हात्तिपाईले विरुद्ध आम औषधि सेवन शुभारम्भ

असल शासन प्रतिनिधि

नेपालगन्ज/ हात्तीपाइले रोग विरुद्धको आम औषधी सेवन कार्यक्रम शुरु भएको छ ।

नेपालगन्ज उपमहानगरपालिका ८ स्थित महेन्द्र पार्कमा एक औपचारिक कार्यक्रम हात्तीपाइले रोग विरुद्धको आम औषधी सेवन कार्यक्र सुरु भएको हो ।

कार्यक्रममा हात्तीपाइले रोग विरुद्धको औषधी सेवन गरेर जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र बहादुर चौधरी लगायतले सो कार्यक्रमको शुभारम्भ गरे ।

सो अवसरमा नेपालगन्ज उपमहानगरका प्रमुख प्रशान्त विष्ट, उपमेयर कमरुद्दीन राई, बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल, नेपालका लागि विश्व सास्थ्य संगठनका प्रतिनिधि डा. राजेश सम्बाजी राव पान्डव, मुस्लिम धर्मगुरु मौलाना अब्दुल जब्बार मन्जरी र इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.यदुचन्द्र घिमिरे लगायतले औषधी सेवन गरेका थिए ।

शुभारम्भ कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र बहादुर चौधरीले बाँके जिल्लाकै कारण देशनै हात्तीपाइले रोगमुक्त नहुने आशंका बढेकोले यस पटक सबैले औषधी सेवन गर्नु पर्नेमा जोड दिए ।

विश्व सास्थ्य संगठनका प्रतिनिधि डा. राजेश सम्बाजी राव पान्डवले यो औषधी निकै सुरक्षित र लाभदायक रहेकोले सबैले सेवन गर्नु पर्ने जनाउँदै बाँकेमा मात्र बिरामी भेटिएकोले सबैले मिलेर अभियान सफल पार्नुपर्नेमा जोड दिए ।

भेरी अस्पतालका मेडिकल विभागका प्रमुख डा. राजन पाण्डेले यो औषधी हरेक दृष्टिकोणले सुरक्षित रहेको र यसले कुनै पनि साइडइफेक्ट नगर्ने हुँदा ढुक्क भएर खान सबैलाई आग्रह गरे ।

सो अवसरमा बोल्ने अधिकांश वक्ताले यस पटक यो अभियान सफल पार्नुको विकल्प नरहेको बताउनुभएका थिए । शुभारम्भ कार्यक्रममा स्वास्थ्यका उच्च अधिकारीहरु, जनप्रतिनिधि, जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरु सहभागिता रहेको थियो ।

नेपालगन्ज उपमहानगरपालिकामा सोमवारदेखि सुरु गरिएको सो अभियान डुडुवा र नरैनापुर गाउँपालिकामा फागुन ७ गतेदेखि सुरु गरिने स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद बहादुर शाहीले बताए।

शाहीले एउटा व्यक्तिले औषधी खाने र अर्कोले नखाइदिने गरेका कारण समुदायस्तरमा हात्तीपाइलेको जोखिम कायमै रहेको जनाए । सो अभियान अन्तर्गत बाँकेमा २ लाख ५७ हजार बढीलाई औषधि खुवाइनेछ ।

नेपालगन्जमा १ लाख ६४ हजार ९६ जना, डुडुवामा ४२ हजार १७४ जना र नरैनापुरमा ४२ हजार ३६९ जना तथा बैजनाथको ४ नम्बर वडामा ८ हजार ९६२ जना गरी जम्मा २ लाख ५७ हजार ६०१ जनालाई औषधि खुवाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय बाँकेका अधिकृत दुर्गा गौतमले बताईन् ।

उनले यसपटक हरेक वडामा वडा अध्यक्षको नेतृत्वमा स्वास्थ्यकर्मी, जनप्रतिनिधि र समाजका अगुवाहरुले घरघरमा पुगेर सो औषधी खुवाउने कार्यक्रम रहेको बताईन् ।

  • ५ फाल्गुन २०८१, सोमबार प्रकाशित

  • Nabintech