नेपालगन्ज। बाँकेको नरैनापुरमा शिक्षा क्षेत्रमा अनियमितता र माफियाकरणविरोधी आन्दोलनका बिषयमा गाउँपालिकाको ध्यानाकर्षण भएको छ ।
विगत केही दिन यता सामाजिक सञ्जालमार्फत बन्द–हड्तालका सूचना फैलिन थालेपछि नरैनापुर गाउँपालिकाले बिज्ञप्ती जारी गर्दै औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छ ।
गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले बिहिबार जारी गरेको विज्ञप्तिमा बिना पूर्वसूचना, कानुनी प्रक्रिया र संवादबिना गरिएको हड्ताललाई अवैध, गैरजिम्मेवार र समाज विरोधी भन्दै कडा शब्दमा आलोचना गरेका छन् ।
विद्यालयका बालबालिकालाई पोशाकमै सडकमा उतारिएको दृश्यलाई अत्यन्त दुःखद बताएका छन्। यस्ता गतिविधिले बालअधिकारसँगै स्थानीय शिक्षा व्यवस्थापनलाई समेत गम्भीर रूपमा कमजोर बनाइरहेको अध्यक्षद्धारा हस्ताक्षरीत बिज्ञप्तीमा उल्लेख गरिएको छ । नरैनापुरलाई शान्त, श्रमशील र सद्भावपूर्ण समुदायको पहिचान रहेको उल्लेख गर्दै अध्यक्ष शाहले सेवाप्रवाह नै अवरुद्ध पार्ने गरी गतिविधि नगर्न सबैलाई अनुरोध गरेका छन्।
बन्द–हड्तालका कारण दैनिक ज्यालादारी मजदुर, विद्यार्थी, महिला, वृद्धवृद्धा र सर्वसाधारणको जनजीवन प्रभावित हुने उल्लेख गर्दै अध्यक्ष शाहले यस्ता गतिविधि तत्काल रोक्न सबै पक्षलाई आग्रह गरेका छन् ।













