पञ्चायती राजनीतिक जनपक्षीय विकासवादी नेता स्व. हरिप्रसाद भण्डारीको जन्म तत्कालीन श्री बण्डाली गाउँपञ्चात तेसिंगेमा (हालको जनालीबण्डाली गाविस–२) भएको हो । माता पद्मादेवी भण्डारी र पिता भगीराम भण्डारीका ज्येष्ठ सुपुत्र उनले गाउँमै साधारण शिक्षा हासिल गरेका थिए । अरु अछामी झै रोजगारीका लागि भारत पसेका भण्डारी त्यहाँ सन्तुष्ट हुन सकेनन् । भारतबाट आफ्नो गाउँ फर्केर राजनीतिमा सक्रिए भए ।
राजनीतिलाई पेसा नमानेर समाजसेवा ठान्ने उनले गोर्खा परिषद् पार्टी मार्फत् आफ्नो राजनीतिक यात्रा थालेका थिए । तत्कालीन दैलेख पश्चिममा राजनीतिमा सक्रिय उनी डोटी र दैलेखमा विभाजित अछामलाई छुटटै प्रशासकीय जिल्लाको रुपमा स्थापना गर्न सुरु भएको आन्दोलनका मुख्य नेता थिए ।
तस्वीर : जयनारायण शाह
२०१७ सालपछि पञ्चायतमा सक्रिय भएका भण्डारी २०१८ सालमा तत्कालीन श्रीबण्डाली (वीरपथ, जनालीबण्डाली र कुन्तीबण्डाली) गाउँ पञ्चायतको उपप्रधानपञ्च हुँदै २०२४ सालमा तत्कालीन जिल्ला पञ्चायतको सभापतिमा निर्वाचित भएका थिए । सभापतिमा निर्वाचित हुनु अघि उनी जिल्ला पञ्चायत सदस्यका रुपमा क्रियाशील थिए ।
सडक नै विकास र परिवर्तको मुख्य आधारशीला ठान्ने भण्डारीले पहाडमै पहिलोपटक २०२४ साल चैत्रमा मोटर भित्र्याएका थिए । तत्कालीन परिवेशमा अछाम पहाडमा सडक बनाएर गाडी कुदाउनुलाई आठौं आश्चर्य समेत मानिएको थियो ।
काठमाण्डौं पुग्दा तत्कालीन पञ्चायती नेताहरु व्यक्तिगत स्वार्थमा सक्रिय रहने परम्पराको ठीक विपरीत भण्डारीले अछामका लागि सडक र गाडी मागेका थिए । अछाम पाहाडलाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने सपना देख्ने भण्डारीले कर्णाली किनारको कोल्लीमोरा जंगलघाट हँुदै तत्कालीन सरकारले दिएको रसियन जिप अछामको सदरमुकाम मंगलसैनसम्म पुर्याएका थिए । आफ्नै नेतृत्वमा आम मानिसको सहयोगमा बाटो बनाउँदै गाडी कुदाउँदै गरेका थिए । भण्डारीको नेतृत्वको जिल्ला पञ्चायतले अछाममा सडक बनाउने निर्णय गरेपछि बाटो बनाउन जनश्रमदान जुटाउन सजिलोका लागि गाडी ल्याउन जोड दिएका थिए ।
उनले साचेको युक्तिले काम पनि ग¥यो । कोलीमोरामा जिप पुगेको एक वर्षभित्रै सदरमुकाम मंगलसैन पनि सडक सञ्जालमा जोडियो । भण्डारीले सुरु गरेको सडक आन्दोनमा अछामी जनताले साथ दिएका थिए । तर पुनः जिल्ला पञ्चायत सभापतिमा विजयी हुन नसकेका उनको सडक सपना अछामी राजनीतिको भुलभुलैयामा हरायो । त्यसको केही वर्षपछि किताब लेखनका लागि खोजमा अछाम आएका प्रसिद्ध लेखक पूर्णप्रसाद नेपाल (यात्री) ले भण्डारीको सडक सपनाको प्रशंसा गरेका छन् ।
यात्रीको २०३५ सालमा प्रकाशित सेती अञ्चल दिग्दर्शन किताबको ५ सय ५४ पेजमा (भण्डारी जीको सभापतित्व समायमा अछाम जिल्लालाई सुर्खेत जिल्लासित जोड्ने मोटर बाटो निर्माण गर्न अछामेली जनतामा अपार उत्साह आएको थियो, फलस्वरुप अछाम जिल्लाको सदरमुकाम मंगलसैनदेखि कर्णाली नदी किनारसम्म स्थानीय जनश्रमदानद्वारा झन्डै सय सवा सय किलोमिटर लामो कच्ची बाटो खनिएको छ । श्री ५ को सरकार सडक विभागले समयमा धयान दिएर साकार पारी दिएको भए जाती हुन्थ्यो । परन्तु अहिलेसम्म कुनै पक्षबाट त्यस जनउत्साहको कदर गरिए जस्तो देखिएन) उल्लेख गरिएको छ ।
भण्डारीपछिका अछामका सभापतिहरुले जिल्लामा सडक बनाउनेतर्फ चासो र चिन्ता लिएनन् । राजनीतिको फोहरी खेलमा जुटेका तत्कालीन अछामका बाहुवली घरानाका बहुमत नेताले किसान परिवारका हरिप्रसाद भण्डारीको विकास प्रवर्तन र जनपक्षीय सोचको मात्रै खिल्ली उडाए । अछाम पहाडको विकासका लागि सुरु गरेको सडक आन्दोलनबीचमै तुहाइए पनि राजनीतिमा उनको क्रियाशीलता निरन्तरता रह्यो । पञ्पचायतका चुनावहरुका प्रमुख खेलाडीका रुपमा पनि आफ्नो छवि बनाएका थिए ।
अधिकांश निरन्तर भण्डारीजीको सोचबाट डराएर अछामी ठालुहरुले उनलाई चुनावमा कहिल्यै जित्न दिएनन् । त्यतिखेरका अछामका नेताहरु भण्डारीको उदयमा आफ्नो अन्त सम्झिन्थे । अछाममा मात्रै नभएर काठमाडौंको राजनीतिका परिचित अनुहार बनेका स्व. हरिप्रसाद भण्डारी नेपाल प्रौढ संगठनको केन्द्रीय सचिव हुन समेत सफल भएका थिए ।
अछामको स्वास्थ्य र शिक्षामा पनि उनको योगदान अविस्मरणीय छ । पञ्चायत राजनीतिको केन्द्रमा भण्डारी जीका नामले बिख्यात उनले राज्यबाट गोरखा दक्षिण बाहुलगायतका धेरै सम्मान समेत पाएका थिए । पहाडमा पहिलोपटक गाडी पुराउने सडक आन्दोलनका अभियन्ता अछामका जनपक्षीय विकास प्रेमी नेता हरिप्रसाद भण्डारी अछाम राष्ट्रिय सडक सञ्जालमा जोडिएको एक वर्षपछि २०५२ साल साउन १२ गते ६८ वर्षको उमेरमा आफ्नै पैतृक गाउँ जनालीबण्डाली तेसिंगेमा यस संसारबाट बिदा भए ।