काठमाडौंका नदीहरूमा सरसफाई अभियान

१६ वटा नदिबाट १४३.५५ मेट्रिक टन फोहर संकलन

असल शासन प्रतिनिधि

काठमाडौं । बायोकम्प नेपालले पीपल इन नीड र क्लिन अप नेपालसँगको साझेदारीमा १६ वटा नदी सरसफाइ अभियानमार्फत १४३.५५ मेट्रिक टन फोहोर संकलन गर्न सफल भएको छ।
एक सय जना स्वयंसेवक, सयौं स्थानीय समुदायका सदस्यहरू, नेपाल प्रहरी, र विभिन्न शैक्षिक संस्थाका विद्यार्थीहरूको सक्रिय सहभागिता मार्फत सफलता हासिल गरेको आयोजकले जनाएको छ ।
नदी सरसफाइ अभियान रिभर परियोजना अन्तर्गत सञ्चालन गरिएको हो, प्लास्टिक फ्रि रिभर्स एन्ड सिज फर साउथ एसिया (PLEASE) परियोजनाले आर्थिक सहयोगमा उक्त अभियान सञ्चालन गरिएको थियो। कम गुणस्तरका प्लास्टिक सङ्कलन तथा पुनर्चक्रण गर्ने लक्ष्य राखेको परियोजनाले विशेष गरी बागमती, विष्णुमती, र मनोहरा नदीहरूमा प्लास्टिक प्रदूषण न्यूनीकरण गर्ने उद्देश्य राखेको छ ।


परियोजना अन्तर्गत, अनौपचारिक सर सफाईकर्मी, आप्रवासी श्रमिक, विशेष गरी महिला र युवाहरूलाई संलग्न गराइएको छ । बायोकम्प नेपालका CEO मार्टेन नाइजोफ भन्छन्, “हामी अनौपचारिक सरसफाईकर्मीहरूलाई तालिम दिएर कम गुणस्तरका प्लास्टिकहरू घरहरू, उद्योग, नदी, सडक, र फोहोर व्यवस्थापन केन्द्रहरूबाट सङ्कलन गर्छौं। सङ्कलित कम गुणस्तरका प्लास्टिकहरूलाई विशेष आर्थिक क्षेत्र (SEZ), सिमरामा हालै स्थापना गरिएको शून्य उत्सर्जन प्लास्टिक पुनर्चक्रण केन्द्रमा लगेर प्लास्टिक कम्पोजिट बोर्डमा परिवर्तन गरिन्छ। यी कम्पोजिट बोर्डहरू यसको जीवनचक्रको अन्त्यमा पुनः पुनर्चक्रण गरिनेछ।”
फेब्रुअरी २०२४ देखि सञ्चालनमा आएको अभियानले नदी किनाराका क्षेत्रहरू सफा गर्ने कार्यलाई प्राथमिकता दिएका छन्। स्वयंसेवकहरूले फोहोर हटाउन अथक मेहनत गरिरहेका छन्, जसमा प्लास्टिक, सिसा, कपडा, र अन्य सामग्रीहरू संकलन गरिएको छ। यस अभियान अन्तर्गत, बायोकम्प नेपालले ८० टन के.जी. कम गुणस्तरका प्लास्टिकहरू सङ्कलन गरी पुनर्चक्रणका लागि उपयोग गरेको जनाएको छ।


सफा वातावरणका लागि मात्र नभई, नदी सरसफाइ अभियानहरूले प्लास्टिक प्रदूषण न्यूनीकरणको महत्त्वबारे समुदायलाई सचेत पार्ने लक्ष्य राखेको परियोजना अन्तर्गत घरघरमा गई जनचेतना कार्यक्रम सञ्चालन गरि नागरिकहरूलाई प्लास्टिक फोहोर व्यवस्थापनका दिगो उपायहरू अपनाउन प्रेरित गरेको बताईएको छ ।
१६औं र अन्तिम नदी सरसफाइ कार्यक्रम ललितपुर महानगरपालिका ४ अन्तर्गत बागमती नदी करिडोरमा आयोजना गरिएको छ। कार्यक्रममा काठमाडौं महानगरपालिका वातावरण विभागबाट सानु मैया महर्जन, ललितपुर महानगरपालिकाका वडा २ बाट वडा अध्यक्ष राजेश कुमार र वडा ९ बाट वडा सदस्य, ललितपुर कल्याण आधारभूत विद्यालयका प्रध्यानाध्यापक, संयुक्त सफाई जागरण, रेडक्रस सर्कल, नेप्सेम्याक लगायत अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो। सानु मैया महर्जनले काठमान्डौ महानगरपालिकाले विभिन्न वडाहरुमा श्रोतमा नै फोहोरको वर्गीकरण गर्दै गरिरहेको र रिभर परियोजनाले कम गुणस्तरका प्लास्टिकहरु लाई पुनः चक्रण गरि बोर्ड बनाउने कार्यले फोहोर व्यवस्थापनमा थप टेवा पुर्याउने बताए। त्सैगरी ललितपुर महानगरपालिकाका वडा २ का वडा अध्यक्ष राजेश कुमार महर्जनले परियोजनाले नदि सरसफाई अभियानले सम्पूर्ण नगरबासीहरुलाई नदीको महत्व बुझाएको र प्लास्टिक प्रदुषणलाई न्यूनीकरण गर्नका लागि सबैलाई एक जुट हुन आग्रह गरे ।
अभियानलाई थप प्रभावकारी बनाउन बायोकम्प नेपालले १७ मार्च २०२५ मा सिमरामा नयाँ प्लास्टिक पुनर्चक्रण केन्द्र उद्घाटन गरेको छ। केन्द्रले दिगो प्लास्टिक फोहोर व्यवस्थापनमा उल्लेखनीय योगदान दिने र प्रविधिले वातावरणीय चुनौतीहरूलाई परिपत्र अर्थतन्त्रका अवसरहरूमा परिवर्तन गर्ने बताईएको छ ।
परियोजना साउथ एसिया कोअपरेटिभ इन्भाइरन्मेन्ट प्रोग्राम (SACEP) द्वारा कार्यान्वयन भइरहेको छ, जसलाई विश्व बैंकले सहयोग गरेको छ ।

  • २० चैत्र २०८१, बिहीबार प्रकाशित

  • Nabintech