नेपालगञ्ज/
लेकका काफल सम्झ्या बेला औलका आम सम्झ्या बेला
पहाड बाइजाउँ सुत्ता छौ कि तराइको घाम सम्झ्या बेला
नेपालगञ्जको गर्मिले आकुल, व्याकुल हुनै लाग्दा नयाँ पुस्ताका उम्दा गजलकार कमल संघर्षले आफ्नै खस भाषाबाट गजलको उठान गरे ।
बसाइसराइको लहड र बसाइसराइपछिको यथार्थतालाई चित्रण गरेको उक्त गजलले सुदुर र कर्णालीबाट नेपालगञ्ज बस्दै गरेका युवाहरुको मन जित्यो र हल गुञ्जायमान बन्यो ।
उसलाई पनि लाग्छ घण्टिको आवाज आहा !
मेरो झन् मन्दिरबाटै सुनिन्छ नमाज आहा !
नेपालगञ्जको बहु धार्मिक, सांस्कृतिक परिवेश र यो समाजमा भाइचारा कायम गर्न उत्प्रेरित गर्ने भाव सहितको कमलको अर्काे शेरल थप स्यावासि पायो ।
बास नेपालको आयोजनामा चैत्र २२ गते सम्पन्न गजल साँझमा प्रश्तुत भएका कमल संघर्षले सबैको मन जिते । देशको जल्दोबल्दो समसामयिक परिवेशमाथि कटाक्ष गर्दै उनले भने –
तिमी बन्दुक चलाएर पनि निर्दोश
अनि म हत्यारा ढुङ्गा हिर्काएर ?
प्रेमिल भावमा देशको न्यायालयमा देखिएको वेतिथिमाथि व्यंग्य प्रहार गर्दै उनले अर्काे शेर सुनाए –
मलाई मारेकै भए नि उन्मुक्ति पाउने रैछौ
म माया मार्यौ भनेर पुगेँ यार अदालतमा
आम जिन्दगीको कस्टकर जीवनयापन र समाजको देखावटी आचरणको उठान उनले अर्काे गजलमा यसरी सुनाए :-
जिन्दगी बाँच्यो घोडा भएर लगाम भएर
आज के काम मुद्र्धालाई आराम भएर
सुदूर कर्नालीका लासहरू हुन् स्टेचरमा बोकिने
हेलिकप्टर त सरकारलाई केक बोकेर हिँड्छ
सुदूर कर्णालीको बाध्यात्मक अवस्था र राज्य सत्ताको विलासिपनलाई चित्रण गरेको उनको गजलले निकै चर्चा पायो ।
यसा मिडियाकी क्या मिडिया भन्ना
केइ हुनेहोकी निकालदिउँ भिडिया भन्ना
देशको चौथो अङ्ग सञ्चार क्षेत्रबाट मौलाइरहेको विकृतीलाई व्यङ्ग्य गर्दा हलमा रहेका सुदुरपश्चिमेलीहरुले तालि ठोके । तालिकै गडगडाहड बिचमा कमलले शिक्षकहरुलाई यसरी व्यंग्य गरे :
भासन हर्न लाग्या स्कुल पढाउन छाडी अजेल
नेता भयाकाछन् गाउँका मास्टरवाडी अजेल
कमल अघि बढे र भने –
बेलि उसै आज उसै क्या हो यो जिन्दगी
बत्तु छेपाडो रङ्ग बदल्लो कठै न !
बढ्दो बैदेशिक रोजगारको यात्रा बारे कमलले यस्तो व्यंग्य गरे –
हातुडो राहदानी राख्या, मनमा सप्ना राख्या
तुइकि लिन सक्या न झोलामा हाली कन
कर्णालीलाई हेर्ने दृष्टिकोण बारे कमलको प्रहार यस्तो रह्यो –
भल मिस्याको छ कि सरकारका खोप्डिमा
नाली भन्या जसो मान्दो छ कर्नाली कन
सुदुरपश्चिमकै डर लाग्दो भासु भिर बारे उनको टिप्पणी यस्तो रह्यो :-
भासुमै खसेर बितेका हुन् हजुरबुवा पनि
कठै ! दैनौँ आज नाती भासुको भिडमाथि
दर्जनौ गजल सुनाएका कमल संघर्षको गजल साँझ असल शासन मिडियाका प्रबन्धक तपेन्द्र मलातीले सहजिकरण गरेका थिए । कार्यक्रममा साहित्यकारहरुको बिशेष उपस्थिती रहेको थियो ।