ऐतिहासिक, धार्मिक स्थल सन्तानेश्वर

असल शासन प्रतिनिधि

बाँके जिल्ला राप्ती पारी पूर्वउत्तरको एउटा मनमोहक पहाडमा अवस्थित मन्दिर हो– सन्तानेश्वर महादेव । मुख्य मार्गबाट किरब ७ किमि उत्तरतिर जंगलको बिचमा रहको मन्दिरको यतिबेला देशविदेशमा चर्चा चलिरहेको छ । त्रिशूलको आकारमा रहेको भब्य पहाडी श्रृंखलाको बिच पहाडको टुप्पोमा अवस्थित सन्तानेश्वर महादेव मन्दिरमा दिनहुँ श्रद्धालुहरुको आवागमन भइरहेको हुन्छ । प्राचिन समयदेखि रहेको उक्त धार्मिक स्थलको खोज भने आजभन्दा १५० वर्ष अगाडि एकजना त्यहीँका स्थानीय साधु यादवले गरेको बताइन्छ ।

जंगलमा काठ–दाउरा गर्न जाने क्रममा उनले उक्त स्थान देखेको यादवका सन्ततीहरु बताउँंछन् । जंगलको बिचमा रहेको पहाडको टुप्पोमा उनले एउटा प्राचिन हवनकुण्ड देखेका थिए । त्यो देख्दासाथ उनको मनमस्तिष्कमा रोमाञ्च भएको साधुलाई सुन्नेहरु बताउँछन् । यो कुनै शक्तिशाली स्थान हो भन्ने जानेर मन्नतमा विश्वास गर्ने साधु यादवले त्यहाँ भाकल गरे । आफ्नो मन्नत अनुसार भएमा यो ठाउँमा गाउँ समाजलाई बोलाएर भण्डारा गराउने कामना साधु यादवले गरे ।

कालान्तरमा जीर्ण भइसकेको उक्त हवनकुण्ड वरिपरी मान्छेहरु बस्ने ठाउँपनि पर्याप्त थिएन । भूस्खलन भएर हवनकुण्ड मात्र बाँकी थियो, अप्ठ्यारो पहाडको टुप्पोमा । स्थान शक्तिशाली भएकोले होला, केही महिनाकै अन्तरालमा साधु यादवको कामना पुरा भयो । उनले भाकल गरे अनुरुप गाउँबाट आफ्नो सखा–सम्बन्धि एवं इष्टमित्र सहित त्यहाँ गई पहिलोचोटी भौंरी (आगोमा पोलेको पिठोको डल्लो) र खीरको भण्डारा गराए । हवनकुण्ड भएको ठाउँमा पहिलो झण्डा (पताका) गाडियो । हवनकुण्ड भएकाले होला यसलाई धार्मिक स्थलको रुपमा त्यहाँ गएकाहरुले वेदीहवा नामाकरण गरे । मधेषमा वेदीहवा भनियो वेदी भनेको हवनकुण्ड हो ।

यसका साथै साधु यादवले आफुले अब प्रत्येक वर्ष यहाँ आई झण्डा (पताका) लगाई भौंरी र खीरको भण्डारा लगाउने भाकल गरे । आफु उपरान्त पनि आफ्ना पछाडिका सन्ततीहरुले यो परम्परा चलाईराख्ने भाकल उनले ’वेदीहवा’ मा गरेका थिए जुन उनका सन्ततीहरुले आजसम्म पनि जारी राखेका छन् ।

“दादा जी तो नाईं हैं, लेकिन हमलोग हर साल सन्तानेश्वर (वेदीहवा) में भौंरी–खीर के भण्डारा लगावा जाथै । खाली हमलोग नाही पुरे गाउँके लोग और तो और इंडिया से भी आइके लोग यिहाँ पूजा करथैं । (बाजे त हुनुहुन्न तर हामी हर साल सन्तानेश्वरमा भौंरी–खीर को भण्डारा गराउँछौं । हामी मात्र होइन पुरै गाउँका मान्छे अरु त अरु भारतबाट आएर पनि मान्छेहरु यहाँ पूजा गर्छन् ।) साधु यादवको नाती पर्नेले भने, “जबसे पहाडी वावा आए हैं, यी जगाह मे तो चार चाँद लग्गवा है, पहले गाउँके और इंडिया के कुछ लोगको खाली इस जगाह के विषयमे मालुम राहा अब तो दूर–दूर देशविदेश से लोग आए लागे । हर दिन भक्तों के भीँड रहथै उहाँ । (जबबाट पहाडी वावा आउनुभयो, यो ठाउँमा चार चाँद लागेको छ, पहिला गाउँका र भारतका केही मान्छेलाई मात्र यो ठाउँको विषयमा थाहा थियो अब त टाढा–टाढा देशविदेशबाट मान्छेहरु आउन लागे । प्रत्येक दिन श्रद्धालुहरुको भीँड रहन्छ त्यहाँ ।)

समय वित्दै गयो, साधुको परिवारले त परम्परा अनुसार वेदीहवाको सेवा गरि नै रहेका थिए, अरु उनी वरपर रहेका गाउँ समाजले पनि वेदीहवामा झण्डा गाड्ने, पूजा गर्ने, मन्नत माग्ने, भण्डारा लगाउने लगायतका धार्मिक अनुष्ठानहरु गर्ने शिलशिला चल्दै गयो । स्थानको विषयमा गाउँघरमा चर्चा परिचर्चा हुन थाल्यो ।

वेदीहवामा क्रमशः धार्मिक आस्था राख्ने मान्छेहरुको आवागमन बढ्न थाल्यो । साधु यादवको परिवार पनि एकबाट धेरैमा फेलिसकेको थियो । अलग–अलग बसेपनि प्रत्येक वर्ष आफ्नो–आफ्नो तरिकाले उक्त स्थानमा झण्डा (पताका) गाड्दै भण्डारा दिने परम्परा भने उनिहरुले जारी नै राखे, जुन आजपनि चलिरहेको छ । हिन्दूहरुमा पताका लगाउनु प्रमुख मानिन्छ । जो वेदीहवामा गए, झण्डा (पताका) लगाए, जुन अल्को टाढैबाट देखिने गरी राखिएको हुन्छ । जसको सम्पर्कले आस्थावान मानिसहरुमा सकारात्मक उर्जाको सञ्चार गर्न सकोस् । समय वित्दै गयो, श्रद्धालुहरुपनि बढ्दै गए अनि वेदीहवामा भयो– झण्डैझण्डा ।

ठाउँको नामै झण्डाहवा रहन गयो, हामीले त्यो मन्दिर नबनाउँदासम्म यहीँ तलबाट झण्डाको थुप्रो देखिन्थ्यो । ८ किमि टाढा रहेको आफ्नो घरबाट पहाडको टुप्पोमा खडा रहेको सन्तानेश्वरलाई देखाउँदै स्थानीय अग्रज भवानी पण्डित भन्छन्, त्यहाँ जाँदा वेदी भित्र बाहिर जताततै झण्डैझण्डा थियो, पहाड तलबाट खस्किएर टुप्पोमा रहेको वेदी पनि एकातिरबाट भत्किसकेको संरक्षण गर्न नमिल्ने अवस्थामा पुगिसकेको थियो ।

शक्तिशाली स्थान, उर्जाले भरिपूर्ण वेदीहवा माथिबाट हेर्दा तलको फाँट, डाँडाकाँडा, जंगल अनि अर्धचन्द्राकार भएर सन्तानेश्वर महादेव (वेदीहवा)लाई परिक्रमा गरेकी राप्ती नदी अत्यन्त सुन्दर र मनमोहक देखिन्छ । भवानीसँगैका अर्का अग्रज चन्द्रबहादुर खड्का भन्छन्– “त्यहाँ पुग्न उकालो चढ्दा केही गाह्रो भएपनि, पुगिसकेपछि भने जिन्दगी भरी कै थकाई मेटिए जस्तो लाग्यो । ठाउँ उर्जायुक्त र आनन्ददायी भएको बताउँदै उनले भने, “त्यहाँ पुगेर तलको दृश्य नियाल्दा, वाह ! क्या आनन्द ! सोंच मै फरक पर्ने, सब विचार सकारात्मक ।

त्यहाँ पुग्दा ’वेदीहवा’बाट ’झण्डाहवा’ भइसकेको उक्त स्थानको संरक्षक कोही नहुनु, मनलाग्दो जथाभावी झण्डा गाडिनु्, वेदी पनि लगभग नष्ट भइसकेको अवस्था, आफुहरुले केही गर्नु पर्याे भन्ने एउटै सोंच एकैपटक दुवैमा आएको सम्झन्छन् भवानी बाजे । खड्काले भने, “हामीलाई मन्दिर बनाउनु पर्याे भनेर भगवानले नै सुझाएका हुन्, नभए त्यो पानी पनि बोकेर एक घण्टाको उकालो चढाउनु पर्ने ठाउँमा एकाएक दुवैको मनमा मन्दिर बनाउने कुरा कसरी आयो ! खड्काको कुरामा जोड दिंदै भवानी पण्डितले भने, “मनमा अभाव–प्रभाव केही आएन, यतीमाथी ईंटाढुंगा कसरी पुर्याउने, मन्दिर निर्माणमा लाग्ने पानीको जोहो कसरी गर्ने सब तपशिल भए । हामी बस उक्त पावन स्थलमा मन्दिर बनाउनु छ भन्ने कुरामा दृढ संकल्पित भयौं ।

बाँके जिल्लाको राप्ती नदी पारीको त्यो क्षेत्र परापूर्व समयदेखि नै धार्मिक स्थलको रुपमा परिचित छ । राप्तीसोनारी र नरैनापुर गाउँपालिकाले ओगटेको यस क्षेत्रमा ठुला–साना गरेर दर्जनौं मन्दिरहरु रहेका छन् । चर्चित सन्तानेश्वर महादेव, गोवद्र्धन पर्वत, बर्फानी वावा र भुँवरभवानी एकअर्काे ठाउँबाट देखिने गरी पहाडको डाँडा डाँडामा रहेका छन् । केबुलकारबाट एकअर्कालाई जोड्ने हो भने पुरै क्षेत्र गज्जबको पर्यटकीय क्षेत्र बन्न सक्ने त्यहाँ पुगेकाहरुको राय छ ।

विगतमा पूर्विय सभ्यता अनुसार अनुसन्धानकर्ता वैज्ञानिक भनेको साधु (साधक) हरु नै भएको जानकारहरु बताउँछन् । यस्तै साधकहरुले उर्जावान र एकान्त स्थानहरुको खोजी गर्दै जानेक्रममा यी मन्दिरहरु बन्दै गएका हुन् । यस विषयमा जानकार, पूजा पुरोहितीलाई नै जिविकोपार्जनको पेशा बनाएका भवानी पण्डित भन्छन्, एउटा आफु बस्ने घर बनाउँदा त हामी अनेक चरणका पूजा गर्ने, वास्तु मिलाउने, ज्योतिष हेर्ने गर्छाैं भने मन्दिर बनाउँदा कति गर्नुपर्ला ! मन्दिरमा आस्ठा अनुरुप एउटा प्रतिमा राख्नुपर्ने र सो प्रतिमामा साधुले नै प्राण भर्नुपर्ने नियम भएको उल्लेख गर्दै उनले भने, “महादेवको कृपाले प्राणप्रतिष्ठा गर्ने साधु र मन्दिरको नाम पनि मेरो मनमा अभिर्भाव भैगयो !

त्यसै क्षेत्रमा एकजना साधु (साधक) रहन्थे । साधुको आगमन कहाँदेखि र कहिले भयो जान्न नपाएका भवानी पण्डितको बुबाले उक्त साधुलाई पुज्दै आएका थिए । भवानीले प्रतिमाको प्राण प्रतिष्ठाको लागी उनै साधुलाई रोजे । साधुलाई वेदीहवाको महातम्य सर्वविदितै थियो । अज्ञातवासको समयमा पाण्डवहरु यही बाटो भएर यात्रा गर्दा उक्त वेदी निर्माण गरेको कथन वावा जीको छ । वर्षाैं पहिले वेदीहवामा पुग्दा कैयौं अलौकिक अदृश्य शक्तिहरुको दर्शन आफुले पाएको उनको दावी छ ।

९० वर्षका अग्ला गोरा, आकर्षक जटा भएको वावा जीको निधारमा भित्रैबाट उज्यालो त्रिपुण्डको तेज देखिन्छ । वालव्रह्मचारी रहेका वावा जीले आफ्नो २८ वर्षको उमेरमा घर छोडेर सन्यास लिएको बताउँछन् । आफ्नो तपस्याको समय घोर जंगलमा बाघ, भालु लगायत जंगली जनावरहरुसँग विताएको स्मरण गर्दै उनि भन्छन्, “बाबु ! १२ वर्ष त मैले रुखको हाँगामा सुतेर बिताएँ, कोल्टे फेर्दा उठेर हाँगामा बस्ने अनि फेरी अर्काे कोल्टे फेरेर सुत्ने गर्नुपथ्र्याे ।“ आजसम्म सुगम स्थानमा सुतेको अवस्थामा पनि कोल्टे फेर्दा उठेर बस्ने कोल्टे फेरेर अनि फेरी सुत्ने गरेको उनले बताए ।

नम्र स्वभाव एवं सहयोगी भावना भएका वावा जी वेदशास्त्रका ज्ञाता छन् । ब्राह्मण कूल नेपालमा जन्मिएका वावा जीले आफु जिज्ञासु भएकै कारण सन्यास लिएको बताउँछन् । श्री श्री १०८ श्री योगानन्द दिव्यदर्शी गिरी नाम गरेका साधु महाराजलाई नेपाल–इंडियाको त्यस क्षेत्रमा पहाडी वावाको नामले चिन्दछन् । उनले पञ्च दशनाम जूना अखाडाबाट सन्यास लिएका हुन् ।

इंडिया र नेपालका दर्जनौं स्थानमा मन्दिर आश्रम निर्माण गरिसकेका योगानन्द महाराजले अब आफ्नो समाधिस्थल सन्तानेश्वरलाई नै रोजेका छन् । उनि भन्छन्, – इंडियामा धेरै समय बिताएँ, नेपालमा जन्मेर मातृभूमीको लागि केही उल्लेख्य गर्नु छ, अब आफ्नो बाँकी जीवन यही डाँडामा बिताउँछु, मेरो समाधी पनि यहीँ बन्छ । राष्ट्रप्रेमले ओतप्रोत योगानन्द महाराज अहिलेका राष्ट्रसेवक हुँ भन्ने सबै पार्टीका नेताहरुसँग रुष्ट छन् । “राजनीति भनेको सेवाभावमा आधारित रहेर गर्नुपर्ने कुरा हो, यिनले (नेताहरुले) पेशाको रुपमा लिएका छन् । राजनीतिलाई कमाएर खाने भाँडो बनाएका छन् । हल्का दुःखी मुद्रामा उनले भने, “यो लयमा हिडिरहने हो र विचारको शुद्धिकरणको विषयमा ध्यान नदिने हो भने देशको भविष्य अन्धकार तिर उन्मूख छ ।

२०७० फागुनमा शिवरात्रीको पावन अवसर पारेर गाउँ समाजको सल्लाह र सहयोगमा त्रिशूलको भव्य आकारमा रहेको पहाडी श्रृंखलाको बिच टुप्पोमा पहाडलाई अलिकती खारेर त्यहाँ मन्दिर बनाए भवानी बाजे र खड्का लगायतले । श्री श्री १०८ श्री योगानन्द दिव्यदर्शी गिरी ’पहाडी वावा’ ले मन्दिरको प्रतिमा स्वरुप शिवलिंगको प्राण प्रतिष्ठा गरी सन्तानेश्वर महादेव नामाकरण गरियो ।

वेदीहवा, झण्डाहवा हुँदै अहिले सन्तानेश्वर भएको उक्त स्थानमा दैनिक सयौंको संख्यामा भक्तजनहरुको आवागमन हुने गरेको छ । शिवरात्री, तीज, श्रावणको महिना लगायत विशेष दिनहरुमा त दर्शनार्थीहरुको संख्या हजारौं पुग्ने गरेको छ । सन्तानेश्वरमा शनिबार र छुट्टीको दिनहरु पारेर धर्ममा आस्था नराख्ने तर प्राकृतिक सौन्दर्यको लुप्त उठाउनेहरु पनि उत्तिकै पुग्ने गरेका छन् ।

  • ९ पुष २०८२, मंगलवार प्रकाशित

  • Nabintech