सार्वजनिक सुनुवाईमा प्रतिबद्धता कोहलपुर बसपार्क र भ्यू टावर

असल शासन प्रतिनिधि

कोहलपुर, ३१ बैशाख २०८२
कोहलपुर नगरपालिकाको पर्यटकीय केन्द्रको रुपमा रहेकोे कोहलपुर भ्यु टावर र बसपार्कको व्यवस्थापन तथा प्रभावकारी संचालनका लागि निजी क्षेत्रलाई ठेक्कामा जाने भएका छन् । कोहलपुर नगरपालिकाले बैशाख ३१ गते कोहलपुरमा आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागिले बसपार्क र भ्यु टावरको व्यवस्थापन सम्बन्धमा सोधेको प्रश्नको जवाफ दिदैँ नगर प्रमुख पुर्ण प्रसाद आचार्यले १५ वर्षका लागि यी दुई ओटा गौरवको रुपमा रहेका स्थलहरु ठेक्कामा दिने प्रक्रिया नगरपालिकाले अगाडी बढाएको बताएका छन् । उनले यही आर्थिक वर्ष भित्रमा आवश्यक प्रक्रिया पूरा भएमा ठेक्कामा दिने गरि तयारी भएको बताएका छन् ।
बास नेपालको सहजिकरणमा सम्पन्न भएको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागिले उठाएका प्रश्नहरुको जवाफ दिदैैँ नगर प्रमुख आचार्यले नगर भित्रको मुख्य सडक खण्डमा रिक्साको व्यवस्थापनको विषयमा छलफल भईरहेको, नगर भित्रका स्वास्थ्य संस्थाहरुमा औषधीको अभाव हुन नदिन खरिद प्रक्रियालाई छिटो छरितो बनाउने, घुम्ति सार्वजनिक सुनुवाई कार्यक्रमलाई अवलम्बन गर्ने, जेष्ठ नागरिकहरुलाई सार्वजनिक यातायात तथा बैँक लगाएत अन्य सेवा लिने स्थानहरुमा लाईनमा बस्न नपर्ने गरी प्रबन्ध मिलाउने, महिला स्वास्थ्य स्वयंसेविका मार्फत हजार दिने आमाको बैठक आयोजना गर्दा खाजाको व्यवस्थापन गर्न सम्बन्धित शाखा माफर्त कार्यक्रम बनाई लागु गर्ने, मेला महत्सव तथा बालबालिकाको सर्वोत्तम हितमा असर पर्ने कुनै पनि कार्यक्रमहरुमा बालबालिकाहरुको प्रयोग निषेध गर्ने, नगर भित्र वर्षातले क्षति पु¥याउन सडकहरु प्राथिमकताको आधारमा मर्मत संभार र निमार्ण गर्ने तथा ठूलो बजेट आवश्यक पर्ने सडक तथा पुलहरुको लागि प्रदेश र संघ सरकारसँग माग गर्ने लगाएतका प्रतिबद्धता गरे ।
२०० जना नगर बासीको उपस्थिती रहेको सार्वजनिक सुनुवाई कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर गिरीले नगरपालिकाबाट आर्थिक वर्ष २०८१/०८२ को दोस्रो चौमासिकमा सम्पन्न भएका गतिविधिरुको प्रगति प्रस्तुत गरेका थिए । सहभागिहरुबाट आएका प्रश्नहरुको जवाफ नगर प्रमुख पुर्ण प्रसाद आचार्य, प्रमुख प्रशासकीय अधिकृत मान बहादुर गिरी, सम्बिन्धत वडा अध्यक्षहरु र शाखा प्रमुखहरुले दिएका दिए ।
बास नेपालका कार्यक्रम संयोजक रबिन्द्र बोहराले संचालन गरेको कार्यक्रमको उदेश्य माथि प्रकाश बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार वर्माले गरेका थिए भने अन्तमा बास नेपालका केन्द्रीय महासचिव कल्पना अधिकारीले प्रतिबद्धताको घोषणासँगै कार्यक्रमको समापन गरेकी थिइन् ।

  • १ जेष्ठ २०८२, बुधबार प्रकाशित

  • Nabintech