नेपालगन्ज/ चौथो नेपालगन्ज फोटो फेस्टिवल आगामी असार ४ र ५ गते नेपालगन्जमा हुने भएको छ।
सो अवसरमा २ दिने फोटो प्रदर्शनी होटेल सिटी प्यालेसको हलमा हुनेछ भने , अन्तरक्रिया र फोटोग्राफी तालिम समेत हुनेछ।
अन्तरालले आयोजना गरेको राष्ट्रिय फोटो प्रतिस्पर्धा (National Photo Contest ) मा देशैभर वाट सहभागी फोटो मध्ये निर्णायक मण्डलले छनौट गरेका १ सय ११ फोटो प्रदर्शनीमा राखिनेछ।
बरिष्ठ फोटो पत्रकार बिकास कार्कीको नेतृत्वमा बरिष्ठ फोटोग्राफर रमेश मल्ल र फोटो पत्रकार केशव थोकर सदस्य रहेको निर्णायक मण्डलले फोटो छनौट गरेको हो। छानिएका १ सय ११ फोटोहरुलाई प्रमाणपत्र प्रदान गरिनेछ भने नेपालगन्ज अनि राजधानी काठमाण्डौं र सवै प्रदेशमा हुने फोटो प्रदर्शनीमा राखिनेछन्। यी फोटोहरु अन्तरालले प्रकाशन गर्ने फोटो पुस्तकमा समेटिनेछन् ।
फेस्टिवलको कोअर्डिनेटरको जिम्मेवारी पत्रकार नीशु जोशीलाई प्रदान गरिएको छ। जोशीले फेस्टिवलको दोस्रो संस्करणमा वर्ष फोटो उपाधी जितेकी थिइन्। यसैगरी पहिलो संस्करणमा रुकुमका मैत्या घर्ती मगर र तेस्रो संस्करणमा मुगुका पत्रकार राज बहादुर शाहीले उक्त उपाधि जितेका छन् ।
यसैगरी फोटो पत्रकार र फोटोग्राफरहरुका फोटोग्राफी अनुभव आदानप्रदान गर्ने उद्देश्यले नेपाल फोटोग्राफी समिट पनि आयोजना हुनेछ। #PeoplesChoiceAward निर्णायकहरुको छनौटमा शीर्ष ३१ फोटोहरु अनलाइन भोटिङकालागि राखिएको छ। ईसेवा भोटिङ पार्टनर रहेको छ।
आगामी असार ५ दिउँसो १ वजेसम्म भोटिङ लाइन खुला रहनेछ। भोटिङमा सर्वाधिक भोट पाउने फोटोलाई Peoples Choice Award प्रदान गरिनेछ। यसको पुरस्कार राशी ५० हजार १ सय ११ रुपैयाँ र प्रमाणपत्र रहेको छ।
विधागत उत्कृष्टपुरस्कार हरेक विधाका उत्कृष्ट फोटोलाई नगद पुरस्कार सहित विधागत उत्कृष्ट फोटो अवार्ड प्रदान गरिनेछ। ९ विधा रहेका छन् – दैनिक जीवन (Daily Life ), समाचार (News ) , पर्यटन (Tourism ) , कृषि ( Agriculture ) , संस्कृति (Culture ) , वन्यजन्तु (Wildlife ) , प्रकृति र संरक्षण (Nature & Conservation ) खेलकुद (Sports ) , नेपाल इस्माइल ( Nepal Smile ) रहेका छन्। हरेक विधाको उत्कृष्टलाई रु ५ हजार नगद र प्रमाणपत्र प्रदान गरिनेछ।
PhotoOfTheYear2081 १ सय ११ फोटोमध्ये वाट निर्णायकहरुले सर्वोत्कृष्ट फोटो छनौट गर्नेछन्।
यस फोटोलाई वर्षफोटो -२०८१ Photo of the Year 2081 अवार्ड प्रदान गरिनेछ। नेपालगन्ज फोटो फेस्टिवल अन्तर्गत राष्ट्रिय फोटो प्रतिस्पर्धाको यो सवैभन्दा ठूलो र मुख्य पुरस्कार हो।
यसको पुरस्कार राशी ५१ हजार १ सय ११ रुपैयाँ र प्रमाणपत्र रहेको छ। राष्ट्रिय फोटो प्रतिस्पर्धामा देशैभरवाट उत्साहजनक रुपमा सहभागिता जनाउने सवैलाई धन्यवाद दिंदै आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले २ दिन सम्म चल्ने फोटो प्रदर्शनीमा सवैलाई आमन्त्रण गर्दै भने – `यो प्रदर्शनीमा सिंगो नेपाल झल्किनेछ। ´