९ वैशाख ,२०८२/नेपालगन्ज/ विभागीय टोली नेपाल पुलिस क्लब लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
नेपालगन्ज रङ्गशालामा आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुट आउटमा ६–५ गोल अन्तरले स्तब्ध पार्दे पुलिस फाइनलमा प्रवेश गरेको हो ।
निर्धारित ९० मिनेटको खेलमा पुलिसको तर्फबाट पहिलो हापको २९ औ मिनेटमा मिना देउवाले एक गोल गरेर पुलिसलाई एक गोलले अग्रता दिलाउन सफल भइन । पहिलो हाप सकिदा सम्म आर्मीका तर्फबाट कुनै गोल हुन सकेन । खेलको दोस्रो हापको ८० औ मिनेटमा आर्मीका तुलसा बोहोराले एक गोल गरीन ।आर्मीका तुलसा बोहोराले गोल गरेपछि खेलको निर्धारित समय सकिदा सम्म दुबै टिमबाट थप अर्को गोल हुन सकेन ।
१/१ गोलको बराबरीमा खेल रोकिएपछि खेल पेनाल्टी सुट आउटमा गएको थियो । पुलिसकी रेबिका पाण्डे, उषा नाथ, निरु थापा, सुष्मा तामाङ, अनुष्का शेर्पा र अमृता जैसीले पेनाल्टी गोल गरे भने मोनिका पुलामी मगर, मिना देउवा र समीक्षा घिमिरेले गोल गर्न चुके । यस्तै आर्मीकी तुलसा बोहरा, हिमा चौधरी, सपना लामा, बिमला विक र सुखरिया सुक्लखुले गोल गर्न सफल भए भने अंचली वाइबा, चन्द्रा भण्डारी, सुनिता चौधरी र इन्दिरा राईले गोल गर्न सकेनन् ।
खेलमा म्यान अफ द म्याच पुलिसकी गोलकिपर उषा भइन् । गोलकिपर उषालाई नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रक्रृषी चौलागाई ,चार नम्बर बाहिनी पति सहायक रथि बिक्रम राणा र के आइ इ सी नेपालगन्ज प्रमुख शुभास थापाले संयुक्त रुपमा नगद रु ५ हजार प्रदान गरेका थिए । गोलकिपर उषाले आफूलाई ग्राउण्डमा खेल्ने अवसर दिएमा राम्रो नतिजा दिन सक्ने बताएकी छिन ।
आजको प्रतियोगिताको मुख्य रेफ्रि क्रिष्ण खत्री रहेका थिए भने सहायक रेफ्रिहरुमा जमुना आले ,अमर घले र अनुपसिङ थारु रहेका थिए । आजको खेलमा पहेलो कार्ड पुन्जली कुशवारले पाएकी थिइन । खेल आयोजक संस्था अन्तरालका कार्यकारी निर्देशक जयनारायण शाह र नेपाल पत्रकार महासंघ बाँकेका पुर्व अध्यक्ष तथा आयोजकका तर्फबाट मिडिया संयोजक निरज गौतमले संयु्क्त रुपमा खेलाडिलाई बल हस्तान्तर गरेपछि सुरु भएको थियो ।
त्रिभुवन आर्मीका कोच चक्र तामाङले रेफ्रिको कमजोरी र व्यवस्थापकिय पक्षको त्रुटीका कारण सोचे अनुसारको प्रस्तुती दिन नसकेको बताए । यो नतिजाले आगमाी दिनमा सिकाई भएको र केही राम्रा खेलाडीको अभाव भएको समेत उल्लेख गरे । यस्तै आर्मीका क्याप्टेन सुनिता चौधरीले खेलाडीहरुले राम्रो प्रस्तुती दिएको भएपनि सोचेअनुरुप खेल हुन नसकेको बताइन ।
यस्तै नेपाल पुलिस क्लवका कोच सुमन सुवेदीले दुबै टिम बिभागिय भएकाले प्रतिस्पर्धा कडा भएपनि खेलमा नजिता आउनेमा विश्वस्त रहेको बताए । उनले फाइनल खेलमा पनि जितको राम्रो संभावना आकलन गरेका छन । पुलिसका क्याप्टेन निरु थापाले घरेलु मैदानबाट फाइनल खेल जितेर जाने गरी तयारीमा रहेको बताएकी छिन ।
पुलिसले अब उपाधिका लागि भोली बुधबार हुने दोस्रो सेमिफाइनल खेल अन्र्तगत रौतहट फुटबल सङ्घको टोली र अर्को विभागीय टोली एपीएफबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।
बाँके जिल्ला फुटबल सङ्घसँगको सहकार्यमा भइरहेको प्रतियोगिताको विजेता टिमले ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेता टिमले २ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल र पुरस्कार प्राप्त गर्ने आयोजक अन्तरालले जनाएको छ । प्रतियोगिता वैशाख १२ गतेसम्म चल्नेछ ।