नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ कोरियनपुर बाल्मिकी स्कुलको बायाँ तर्फबाट नयाँ बस्ति तर्फ जाने बाटोको योजनाका बिषयमा स्थानीयहरुले सडक पूर्वाधार विकास कार्यालय नेपालगन्जसँग सुचना माग गरेका छन् ।
दुई हर्जन स्थानीयबासिहरुले आज संयुक्त हस्ताक्षर सहित सुचना माग गरेका छन् । सो सुचना माग फारममा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ कोरियनपुर बाल्मिकी स्कुलको बायाँ तर्फबाट दुध डेरी हुदै नयाँ बस्ति तर्फ जाने बाटोको योजना विवरण, जम्मा लागत, ठेक्का प्राप्त ठेकेदारको सम्पर्क नम्बर सहितको बिवरण, योजनाको सम्झौता अवधि, सम्झौता अनुसार समयमा योजना भए, नभएको विवरण, योजना अनुसार काम समयमा हुन नसक्नुका कारण, योजना स्थलमा सूचना पार्टी नहुनुको कारण र काम शुरु गर्दै छोड्दै जाँदा त्यसले पारिरहेको असरको जिम्मेवारी कसले लिनु पर्नेहो, गिट्टी, बालुवा यत्र तत्र छाडिदा भईरहेको दुर्घटना, गर्मिको मौसममा दिनहु उडिरहेको धुलो धुवाबाट भईरहेको असरको ब्यवस्थापनको जिम्मेवारी कसको हो सो को जानकारी उपलब्ध गराईदिन अनुरोध गरिएको छ । लामो समयसम्म बाटो निर्माण कार्य अलपत्र अवस्थामा रहदा स्थानीयहरुलाई सास्ती भएको सुचना माग गरिएको नेपालगन्ज १२ का स्थानीय नमस्कार शाहले बताएका छन् । सुचना माग निवेदनमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष तरुण कुमार बज्राचार्य, वडा सदस्य बिनोद रस्तोगी लगायतले हस्ताक्षर गरेका छन् ।