मधुवनमा चारदिने तालिम सुरु

असल शासन प्रतिनिधि

बर्दिया । बर्दियाको मधुवन नगरपालिकामा प्रारम्भिक बालविकास (ईसीडी) र कक्षा १ का शिक्षकहरूका लागि चारदिने तालिम शुरु भएको छ ।
मधुवन नगरपालिका र बाँके युनेस्को क्लबको आयोजनामा तथा राजापुर नगरपालिकाको सहकार्यमा, प्लान इन्टरनेशनल नेपालसंगको साझेदारीमा सुरक्षा परियोजना अन्तर्गत आजदेखि उक्त तालिम शुरु भएको हो ।
कम लागत र शून्य लागतमा शिक्षण सिकाइ सामग्री निर्माण गर्ने तरिका र समावेशी कक्षा व्यवस्थापन प्रविधिको विकास मार्फत शिक्षण अभ्यासमा सुधार ल्याउने उद्देश्यले उक्त तालिम सञ्चालन भएको हो ।


तालिमले प्रारम्भिक कक्षाको सिकाइ वातावरणमा सुधार ल्याउने, सहभागी शिक्षकहरूले स्थानीय स्रोतहरू प्रयोग गरी सजिलो र प्रभावकारी सिकाइ सामग्री बनाउने व्यावहारिक विधिहरू, साथै विविध सिकाइ आवश्यकताहरू भएका बालबालिकालाई लक्षित गर्दै समावेशी सिकाइ वातावरण निर्माण गर्ने उपायहरूबारे मार्गदर्शन गर्ने परियोजना संयोजक इश्वर बि.क. ले जानकारी दिएका छन् ।
तालिमको सहजीकरण प्रारम्भिक कक्षाका शिक्षण रणनीति र समावेशी शिक्षण अभ्यासमा विज्ञ प्रशिक्षक झल कुमारी कार्कीले गर्ने छिन्। कार्यक्रम अन्तरक्रियात्मक सत्र, समूहगत कार्य र व्यवहारिक अभ्यासहरू सहित सञ्चालन भइरहेको छ ।
तालिममा सहभागी शिक्षकहरूले कक्षा कोठामा प्रत्यक्ष रूपमा प्रयोग गर्न सकिने नयाँ सीपहरू सिक्न पाउँदा उत्साह थपिएको बताएका छन्। तालिमले शिक्षक र विद्यार्थी दुवैलाई शिक्षालाई पहुँचयोग्य, आकर्षक र समावेशी बनाउन सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।
तालिममा मधुवन नगरपालिकाको शिक्षा शाखा प्रमुख नारायण प्रसाद खनाल र बाँके युनेस्को क्लबकी फिल्ड सुपरभाइजर सबित्रा भाटको समेत सहभागिता रहेको छ ।

  • १६ जेष्ठ २०८२, बिहीबार प्रकाशित

  • Nabintech