बुटवल /लुम्बिनी प्रदेश स्तरीय ललितकला प्रदर्शनी शनिबारबाट सुरु भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवलमा आयोजित प्रदर्शनीको उद्घाटन गरेका छन् । प्रदेशका १२ जिल्लाका कलाकारले सिर्जना गरेका चित्रकला, मूर्तिकला, काष्ठकला, पेन्टिङ्गहरू प्रदर्शनीमा राखिएका छन् । १२३ जना कलाकारको १८० कलाकृति प्रदर्शनीमा छन् ।
लुम्बिनी प्रदेश ललितकलाका लागि उर्वर भूमि भएको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले कला, संस्कृति, भाषा, साहित्य तथा सिर्जनाको संरक्षण, सम्बद्र्धन र प्रवद्र्धनबाट समृद्ध प्रदेश निर्माण गर्न सकिने बताए । ‘लुम्बिनीको माटोबाट बुद्धको मूर्ति निर्माण गरी विश्व बजारसम्म पुर्याउन सकिन्छ । कलाकृति र सीपहरू नयाँ पुस्तामा हस्तान्तरण गर्नु जरुरी रहेको उनको भनाइ थियो ।
मुख्यमन्त्री आचार्यले प्रदर्शनीमार्फत ललितकला विधाका कलाकृतिहरूको संरक्षण र प्रवर्द्धन हुने विश्वास व्यक्त गरे । ‘कला कुनै पनि राष्ट्रको पहिचान, संस्कार तथा सभ्यताको अमूल्य सम्पत्ति भएको बताउदै यस्ता प्रदर्शनीहरूले नेपाली ललितकला क्षेत्रको प्रवर्द्धन गर्दै नवप्रतिभाहरूलाई उत्प्रेरित गर्ने उनले बताए ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा सुरु भएको यो प्रदर्शनी १४ फागुनसम्म सञ्चालन हुनेछ । ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले अनुसन्धान, सिर्जना र सम्मानलाई प्राथमिकतामा राखिएको बताए । उनले ललितकला क्षेत्रमा नयाँ कलाकार उत्पादन हुनु सुखद पक्ष भएको उल्लेख गर्दै तीन तहका सरकारले कलाकार तथा सिर्जनाकर्ताहरूको पहिचान र प्रवद्र्धनमा योगदान गर्न आवश्यक रहेको धारणा व्यक्त गरे ।
कार्यक्रममा प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले बदलिँदो परिस्थितिमा आशाको किरणका रूपमा ललितकलालाई लिनुपर्ने विचार व्यक्त गरे । उनले ऐतिहासिक कलाकृतिको संरक्षणलाई अभियानका रूपमा अघि बढाउन आवश्यक रहेको बताए । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेलेले बुटवल उपमहानगरपालिका क्षेत्र भित्रका स्थानीय र ऐतिहाँसिक पहिचान झल्कने चित्रहरू सार्वजनिक स्थलमा आगामी दिनमा कोरिने बताए ।