नेपालगन्ज । नरैनापुर गाउँपालिकामा जारी आन्दोलनका बिषयमा आज सरोकारवाला पक्ष र आन्दोलनरत पक्ष बिच वार्ता हुने भएकोछ ।
नरैनापुर गाउँपालिकामा शिक्षा क्षेत्रमा अनियमितता, भ्रष्टाचार र लापरवाही भएको बिषयमा जारी आन्दोलनलाई निष्कर्षमा पुर्याउने उद्धेश्यले दुबै पक्षबिच वार्ताको सहमति भएको बताइएको छ ।
प्राप्त जानकारी अनुसार वार्ताको सहमति भएपछि शुक्रबारका लागि घोषणा गरिएको बन्द कार्यक्रम स्थगीत गरिएको छ । श्रोतले दिएको जानकारी अनुसार आज बिहान ९ बजे दुबै पक्ष बिच वार्ताको समय निर्धारण गरिएको छ । उक्त वार्तामा आन्दोलनरत पक्षका तर्फबाट मागहरु पेश हुने बताईएको छ । उक्त वार्तामा गाउँपालिकाका तर्फबाट प्रमुख प्रशासकिय अधिकृत, शिक्षा समिति संयोजक, सूचना अधिकारी सहितको टिम र आन्दोलनरत पक्षबाट कम्तिमा ५ जना रहने बताइएको छ ।

आजको वार्ता सफल भएमा आन्दोलन फिर्ता हुने र सफल नभएको खण्डमा थप आन्दोलनका कार्यक्रम घोषणा गरि अगाडी बढ्नेगरी तयारी गरिरहेको आन्दोलन पक्षका संयोजक बिनय दिक्षितले असल शासनलाई जानकारी गराए । नरैनापुर अन्तरगतका विद्यालयहरुमा स्थानीय पाठ्यक्रम लागू नहुनु, दिवा खाजामा अनियमितता भइरहेको, वाटर प्युरीफायर जडान भएर पनि सञ्चालनमा नआएको, डेस्क–बेन्च र खानेपानी अभाव रहेको, एसईई नतिजा कमजोर हुनु, विषयगत शिक्षकको कमी, अनुगमन नहुनु र शिक्षक नियुक्तिमा लेनदेन तथा विद्युत उपकरण विद्यालयमा नराखी शिक्षकको घरमा जडान गरिएको जस्ता आरोप सहित स्थानीय युवाहरुले आन्दोलन गरिरहेका छन् । पटक पटक शिक्षाको बिषयमा कुरा उठाउदा समेत गाउँपालिका शिक्षा शाखा मौन बसेको भन्दै बुधबार करिब आधा दिन नरैनापुरमा चक्काजाम र धर्ना गरिएको थियो भने बिहिवार नरैनापुर बन्दको घोषणा गरिएको भएपनि सार्वजनिक विदा परेकाले उक्त दिन कार्यक्रम स्थगित गरिएको थियो ।
यस बिषयमा बिहिबार गाउँपालिकाले एक बिज्ञप्ती जारी गर्दै औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको थियो । गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहद्धारा हस्ताक्षरीत विज्ञप्तिमा बिना पूर्वसूचना, कानुनी प्रक्रिया र संवादबिना गरिएको हड्ताललाई अवैध, गैरजिम्मेवार र समाज विरोधी भन्दै कडा शब्दमा आलोचना गरिएको थियो । उक्त बिज्ञप्तीमा गाउँपालिकाको सेवाप्रवाह नै अवरुद्ध पार्ने गरी गतिविधि नगर्न सबैलाई अनुरोध गरिएको थियो ।











