कोरोनाको दोस्रो लहर नेपालमा भित्रिएको केही समयमै नेपालगन्ज देशकै सबैभन्दा हटस्पट क्षेत्र बन्यो । कोरोनाले केहि समय नेपालगन्जलाई हल्लाईदियो । मानिसहरुको जीवनमा कोरोना आतंकले कालो बादल मडारिन थाल्यो । कतिपय मानिसलाई नेपालगन्ज छोडेर अन्त्यै सुरक्षित ठाउँ जाने भागदौड पनि नचलेको हैन । तर त्यति गाह्रो अवस्थामा पनि कोभिड-१९ महामारीबिरुद्ध नेपालगन्ज फलामे किल्ला बनेर लडिरह्यो । जसको नेतृत्व नेपालगन्जका प्रशासक, नेपालगन्ज उप-माहनगरपालिका, स्वास्थ्य क्षेत्रको खम्बा भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज र व्यवस्थापन समितिलगायत सम्पूर्ण स्वास्थ्यकर्मीले आ-आफ्नो क्षेत्रबाट महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । नेपालगन्जमा कोभिड-१९ को आधिबेहरी आउँदा म पनि त्यसबाट टाढा रहन सकिनँ । त्यसैले मेरा केही अनुभूति यस लेख मार्फत व्यक्त गर्न चाहन्छु ।
नयाँ वर्ष २०७८ साल हर्षोल्लासका साथ प्रवेश गर्यो । अगाडिको वर्षमा कोरोनाका कारण मानिसहरुको जीवन संकटग्रस्त भैरहेको थियो । उद्योग, व्यापार, बिद्यालय लगायतका क्षेत्रमा क्षति पुर्यायो । कोरोनाबाट बच्नको लागि गरिएको लकडाउनबाट मानिसहरु पीडित थिए । त्यसकारण २०७८ सालमा त्यस्तो नआओस् भन्ने कामना गरेका थियौं । तर विडम्बना भनौ वैशाख महिनाको पहिलो हप्तामा नै कोरोनाको दोस्रो लहर नेपालमा आएको स्वास्थ्य मन्त्रालयले पुष्टि गर्यो । सो क्रममै नेपालगन्जमा जब कोरोनाका बिरामीहरु बढ्न थाले त्यसपछि बैशाख १० गतेदेखि जिल्ला प्रशासन कार्यालय बाँकेले लकडाउन गर्ने निर्णय गर्यो । त्यतिबेला यति धेरै बिरामीले बैशाख ११ गतेदेखि जेठ ११ गतेसम्म अस्पतालमा बेड तथा अक्सिजन नपाउनेसम्मको महामारी आईपुग्यो । मलाई पनि बैशाख १२ गतेदेखि हातखुट्टा दुख्ने, शरीरमा थकावट लाग्ने समस्या देखा पर्यो । पीडा अलि धेरै भईरहेको अनुभूति भयो, डर पनि लाग्यो । त्यस पश्चात १४ गते भेरी अस्पतालमा गई पिसिआर टेष्ट गरे र १६ गते पोजेटिभ भनि रिपोर्ट आयो । घरमै होम आईसोलेसनमा बसियो र घरेलु उपचार नै अपनाइयो । त्यतिबेलासम्म मलाई निकै असजिलो भइसकेको थियो । घरमा स्वयम् आफैले ज्वरो, अक्सिजन चेक गरिरहन्थे । १७ गतेको दिन अक्सिजनको लेभल ८८-८० सम्म गयो । अक्सिजनको सिलिण्डर मिलिरहेको थिएन । भेरी अस्पतालमा गएर भर्ना हुनको लागि भेड पनि थिएन । झनै मेरो जीवन जोखिमपूर्ण बन्दै गयो तर भेरी अस्पतालका डाक्टर राजन पाण्डे सरसँग फोन सम्पर्कबाट सल्लाह लिई औषधिहरुको प्रयोग गरिरहेको थिएँ । तर अक्सिजनको कमिले अप्ठेरो परिरहेको थियो ।
मेरा आफन्तहरुको प्रयासले अक्सिजन सिलिण्डर प्राप्त गरे । उक्त अक्सिजन प्राप्त भए पश्चात् अक्सिजनको मात्रा ठीक हुँदै गएको थियो । सर्वप्रथम डा.राजन पाण्डे सरलाई उच्च सम्मान प्रकट गर्दछु । जसले पिसिआर रिपोर्ट पोजेटिभ आएदेखि निरन्तर फोन सम्पर्कबाट सल्लाह सुझाव दिईराख्नु भयो । सो समयमा राजन पाण्डे सर पनि कोरोना संक्रमित हुनु भएको रहेछ तर पनि जतिबेला फोन गर्दा नि रिसिभ गर्ने र आवश्यक सल्लाह दिईरहनु भयो । मेरो स्वास्थ्यमा पनि सुधार आउँदै गयो । त्यसकारण डा.राजन पाण्डे सरबाट आज पूर्ण जीवन प्राप्त गरेको छु । त्यस्तै अक्सिजन नपाईरहेको र अस्पतालमा बेड नभएको अवस्थामा निकै मेहतन गरेर अक्सिजन उपलब्ध गराउने मेरा परिवारका सदस्यहरु प्रति पनि उच्च सम्मान गर्न चाहन्छु । यही समयमा अक्सिजन व्यवस्थापन नभएको भए म बाँच्ने कुनै सम्भावना थिएन । अक्सिजन उपलब्ध गराई पूर्ण जीवन दिने मेरा परिवारका सदस्यहरु प्रति आभार व्यक्त गर्न चाहन्छु । विभिन्न माध्यमबाट हौसला प्रदान गर्नु हुने आफन्तजन, छरछिमेकीहरु, राजनीतिज्ञ तथा कार्यकर्ताहरु, उद्योगी तथा व्यापारी साथीभाइ, वडा प्रहरी कार्यालय नेपालगन्जका भाइहरुलगायत सबैमा हार्दिक अभिवादन तथा धन्यबाद प्रकट गर्दछु । विशेष गरी मेरा प्यारा छिमेकीहरु जसले म कोभिड संक्रमित भएँदेखि हेरबिचार गर्ने आलोपालो गरेर खाना तथा औषधिहरु ल्याईदिने काम गर्नुभयो, भने मुस्लिमहरुको रमजान पर्व चलिरहेको थियो मेरो बिरामी छिट्टै सन्चो होस् भनेर मुस्लिम धर्मावलम्बीहरुले अल्लाहसँग दुवा माग्नु भएको रहेछ । नेपालगन्जका मानिसहरु सबै मिलेर एक अर्काको समस्यालाई सहयोग र समाधान गर्दै फेरि पनि प्रेरणा र सद्भावको शहर नेपालगन्जवासी भनेर प्रमाण गर्न सफल भयो ।
मेरा छिमेकीहरुले जुन व्यवहार गर्नु भयो त्यसले नेपालगन्ज सद्भावको शहर र मानवीय भावना प्रकट भएको पाइयो । मेरा छिमेकीहरुलाई धन्यबाद दिन चाहन्छु । अब बाँकी प्राप्त भएको पूर्ण जीवन नेपालगन्ज र यहाँका बासिन्दाको सेवा गरेर बिताउने छु । बाँकी सबै मिलौ, कोभिड-१९ को चुनौतीको सामना गरौं । नेपालगन्जलगायत सम्पूर्ण मृतकप्रति हार्दिक श्रदाञ्जलि अर्पण गर्दछु । कोभिड १९ लाई जितेर विजय हाँसिल गर्नु भएका सम्पूर्ण कोरोना पीडित सबैलाई बधाई दिन चाहन्छु । हाल कोभिडसँग लडिईरहनु भएका बिरामीहरुलाई उच्च मनोबलका साथ शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।