नेपालगन्ज/ १९ औं लाेकतन्त्र दिवसको अवसरमा नेपालगन्जमा सडक संवाद तथा दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ ।
गैरसरकारी संस्था महासंघ नेपाल बाँके शाखाकाे आयाेजनामा नेपालगन्जको स्थानीय बिपी चोकमा बिहीबार साँझा उक्त कार्यक्रम सम्पन्न भएकाे हाे ।
आजको अवस्थामा नागरिकले कुनै पनि ठाउँमा जहाँ गुनासो वा समस्या त्यसका बारेमा बोल्न पाएको कुरा लोकतन्त्रको उपलब्धी भएको कार्यक्रमका वक्ताहरुको जोड थियो ।
गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय सचिव नमस्कार शाहले लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको बताए । लाेकतन्त्रकाे कारण नागरिक हरुले स्वतन्त्र रूपमा बाेल्न पाएकाे बताउदै लाेकतन्त्रलाई संस्थागत गर्नुपर्नेमा शाहकाे जाेड थियाे ।
कार्यक्रममा नागरिक अगुवा कृष्णजंग शाह, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य झलक गैरे, मानव अधिकारकर्मी प्रभात सिंह ठकुरी, पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, अधिवक्ता एव अधिकारकर्मी बसन्त गौतम लगायतले बोलेका थिए ।
सवाद कार्यक्रम पश्चात् दिप प्रज्वलन गरिएको थियो ।
कार्यक्रम गैसस महासंघ बाँकेका सचिव रमेश सिटौलाले संचालन गरेका थिए भने कार्यबाहक अध्यक्ष मन भण्डारीले स्वागत संगै कार्यक्रमकाे उद्देश्यमाथि प्रकाश पारेका थिए ।
यसैगरी दिवसको अवसरमा काेहलपुरमा प्रभातफेरि तथा दिपप्रज्वलन गरिएको छ । तत्कालीन राजा ज्ञानेन्द्र शाहले विसं २०५९ जेठ ८ मा विघटित संसद्को पुनःस्थापना गरी आफू देशको कार्यकारी प्रमुखबाट हटेको तथा निरङ्कुशता पराजय भएको वि.सं २०६३ वैशाख ११ को स्मरण गर्दै लोकतन्त्र दिवस मनाइने गरिएको छ । विसं २०६२/६३ को आन्दोलनपछि तत्कालीन राजाको प्रत्यक्ष र निरङ्कुश शासनको अन्त्य भएको दिनको सम्झनामा २०६५ सालदेखि वैशाख ११ गते लोकतन्त्र दिवस मनाउन थालिएको हो ।