नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ९ बाँके गाउँस्थित सरस्वती टोल स्थायी घर भएका पुराना कलाकार श्यामानन्द सिंह ठकुरी (वर्तमान) यस क्षेत्रकै परिचित नाम हो । कलाकार राष्ट्रका सम्पत्ति हुन् तर हालसम्म गुमनाम जस्तै रहेका सिंहको जीवन चित्रकला, हस्तकला, सडक नाटक र संगीतकलामा समर्पित छ । सम्मान भन्दा बेसी कर्ममा विश्वास गर्ने सिंहलाई कलाकारिताको नशा यति बेहिसाब छ कि उनले आफ्नो दुई तले घरलाई नै कला संग्रहालय नामाकरण गरेका छन् । उमेरले ६० कटिसकेका श्यामानन्दलाई वयोवृद्ध उमेरमा समेत एक सेकेण्ड फुर्सद छैन । कलाकार सबैका साझा हुनुपर्छ भन्ने सर्वमान्य परिभाषाको गतिलो उदाहरण बन्न सफल उनलाई सबै कलाप्रतिको प्रेम उत्तिकै छ । पावर र पहुँचले चर्चामा ल्याउने समाजमा व्यवसायिक रूपमा कलाकारितामा लागेका सिंहको योगदान अनुसारको न त चर्चा नै छ न सम्मान नै पाउन सकेका छन् । घरको बैठक कक्षदेखि सबै कोठाहरू पेन्टिङ र मूर्तिले असरल्ल भरिएका छन् । घरको भुइँतलाको पहिलो कोठा बैठक कोठा छ जहाँ उनका केही पेन्टिङ सजाएर राखिएको छ भने त्यसकोे ठीक अगाडिको एउटा कोठा पेन्टिङ कोठाको रूपमा छ जसमा उनी दिनको अधिकांश समय पेन्टिङ र चित्र बनाउनमा नै व्यस्त रहन्छन् । घरको पहिलो तलामा चार ओटा कोठाहरू छन् जुन पेन्टिङ र मूर्तिले भरिभराउ छन् । उनले अहिलेसम्म पेन्टिङबाहेक २ हजार बढी चित्र तयार गरिसकेका छन् भने देशका विभिन्न जिल्लामा गई सयौंको संख्यामा नाटकमा अभिनय गरिसकेका छन् ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ५ मा बुवा स्व. विष्णु दत्त सिंह र आमा लक्ष्मी देवी सिंहको न्यानो कोखबाट वि.सं. २०१२ साल असार २१ गते उनको जन्म भएको थियो । कमजोर पारिवारिक आर्थिक अवस्था भएका कारण सिंहको बाल्यकाल सामान्य बित्यो । बाल्यकालदेखि नै केही गरौं भन्ने चन्चल स्वभावका उनलाई नयाँ नयाँ कुराको सिर्जना गर्न र पढ्न औधी रुचि थियो । बाल्यकालको सम्झना स्मरण गर्दै उनी भन्छन्,‘ म कक्षा ५ मा पढ्दै गर्दा मलाई खेतमा पानी निकाल्ने पम्प बनाउन मन लाग्यो । मसँग सामान थिएन जुत्ता पोलिस गर्ने खाली डिब्बा भेटाएपछि त्यसको पम्प बनाएको थिए ।’ कक्षामा सधै उत्कृष्ट उनले कक्षा ५ मा प्रथम स्थान हासिल गरेका थिए ।
कलाकार सिंहका बुवा भारतीय पुलिसका जागिरे थिए । बुवाको भारतमा जागिर भएपछि उनको बाल्यकालको केही समय भारतका विभिन्न स्थानमा बित्यो । कक्षा ८ मा पढ्दा उनले कला नामक विषय लिएका थिए । उक्त विषयमा उनले कागजको क्राफ्ट तयार गर्ने र हस्त कलाको प्रयोग सिकाइन्थ्यो जसमा उनले अन्य विद्यार्थीको तुलनामा राम्रो गर्ने गर्दथे । उसो त उनी बाल्यकालमा यति चन्चले थिएकी जे सोच्थे त्यो पूरा गरेरै छाड्थे । बाल्यकालमा गरेका कार्यहरू सम्झिँदै उनी भन्छन्,‘साइकलको बिग्रिएको ट्युबबाट गुलेली तयार गर्ने, बल्छी तयार गरी तलाउमा माछा मार्र्नेे, बासकोतिर बनाएर खेल्नेलगायतका कार्यहरू गर्दथें ।’ खेलकुदमा समेत उत्तिकै लगाव भएका सिंहलाई फुटबल र कबड्डी मन पर्छ ।
केही वर्ष भारतको बसाइँपछि उनको परिवार नेपालगन्ज फर्कियो तबसम्म उनले माध्यमिक तहको अध्ययन पूरा गरिसकेको थिए । उच्च शिक्षा अध्ययन गर्ने तीव्र चाहना भएका उनी इन्टरको अध्ययनका लागि भारतको नानपारास्थित सआदत इन्टर कलेजमा भर्ना भए । नानपारामा अध्ययनको क्रममा उनको भेट बहराइचका प्रसिद्ध बाँसुरी बादक श्री पण्डित केदार नाथ (दद्दु महाराज) सँग भयो । महाराजसँगको सामीप्यताले उनमा बाँसुरी प्रतिको मोह बढायो । एकपटक नेपालगन्जको प्रसिद्ध शक्ति पिठ बागेश्वरी मन्दिरमा बाँसुरी बादनको कार्यक्रम आयोजना भएको थियो जसमा उनले पनि सहभागिता जनाउने अवसर पाए तबदेखि उनको जीवनको एक अभिन्न अंग बाँसुरी बन्न पुग्यो । अहिले पनि उनले निकै राम्रो बाँसुरी बजाउने गर्दछन् ।
उच्च शिक्षा अध्ययन गर्दै गर्दा उनको परिवारमा चरम आर्थिक संकट भयो उनले चाहना हुँदाहँुदै पनि पढाइलाई छाडेर जागिर गर्नुपर्ने अवस्था आयो । उनी नेपालगन्जमा केही महिना जागिरको लागि भौँतारी रहे कहीँकतै भेटिएन । अन्ततः उनले नेपालगन्जको हनुमान गढी मन्दिरमा नागा बाबा श्री शंकर गिरीको चेलाको रूपमा काम गर्ने अवसर पाए । झण्डै ६ महिना मन्दिरमा काम गरेका उनले तत्कालीन समयमा मलेरियाबाट पीडितहरूका लागि काम गर्ने एउटा संस्थामा खोलेको कर्मचारी विज्ञापनमा आवेदन दिए र छनौट पनि भए । उनले त्यहाँ काम गर्दा जिल्लाका विभिन्न स्थानमा गई मलेरिया पीडितका लागि काम गर्नु पर्दथ्यो । केही समयपछि उनको नेपालगन्जदेखि दाङ सरुवा भयो । पाएको जिम्मवारी निकै मेहेनतका साथ पूरा गर्ने सिंहले दाङ गएको छोटो समयमा नै उत्कृष्टता हासिल गरे । उनले त्यहाँ काम गर्दै गर्दा उनको बाल्यकालदेखिको रहर बाँसुरीलाई निरन्तरता दिए । बिना झन्झट काम गर्ने शैली र कलाकारितामा समेत अब्बल भएरै होला उनको दाङकै एकजना आचार्यकी छोरीसँग प्रेम सम्बन्ध बस्न गयो । उनले त्यो अवसरलाई गुमाएनन् र प्रेम सम्बन्ध भएको केही समय पछि भगाएर विवाह गरे । उनले विवाह गरेको केही समयपछि उनको जागिरको अवधि सकियो र श्रीमतिसहित नेपालगन्ज घर फर्किए । नेपालगन्ज आएपछि उनले नापतौल कार्यालय, जनस्वास्थ्य, कोष तथा लेखा नियन्त्रण कार्यालय, नेपाल राजकोष प्रज्ञा प्रतिष्ठानलगायतका कार्यालयमा काम गरे ।
पारिवारिक आर्थिक समस्याका कारण जागिर गरेको भए पनि उनको मन भने कलाकारितामा लाग्न उत्प्रेरित गरिरहन्थ्यो । वि.सं. २०४४ सालमा भेरी अञ्चलको आयोजनामा भएको क्षेत्रीय स्तरीय चित्रकला प्रदर्शनीमा सहभागिता जनाएर आफ्नो कलाकारितालाई बाहिर ल्याए । उनको उद्देश्य कलाकारिता नै थियो तर जीविकोपार्जनका लागि जागिर पनि सँगसँगै गर्नु पर्ने बाध्यता थियो । वि.सं. २०४३ मा नेपाल टेलिकममा मुखिया पदमा खुला प्रतियोगिताबाट जागिरे जीवन सुरु गरेका उनले त्यसको केही समयपछि टेक्निसियन खरिदार पदका लागि अपरेटरको ७ महिने तालिम लिन काठमाण्डौ बबरमहल तालिम केन्द्र गए । उनको जीवनको युटर्न बनेको त्यो सात महिने अवधिले जीवनको दिशा निर्देश गरेको उनी बताउँछन् । तालिमको समयमा उनलाई चरम आर्थिक संकट पैदा भयो उक्त संकट टार्न उनी बागबजारस्थित एउटा पेन्टिङ पसलमा काम गर्न थाले । एक दिनको कुरा हो उनी काम सकेर फर्किंदै थिए पैदल हिँड्दै गर्दा उनको एउटा जुत्ताको तलुवा निस्क्यो । उनी के गर्ने कसो गर्ने अप्ठेरोमा परे उनले यताउता हेरी कोही पनि जुत्ता सिलाउने पसल नभेटेपछि उनले एउटा उपाय निकाले एउटा खुट्टामा हिँड्ने उनले त्यसै गरे उनी सडकमा एक खुट्टाले हिँड्दा सडकमा ओहोर दोहोर गर्ने र उनलाई देख्नेले उनलाई हेरी रहन्थे । उनी भन्छन्,‘ मैले त्यसरी हिँडिरहँदा कतिपयले विचरा अपाङ व्यक्ति रहेछ एक्लै हिँड्दै छ भनेको सुने । पछि जुत्ता सिलाएपछि तालिम केन्द्रसम्म पुगें ।’ उनी थप्छन्,‘ त्यो घट्ना मेरा लागि जीवनकै अविस्मरणीय र प्रेरणादायी भयो । मैले उक्त घट्नाबाट आफूसँग हौसला छ भने जस्तोसुकै समस्याको पनि सामना गर्न सकिन्छ भन्ने पाठ सिकें ।’ उनलाई त्यो घट्नाले नाटक पनि त गर्न सकिन्छ भन्ने भावनाको विकास भयो र उनलाई कलाकारितासँगै अभिनयतिर रुचि जागेर आयो ।
उनले सात महिने तालिम सफलतापूर्वक सम्पन्न गरी नेपालगन्ज फर्किए । वि.सं. २०४६ सालमा नेपालगन्जमा तत्कालीन राजा वीरेन्द्रको सवारी हुने भयो । त्यसको लागि सम्पूर्ण सजावटको जिम्मा उनले गर्नु पर्ने थियो । कलामा राम्रो रुचि भएका कारण कार्यालयले उक्त सजावटको जिम्मेवारी सिंहलाई नै सुम्पियो जसलाई उनले बखुबी पूरा गरे । त्यस पछिका दिनमा श्यामानन्द सिंह कर्मचारी भन्दा पनि कलाकारको रूपमा स्थापित हुँदै गए । उनी एकपछि अर्को कला प्रदर्शनीमा सहभागिता जनाउँदै गए । वि.सं. २०५० सालमा नेपाल ललित कला संस्थाले ७९औं विपी जयन्तीको अवसरमा उनको एकल चित्र कला प्रतियोगिता प्रदर्शनी गरेर नगद रु १ हजार, प्रतीक चिन्ह र प्रमाणपत्र प्रदान गर्यो ।
प्रशंसा र सम्मानले उत्प्रेरणा थप्छ भनेझै उनलाई सफल कलाकार बनाउन उनको आत्मविश्वास नै कारक बन्यो । उनले सुरुवातमा विद्यालयको कक्षा कोठा, पढ्ने क्याम्पसलगायतका साधारण चित्रहरू कोर्ने गर्दथे । यसका अलावा विभिन्न चित्रकारहरूलाई गहिरिएर हेर्ने र मानसपटलमा उतार्ने काम गर्दथे जसले उनलाई नयाँ सिर्जनाहरू पलाउथे । उनी भन्छन्,‘ मैले नेपालगन्जका वरिष्ठ चित्रकार आशाराम मौर्य, स्व. बिक्रम शर्मालगायत वरिष्ठ चित्रकारका कला हेर्थे र मलाई त्यसले नै प्रेरणा दियो ।’
कलाकार सिंहलाई नेपाली, हिन्दी, अवधि भाषाको राम्रो ज्ञान भएका कारण उनले सबै धर्मका ऐतिहासिक महत्वको कला पेन्टिङ गर्ने र मूर्ति तयार गर्ने काम गरे । बहुकलाले निपूर्ण सिंह हस्तकला, चित्रकला, अभिनय, बाध्यवादनसँगै गीतकार समेत हुन् । उनले अवधि भाषामा अवतो खिड्की होङगी बन्द नामक ५ ओटा गीतको एल्बम ल्याई सकेका छन् भने श्यामानन्दकी कविताए अवधि भाषमा र वर्तमान दर्पण नेपाली भाषामा कृति प्रकाशन गरिसकेका छन् । उनले लेखेका कविता र गीत स्थानीय पत्रपत्रिकाहरूले महत्वका साथ प्रकाशन गर्दै आएका छन् । उनले आफ्नै पटकथा र निर्देशनमा अभागन बनै सुहागन नामक टेलिसिरियल समेत निर्माण गरिसकेका छन् ।
वि.सं. २०७० सालमा ५८ वर्षे जागिरे जीवनबाट अवकाश लिएपछि उनी झनै व्यस्त भएका छन् । दिनरात आफ्नो कलाकारितामा नै समर्पण गरिरहेका सिंह प्रेस स्वतन्त्रता सेनानी स्व. पन्नालाल गुप्ता, बरिष्ट हिन्दी साहित्यकार सच्चीदानन्द चौवे, बिष्णु कुमाललाई आफ्नो प्रेरणाको श्रोत बताउँछन् । हालसम्म कलाकारिता प्रदर्शन गरेबापत उनले दर्जनौंको संख्यामा सम्मान तथा पुरस्कार प्राप्त गरिसकेका छन् । उनले प्राप्त गरेका सम्मानमा वि.सं. २०३६ सालमा दाङमा रेखा चित्र बनाएबापत नगद १ हजार सहित सम्मान, २०५० सालमा नेपाल ललित कला संस्थाबाट नगदसहित सम्मान, २०६१ मा महाविर प्रसाद गुप्ता हिन्दी साहित्य पुरस्कार, २०७५ सालमा लोकनाथ वर्मा स्मृति पुरस्कार, २०७२ मा नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानद्वारा विशेष पुरस्कार, २०७२ मा नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्ययनद्वारा ५१ हजार नगद सहित क्षेत्रीय पुरस्कार, २०७७ मा प्रेम प्रकाश मल्ल (मधुकर) स्मृति पुरस्कार नगद पच्चीस हजार एक सय एघारसहित सम्मानलगायतका ५३ भन्दा बढी सम्मान तथा पुरस्कार प्राप्त गरेका छन् । यस्तै उनले २०७७ मा दङ्गी शरण बलिहाङ्ग पदक (ख) द्वारा सम्मानित, २०७२ मा कला संस्कृति संरक्षणबापत नेपालगन्ज उपमहानगरपालिकाको २४औं नगर परिषद्मा सम्मान, २०७३ मा अवध ज्वति रजत जयन्ती सम्मान लगायत नेपाल तथा भारतका विभिन्न सम्मानहरू प्राप्त गरेका छन् । अहिले पनि उनले बाध्य बादन तर्फ बाँसुरी, ढोलक, हारमोनियममा राम्रो दक्षता रहेको छ भने स्टेज र सडक नाटक मञ्चन गर्दै आएका छन् ।
यस क्षेत्रकै कलाकारिताका धरोहर सिंह मध्यपश्चिम साहित्य संस्कृति कला प्रतिष्ठानको सदस्य, नेपाल ललित कला (नाफा) बाँके, एमनेष्टी इन्टरनेशनल शाखा बाँके, अवधि संस्कृति शाखा बाँकेको सदस्य छन् । आफ्नै लगानीमा संग्रहालय सञ्चालनमा ल्याएका सिंहको संग्रहालयमा आम नागरिक तथा विद्यार्थीहरू आएर अवलोकन गरिदिएमा उनलाई निकै प्रशन्नता हुन्छ । उनी भन्छन्,‘मैले रात दिन चित्र तथा पेन्टिङ गरेर घर नै भरिसकेको छु । यो हेर्ने मान्छे आएमा मलाई सन्तुष्टि मिल्छ ।’ संग्रहालयमा अवलोकनका लागि आउनेहरूलाई उनी आफै एकएक चित्र तथा पेन्टिङ देखाउँछन् भने त्यसको उद्देश्यसमेत ब्रिफिङ्ग गर्न भ्याउँछन् । अधिकांश समय कला मै खर्चिएका सिंहलाई सो कार्य गर्न परिवारको प्रत्यक्ष सहयोग नभए पनि परिवारबाट उनको काममा कुनै पनि किसिमको अवरोध छैन उनलाई आवश्यक भएको बेला परिवारले चिया खानाको व्यवस्था गर्ने गरेको भन्दै उनी खुसी छन् ।
प्राचीन सभ्यताको झल्को दिनुका साथै इतिहासलाई समेत नयाँ पुस्ता माझ राख्न उनको संग्रहालयमा रहेका चित्र र पेन्टिङ महत्वपूर्ण छन् । धार्मिक, सामाजिक र पारम्परिक संस्कृति अन्तर्गत रामलीला, दशहरा चित्रण, रक्षाबन्धन चित्रण, भैइया इज, करवा चौथ, दिपावली, बरात, मेलाm लढिया, नागपञ्चमी उनको कलामा देख्न सकिन्छ । उनलाई रेखा चित्र, पानी आर्ट, मोडर्न आर्ट, आयल पेन्टिङ, नाइस पेन्टिङ, पोट्रेट पेन्टिङ, लैण्ड स्केप पेन्टिङ, क्राफ्ट पेन्टिङमा उनको राम्रो दक्षता रहेको छ । उनको कलामा मधुबनी, बरली, मैथली, अवधि आदि सभ्याताको चित्रण पाउन सकिन्छ । उनले ऐतिहासिक र पौराणिक स्थलहरूको यथार्थ चित्रण आफ्नो पेन्टिङमा गरेका छन् । उनले तयार पारेको नेपालगन्जको पुरानो त्रिभुवन चौक लगायतका चौकहरू, नेपालगन्ज रूपैडिहा चल्ने टाँगा, ठेलागाडाहरू, रेल, पूर्व राजाहरूको तस्बिर, धार्मिक मठ मन्दिर, गुम्बा, चर्च तथा मस्जिद, भन्सार नाका, नेपालकै पर्यटकीय सम्पदा झल्काउने खालका पेन्टिङहरू अवलोकन गर्नेहरूको रुचिमा पर्ने गर्दछन् । उनको कलाकारिताको अर्को रोचक कुरा उनले प्रयोग गरेर फालिएका बस्तुहरूको प्रयोग आफ्नो कलामा गर्दै आएका छन् । प्लाष्टिक तथा सिसाका बोटल, बिर्काहरू, कागज, प्लाष्टिक, काठ, कार्टुनहरूको संकलन गरी बनाउँदै आएका छन् । प्रयोग नभई फालिएका त्यस्ता सामाग्रीहरूको प्रयोग गरी उनले सजावटसँगै आर्थिक समेत उपार्जन गर्ने गरेका छन् । हाल उनले तयार गरेका चित्र तथा पेन्टिङहरू १ हजार देखि ४० हजार सम्ममा बिक्री भइरहेका छन् । हाल उनको घरमै आएर पेन्टिङको अर्डर दिनेहरूको संख्या दिनानुदिन बढ्दो छ जसले उनलाई थप हौसला थपेको छ । उनी भन्छन्,‘ अर्डर पूरा गर्न मै म व्यस्त छु ।’ कला संग्रहालय सरकारको समेत प्राथमिकतामा पर्न नसकेको अवस्थामा उनी एक्लैले करिब २५ सय कलाकृति (चित्रकला र हस्तकला) को निशुल्क कला संग्रहालय स्थापनाले सरकारलाई गिज्याइ रहेको छ । उनी भन्छन्,‘मेरो कलाको पहिलो चरण अभावमा बित्यो, दोश्रो चरण लगन र सहनशीलतामा बित्यो र तेश्रो चरण लगातार मेहेनत, समपर्ण र अटुट संकल्पमा बितिरहेको छ ।’
हरेक व्यक्तिको जीवनको धोको हुन्छ यति धेरै गरिसक्दा समेत उनलाई सधैँ एउटै कुराले घोचिरहन्छ त्यो हो साझा कला संग्राहालय सञ्चालन गर्नु । सरकारले कला र कलाकारको सम्मान मा कत्तिको सहयोग गरेको छ भन्ने प्रश्न गर्दा उनी आवेग पोख्दै भन्छन्,‘ केही पनि गरेको छैन । मैले मेरो घर भाडामा दिन्थे भने महिनाको ३० हजार पाउथे तर मैले आफूले कला संग्रहालयमा लगानी गरेको छु जसले मलाई आफ्नो स्तरबाट त सन्तुष्ट बनाएको छ । तर यो गर्ने काम सरकारको हो ।’ उनको त्यो मलिन अनुहारले भनिरहेको थियो म लोप भएको कलाको जर्गेना गर्छु तर व्यवस्थित दिगो कला संग्रहालय सञ्चालन गरियोस् ।
अन्तमा उनी एउटै कुरा भन्छन्,‘कहीँकतै संग्रहालय सञ्चालनको कुरा सुनिरहेको छु म जीवित हुँदै त्यो हेर्ने धोको छ स्थानीय सरकारले पूरा गरिदिओस् ।’