नेपालगन्ज/ निजि घर नभएका नागरिकहरुले आफन्त बितेर काजकिरिया गर्दा भोगिरहेको सास्ती अब नभोग्नु पर्ने भएको छ ।
बहालमा बस्ने नागरिकहरुलाई घरमा काज किरिया गर्न नदिने समस्याबाट पीडित लगायत गरिव, बिपन्न बर्गका लागि नेपालगन्जमा किरियापुत्री घर निर्माण भएको छ ।
उक्त घरबाट नेपालगन्जले काज, किरिया गर्ने किरियापुत्रीहरुको अभाव पुर्ती हुने भएको छ ।
नागरिक स्तरबाट निर्माण भएको उक्त घरको आज नेपालगन्जमा उद्घाटन भएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्वर ४ बसपार्क नजिक शिव पार्वती टोलमा निर्माण भएको उक्त भवनको नेपालगन्जका मेयर प्रशान्त बिष्टले उद्घाटन गरे ।
२०८० फाल्गुण १७ गते शिलान्यास भएको उक्त भवन १० महिनामा निर्माण सम्पन्न भएको छ ।
१ करोड बढिको लगानीमा निर्माण भएको भवन निर्माण बारे बोल्दै निर्माण समितिका संयोजक शेम शाक्यले भने – कोभिडको महामारीमा काज किरिया गर्न नपाएका नागरिकहरुको पीडा देखेर यो कार्यको थालनी गरिएको हो ।
समाजसेवी माधवी शाहले १० लाख रकम दिने बचनबाट उत्साहित भएर काम शुरु गरिएको बताउँदै आफ्नो नेतृत्वमा डेण्टल हस्पिटल, धम्बोझि माबी निर्माण गरेको बिगत सम्झदै शाक्यले भने – अन्य कार्य भन्दा यो कार्यमा सजिलो भयो । यो घर निर्माणका लागि कैयौंले बोलाएर चन्दा दिनु भयो, कतिपयले गुनासो गर्नुभयो, हामीलाई बिर्सेको भनेर ।
शाक्यले भने – ६० हजार दिनेको नाम के लेखौँ भन्दा नाम नलेख्नु भन्दै थप ४० हजार रकम दिनु भयो, यो सब काम मैले एक्लै गरेको होईन, सबै मिलेर गरेको हो ।
१५८ जनाको सहयोगमा निर्माण भएको २ तले आकर्षक घर निर्माणबाट यस क्षेत्रका बासिन्दाहरुले सेवा प्राप्त गर्नेछन् ।
उद्घाटन कार्यक्रममा सचिव वसन्त लामिछाने, सहसँयोजक रबिन्द्र कर्ण लगायतले बोलेका थिए ।