नेपालगन्ज । बालिका शिक्षा कार्यक्रमको सिकाई आदान प्रदान तथा आगामी योजना बैठक बैजनाथको प्रभात नमुना माबिमा सम्पन्न भएको छ ।
रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोगमा बास नेपालद्वारा सञ्चालीत उक्त कार्यक्रम अन्तरगत हाल सम्मका कार्यक्रमका उपलब्धिहरू, राम्रा अभ्यासको बारेमा जानकारी आदान प्रदान तथा छलफल गर्ने, जलवायु कार्यमा भएका सिर्जनात्मक कार्यहरुको निरन्तरताको प्रतिबद्धता लिने र सरोकारवालाहरु संग कार्यक्रमको समिक्षा गरी आगामी दिनमा निरन्तरताको योजना तर्जुमा गर्ने उद्धेश्यले उक्त बैठक गरिएको हो ।
बैठकमा जलवायु कार्यक्रम मार्फत संचालन भएका सत्रहरु, हाल सम्म सञ्चालन गरिएका कार्यक्रमबारे जानकारी तथा मुख्य उपलब्धीहरुको बारेमा प्रश्तुतीकरण बास नेपालका सिनियर सामाजिक परिचालक मेघा रानाले गरेका थिए । बैठकमा बोल्दै बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष दल बहादुर सुनारले निकै उपलब्धीपूर्ण रहेको कार्यक्रमको निरन्तरताका बिषयमा हाल सम्म कुनै पनि जानकारी नभएकोमा दुखः लागेको बताए । उनले बिद्यालय, बिद्यार्थी तथा समुदायमा सकारात्मक प्रभाव पारेको कार्यक्रमलाई निरन्तरता दिन सबै लाग्नुपर्नेमा जोड दिए । बैठकमा बोल्दै बिद्यालयमा प्रधानाध्यापक बाबुराम अधिकारीले जलवायु परिवर्तन कार्यक्रमले बिद्यालयमा धेरै परिवर्तन ल्याएको बताउदै उक्त कार्यक्रमलाई बिद्यालयले निरन्तरता दिने प्रतिबद्धता गरे । सो क्रममा वडा अध्यक्ष देब बहादुर रावत, शिक्षक अभिभावक संघका अध्यक्ष दिप बहादुर थापा, सम्पर्क शिक्षक धनमाया बिकले कार्यक्रमको प्रभावकारीताका बिषयमा बोलेका थिए ।
यसैगरी बैठकको क्रममा जलवायु न्याय क्लबका बालिकाहरु चेतना बुढा, पुष्पा बिक, रितु बिक, सरस्वती थापा, पूर्णीमा सिंक ठकुरी, आरती परियार, कामल हमाल लगायतले जलवायु न्याय क्लबमा रहदा बालिका शिक्षा कार्यक्रमका सहभागीहरूको सिकाइ र प्रतिबद्धता ब्यक्त गरेका थिए । बैठकको अन्त्यमा जलवायु न्याय क्लबका बालिकाहरुलाई कार्यक्रम समापन प्रमाण पत्र प्रदान गरिएको थियो ।