दैलेख:/दैलेखको नारायण नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूको क्षमता विकासका लागि सकारात्मक सोच र स्थानीय सरकार सञ्चालन सम्बन्धी एक दिने तालिम सम्पन्न भएको छ। नारायण नगरपालिकाको आयोजनामा शनिवार एक दिने तालिम सम्पन्न भएको हो ।
बास नेपालको सहरीकरणमा भएको तालिममा राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख आयुक्त तथा नेपाल सरकारका पूर्व सचिव कृष्णहरि बास्कोटाले सकारात्मक सोच तथा स्थानीय सरकार सञ्चालनको विषयमा प्रस्ट पारेका थिए ।
नगर प्रमुख लोमन शर्माको अध्यक्षतामा भएको तालिममा नारायण नगरपालिकाका जनप्रतिनिधि, वडा सचिव, विषयगत शाखाका प्रमुख, राजनीतिक दलका प्रतिनिधि, लगायत ८५ जना भन्दा बढीको सहभागिता रहेको थियो ।
एक दिने तालिमको सहजीकरण गर्दै राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख आयुक्त तथा नेपाल सरकारका पूर्व सचिव कृष्णहरि बास्कोटाले सुशासन, नेतृत्व विकास, नगरपालिका, कार्यपालिका, व्यवस्थापिकाका काम, कर्तव्य र अधिकार, जनप्रतिनिधि र कर्मचारीका असल गुण स्थानीय सरकारको प्राथमिकता, सकारात्मक सोच, स्थानीय सरकारले गर्नुपर्ने काम, स्थानीय सरकार सञ्चालनसँग सम्बन्धित ऐन, नियम र कानुन ,लगायतका विषयमा प्रशिक्षण दिएका थिए ।
कार्यक्रमको समापन समारोहमा बोल्दै नगर उपप्रमुख तप्ता कुमारी खड्काले नारायण नगरपालिकाले आगामी वर्षको नीति तथा बजेट कार्यक्रम तयार गर्ने समयमा भएको तालिमले ठुलो सहयोग पुग्ने बताइन् । नारायण नगरपालिका स्थानीय ऐनमा रही योजना छनोट र विकासमा लाग्ने उनले प्रतिबद्धता छ । यस्तै नारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेशम बहादुर बुढाले तालिमबाट सहभागीहरूले केही भए पनि नयाँ कुराको ज्ञान लिएको जानकारी दिए ।बास नेपालको सहकार्यमा यस्ता कार्यक्रम गर्दै जाने उनले बताए ।
कार्यक्रमका अध्यक्ष तथा नगर प्रमुख लोमन शर्माले तालिमको समापनमा सकारात्मक सोच र स्थानीय जनप्रतिनिधिले लिनु पर्ने सीप र क्षमता विकास गर्ने प्रशिक्षण भएको बताए । नगर सभा सञ्चालन, नीति कार्यक्रम, असल अभ्यास र सफलता कसरी प्राप्त गर्ने विषयमा प्रशिक्षण भयो, हामीले बजेट पटाउँदा सामूहिक छलफल गरी वडामा पठाउने गरेको उनको भनाई थियो,नागरिक समक्ष जनप्रतिनिधि निरन्तर नजरमा रहेको धारणा राख्दै नगरपालिकालाई सफल र समृद्वि तर्फ लिनका लागि ठुलो प्रेरणा दिएकोमा बास नेपाललाई धन्यवाद दिए । आगामी दिनमा यस्ता किसिमका प्रशिक्षण कार्यक्रमहरू ल्याउने उनले बचन दिए ।
नगरपालिका तथा गाउँपालिकाहरूले वडाहरमा बजेट पठाउँदा बजेटको सिलिङ्गमाग गरेर पठाउने गरेको सन्दर्भमा वार्षिक बजेट निर्माणका लागि ५ वटा समिति मार्फत बजेट विनियोजन गर्नुपर्ने देखिन्छ । हरेक पालिकामा आर्थिक विकास समिति, सामाजिक विकास समिति, पूर्वाधार विकास समिति, वन, वातावरण तथा विपद् व्यवस्थापन समिति र सुशासन तथा संस्थागत विकास समिति मार्फत बजेट विनियोजन गर्नुपर्ने बारेमा ज्ञान यस तालिमबाट भएको सहभागीहरूले बताएका थिए ।
बास नेपालका कार्यक्रम प्रबन्धक मन भण्डारी सञ्चालन गरेको तालिममा बोस नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार वर्माले स्वागत गरेका थिए ।