अबको राजनीति विकास, विवेक र जिम्मेवारी सहितको हुनुपर्छ 

पवनराज उपाध्याय

नेपालको राजनीति आज निर्णायक मोडमा उभिएको छ। दशकौँदेखि दोहोरिँदै आएका असफल अभ्यास, स्वार्थकेन्द्रित नेतृत्व र खोक्रा नाराले समाजलाई थकित बनाइसकेको छ। देशमा भइरहेका नकारात्मक गतिविधिहरूले सामाजिक परिवेश मात्र होइन, जनमानसको मानसिकता समेत प्रभावित बनाएको यथार्थ कसैबाट लुकेको छैन। यही पृष्ठभूमिमा अबको राजनीति कस्तो हुनुपर्छ भन्ने प्रश्न अत्यन्त गम्भीर बनेको छ।

अबको राजनीति पद, पहुँच र व्यक्तिगत लाभका लागि होइन, समाजको समग्र विकास र सही मार्गदर्शनका लागि हुनुपर्छ। राजनीति एउटा शक्ति हो, तर त्यो शक्ति दमनका लागि होइन,परिवर्तनका लागि प्रयोग हुनुपर्छ। सही हातमा परेको शक्ति नै समाजलाई अघि बढाउने माध्यम बन्न सक्छ, अन्यथा त्यही शक्ति विकासको बाधक पनि बन्न सक्छ।

समाज विकास कागजमा लेखिएझैँ वा मञ्चमा बोलेझैँ सरल हुँदैन। यसका लागि दीर्घकालीन सोच, कार्यप्रति प्रतिबद्धता, व्यावहारिक अनुभव र सम्बन्धित क्षेत्रको विज्ञता अपरिहार्य हुन्छ। तर विडम्बना के छ भने, हाम्रो राजनीतिमा यस्ता गुणभन्दा बढी देखावटी नैतिकता र क्षणिक लोकप्रियताको खोजी हावी हुँदै आएको छ। चुनावको समयमा मात्र नैतिकताको भाषण गर्ने, तर सत्तामा पुगेपछि जिम्मेवारी बिर्सिने प्रवृत्तिले समाजको विकासलाई गतिहीन बनाएको छ।

अब समय आएको छ।जनताले सचेत निर्णय गर्ने। वडा, गाउँपालिका, जिल्ला, प्रदेश हुँदै केन्द्रीय तहसम्म हुने सबै निर्वाचनमा मतदाताले नाम, नारा र दलभन्दा माथि उठेर क्षमता, अनुभव र कार्यदक्षतालाई आधार बनाउनुपर्छ। कुनै न कुनै क्षेत्रमा काम गरेर आफूलाई प्रमाणित गरेका व्यक्तित्वलाई नेतृत्वमा पुर्‍याउनु आजको आवश्यकता हो।

विगतमा भएका सकारात्मक कार्यहरूको सम्मान गर्दै, वर्तमानका कमजोरीहरू सच्याउँदै र भविष्यका सम्भावनाहरूलाई संस्थागत गर्दै अघि बढ्नु नै जिम्मेवार राजनीतिको परिचायक हो। सामाजिक मर्म, जनभावना र राष्ट्रिय हितलाई केन्द्रमा राखेर नीति निर्माण र कार्यान्वयन गर्न सक्ने नेतृत्व बिना समृद्ध समाजको कल्पना सम्भव छैन।

राजनीतिमा अब परिवर्तन आवश्यक छ,भाषणमा होइन, व्यवहारमा। स्वार्थको राजनीतिबाट सेवाको राजनीतितर्फ उन्मुख हुनु नै आजको ऐतिहासिक आवश्यकता हो।

  • ८ पुष २०८२, सोमबार प्रकाशित

  • Nabintech