नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ मा बालबालिकाको सशक्तिकरणको अभियान सुरु भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ ले बालमैत्री स्थानीय शासनलाई प्रथामिकता साथ अगाडी बढाउन बालबालिकामा लगानी बढाउन थालेको छ । शनिबार जेठ २४ गते वडा नं. २ र बास नेपालको साझेदारीमा संचालित बालमैत्री वडा पूर्वाधार निर्माण कार्यक्रम अन्तर्गत बालक्लवको सशक्तिकरण तथा बालमैत्री स्थानीय शासन विषयक एक दिने तालिमको समापन सत्रमा बोल्दै वडा नं. २ का वडा अध्यक्ष मनोज कुमार श्रेष्ठले आउने आर्थिक वर्ष भित्रमा वडालाई बालमैत्री वडा घोषण गर्ने गरी योजना तर्जुमा गरिएको बताए ।
उनले उपमहानगरपालिकालाई नै २ वर्षमा बालमैत्री नगरपालिका घोषणा गर्ने गरी पूर्वाधार निर्माणको कार्य अगाडी बढाउँदै लगिएको र आउने आर्थिक वर्ष २०८२/८३ मा नै वडा नं. २ लाई बालमैत्री वडा घोषणा गर्ने बताए ।
वडामा गठन भएको टोल स्तरीय बालक्लवहरु र वडा स्तरीय बालक्लव संजालका प्रतिनिधिहरुका लागि आयोजना गरिएको तालिममा बालक्लवको परिचालन तथा व्यवस्थापन, बालमैत्री स्थानीय शासन, बाल अधिकार, बाल संरक्षणका विषयमा प्रशिक्षण प्रदान गरिएको छ । तालिमको प्रशिक्षण बास नेपालका कार्यक्रम प्रबन्धक मन भण्डारी र कार्यक्रम अधिकृत रबिन्द्र बोहराले प्रदान गरेका थिए ।
तालिमको समापन सत्रमा बोल्दै बास नेपालका कार्यकारी निर्देशक नमस्का शाहले बालबालिकामा गरेको लगानी खेर नजाने र त्यसको प्रतिफल अधिक प्राप्त हुने बताउँदै वडा नं. २ लाई बालमैत्री वडा घोषणा गर्न बास नेपालको सक्दो सहयोग गर्ने बताए ।
बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार वर्माले वडाले बालबालिका माथि गरेको लगानी उदाहरणीय रहेको र त्यसको प्रतिफल वडाले प्राप्त गर्ने बताए । कार्यक्रमको उद्घाटन सत्रमा वडा सदस्य तुल्सा देवी परियार र गिता देवि रानाले शुभकामना भनाई राखेका थिए ।
तालिममा ४० जना बालबालिकाहरुको सहभागिता रहेको थियो ।