नेपालगञ्ज/ सडक पूर्बाधार बिकास कार्यालय, नेपालगञ्ज, बाँकेका सूचना अधिकारी बिरुद्ध कार्यालय प्रमुखलाई उजुरी गरिएको छ ।
जेष्ठ ६ गते बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्वर १२ कोरियनपुरका स्थानीयबासीहरुले सडक निर्माण सम्वन्धि माग गरेको सूचना उपलब्ध नगराएपछि सूचना अधिकारी बिरुद्ध उजुरी गरिएको हो ।
सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३ बमोजिम स्थानीयबासीहरुलाई जानकारी आवश्यक भएको उल्लेख गर्दै २०८२ जेष्ठ ६ गते लेखिएको निबेदन २०८२ जेष्ठ ७ गते दर्ता गरिएको थियो ।
दर्ता नम्वर ७९४ रहेको उक्त निबेदन बमोजिम १५ दिन बितसक्दा समेत सूचना प्राप्त नगरेपछि स्थानीयवासीहरुका तर्फबाट नमस्कार शाहले उजुरी दर्ता गराएका हुन् । उजुरी दर्ता गर्दै बिभिन्न सूचना माग गरिएको छ ।
माग गरिएको सूचनामा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्वर १२ कोरियनपुर बाल्मिकि स्कुलको बायाँ तर्फबाट दुध डेरी हुँदै नयाँ बस्ति तर्फ जाने बाटोको योजना बिबरण, जम्मा लागत, ठेक्का प्राप्त ठेकेदारको सम्पर्क सहितको बिबरण, योजनाको सम्झौता अवधि, सम्झौता अनुसार समयमा योजना भए, नभएको बिबरण, योजना अनुसार काम समयमा हुन नसक्नुको कारण, योजना स्थलमा सूचना पार्टी नहुनुको कारण माग गरिएको छ ।
यसैगरि काम शुरु गर्दै छोड्दै जाँदा त्यसले पारिरहेको असरको जिम्मेवारी कसले लिनु पर्ने हो, गिट्टि, बालुवा यत्र, तत्र छाडिदा भईरहेको दुर्घटना, गर्मिको मौसममा दिनहुँ उडिरहेको धुलो, धुवाँबाट भईरहेको असरको व्यवस्थापनको जिम्मेवारी कसको हो, सो को जानकारी समेत मागिएको छ ।