो ।
बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले सहजिकरण गरेको कार्यक्रममा स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद शाहीले स्वागत सहित उद्धेश्य माथि प्रकाश पारेका थिए ।
कार्यक्रममा बिश्व स्वास्थ्य संगठनका डाक्टर प्रकाश शाक्य, पालिकाका स्वास्थ्य शाखा प्रमुख राम बहादुर चन्द, कार्यक्रम नेपालगञ्ज उपमहानगरपालिका वडा नम्वर ९ का वडाध्यक्ष गोबिन्द रेग्मी लगायतले बोलेका थिए ।
हात्तीपाइले रोग निवारणका लागि आइडिए इम्प्याक्ट सर्भेमा बाँकेका तीन वटा पालिका अनुतिर्ण भएका छन् । नेपालगन्ज उपमहानगरपालिका, डुडुवा गाउँपालिका र नरैनापुर गाउँपालिका आइडिए इम्प्याक्ट सर्भेमा अनुतिर्ण भएका हुन् । ती पालिकामा हात्तीपाइले रोग विरुद्धको औषधि सेवन कार्यक्रमलाई निरन्तरता दिनुपर्ने भएको छ ।
कार्यक्रममा समाजसेवी कादिर अन्सारी, गैसस महासंघ नेपाल बाँकेका पूर्ब अध्यक्ष रुद्र सुबेदी, फातिमा फाउण्डेसनकी अध्यक्ष मैमुना सिद्धिकी लगायतको उपस्थिती रहेको थियो ।
अध्ययन अनुसार, नेपालगन्ज उपमहानगरपालिकामा ३८२ घरधुरीका १ हजार २१८ जनाको स्याम्पल जाँच गर्दा १९ जना, डुडुवा गाउँपालिकामा ११४ घरधुरीका ३५१ जनाको स्याम्पल जाँच गर्दा ८ जना र नरैनापुर गाउँपालिकाको ९९ घरधुरीको ३३१ जनाको स्याम्पल जाँच गर्दा ७ जनागरी ३४ जनामा हात्तीपाइले पुष्टि भएको छ ।
हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गर्ने सम्पूर्ण लक्षित समुदायले औषधि नखाइदिएका कारण १३ वर्षदेखि निरन्तर औषधि खुवाउने अभियान सञ्चालन भईरहेको छ । खासगरी मधेशी र मुस्लिम समुदायले औषधि सेवन गर्न इन्कार गर्ने गरेका छन् ।
उनीहरुले औषधि सेवन नगरिदिने गरेका कारण सबै समुदायले हात्तीपाइले रोगको जोखिममा परेका छन् । औषधि खानेले निरन्तर खाइरहने र नखानेले एक पटक पनि औषधि नखाइदिएका कारण ६ वर्षमा सकिनुपर्ने यो अभियान १३ वर्ष पुग्दा पनि सकिएको छैन ।