नरैनापुरको परम्परागत मेला सांस्कृतिक मेलमिलापको अद्वितीय संगम

हेमराज भट्ट

नेपालगन्ज। नरैनापुर गाउँपालिका वडा नम्बर २ मा अवस्थित सूफी सन्त हजरत खलिफा नुर अहमद शाहको पवित्र समाधि स्थलमा शनिबार रातिबाट सामाजिक सद्भाव सहितको परम्परागत धार्मिक मेला सुरु भएको छ।
मेलाको शुरुवातसँगै माघको चिसो रात, धुप अगरबत्तीको सुगन्ध, र प्रार्थनामा झुकेका सयौँ शिर, नरैनापुर फेरि एकपटक आस्थाको उज्यालोले झिलिमिली बनेको छ।

१५१ वर्ष देखि निरन्तर सञ्चालन हुदै आएको उक्त मेला बर्षेनी झनै बढ्दै गएकोछ। जहाँ धर्मका नाममा दूरी छैन, बरु आत्मीयता छ, उक्त मेलामा हिन्दु र मुस्लिम श्रद्धालुहरू एउटै प्रार्थनामा हात उठाउँछन्, एउटै आस्थामा टाउको निहुराउँछ मानवता नै यहाँको साझा धर्म बनेको छ। नेपाल र भारतका विभिन्न ठाउँबाट आएका श्रद्धालुहरूको भीडले समाधि क्षेत्र यतिबेला आस्था र आशा केन्द्र बनेको स्थानीयहरुले बताएका छन् ।
मेलाको उद्घाटन गर्दै नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले नरैनापुर क्षेत्रलाई धार्मिक पर्यटनको नयाँ गन्तव्यका रूपमा विकास गर्न यस्ता परम्परागत मेलाहरु महत्वपूर्ण हुने बताए । उनले भने मेला केवल धार्मिक अनुष्ठान होइन, सामाजिक एकताको उज्यालो सन्देश पनि हो । मेलाको उद्घाटनमा बोल्दै नरैनापुर गाउँपालिकाका सहायक प्रशासकीय अधिकृत भरत महतोले वर्षेनी बढ्दै गएको श्रद्धालुको उपस्थितिले मेलाको महत्त्व थप बढाएको बताए । वडा नम्बर २ का अध्यक्ष मसुद अहमद शाहले मेला अध्यात्मिक श्रद्धा र सांस्कृतिक मेलमिलापको अद्वितीय संगम बनेको बताए ।


मेला ब्यवस्थापन समिति संयोजक गुफरान अहमद शाहले सात दिनसम्म चल्ने मेलामा रातिको धार्मिक प्रवचन, फातिहा, नियाज तथा विभिन्न आध्यात्मिक अनुष्ठानहरू हुने जानकारी दिएका छन्। रात बढेसँगै समाधि परिसर प्रार्थना, कव्वाली र मौन भावनाले भरिने उनको भनाई थियो ।
नेपालगञ्जदेखि करिब ४७ किलोमिटर पूर्वमा रहेको उक्त स्थानमा हरेक वर्ष हजारौँ ब्यक्तिहरु आशा, विश्वास र शान्तिको कामना सहित पुग्ने गरेको बताइएको छ । मेलाको उद्घाटन समारोहमा लुम्बिनी प्रदेश सरकारकी निवर्तमान प्रदेश सभा सदस्य कृष्ण केसी (नमुना), वडा नं. १ का वडाध्यक्ष इसाक जोलाह, नरैनापुरका प्रेस सल्लाहकार आलम खान, स्वास्थ्यकर्मीहरू लगायतको उपस्थिति रहेको थियो । धर्मका नाममा विभाजन होइन, सम्बन्ध र सम्मानको सेतु को रुपमा विशित हुदै आएको उक्त मेलालाई धार्मिक सहिष्णुताको उदाहरणको रुपमा लिने गरीन्छ ।

  • १९ माघ २०८२, आईतवार प्रकाशित

  • Nabintech