नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ घसियारन टोल निवासी समरा केवटका पुर्खाले घाँस बेचेरै जीविका चलाए । समिराले पनि हिजोका दिनसम्म नेपालगन्जको महेन्द्र पार्क अगाडि घाँस बेचेरै जीविका चलाउँदै आएको भएता पनि अहिले आएर मुस्किल भएको छ । श्रीमानले मदिरा सेवन गर्ने र कुनै आम्दानी नगर्ने र आफूले कमाएको पैसाले नुन तेल समेत जोहो गर्न सकस भएको समरा बताउँछिन् । उनी र उनका बालबच्चा सबै घाँस काटेरै जीवन सहज बनाउँछन् । त्यसैले पढ्ने उमेरका बालबालिका पनि अभिभावकसँगै घाँस काटेर बिक्री गर्न बस्ने गर्छन । हिजोका दिनमा टांगा व्यवसाय हुँदा घाँस अत्यधिक बिक्री हुन्थ्यो । आम्दानी पनि राम्रो हुन्थ्यो । तर आजकल मानिसहरुले घोडा कम पाल्ने भएकाले यो व्यावसाय गर्ने समस्यामा पर्ने गरेका छन् । अहिले उनीहरुले काटेको घाँस बजारमा बाख्रा पाल्नेहरुले प्रतिमुठा १५ रुपैयाँदेखि २५ रुपैयाँसम्म किनेर लैजाने गर्छन ।
घाँस खोज्न पनि यो समुदायका व्यक्तिहरुलाई निकै गाह्रो छ । बजार छेउछाउ घाँस पाइँदैन । घाँस खोज्न गाउँतिर पुग्नु पर्छ । घाँस नखोजे बेलुका घरमा चुल्हो नबल्ने गरेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ घसियारन टोल निवासी अन्जली घसियारा बताउँछिन् । उनले सानै उमेरदेखि घाँस काट्नु पर्ने बाध्यताका कारण अध्ययन गर्न पाइनन् । अहिले उनको उमेर १९ वर्ष भयो । दुईवटा काखे बच्चा छन् । अब यी बच्चाहरुले पनि पढ्न पाउँदैनन् कि भन्ने चिन्ता अन्जलीलाई छ । पुर्खादेखि नै चलिआएको परम्परा भन्दै घसियारन टोलका ३५ घरधुरीले घाँस काटेर बिक्री गर्न छाडेका छैनन् । तर कोरोना भाइरसको महामारीपछि यो व्यवसाय गर्नेहरु झनै समस्यामा परेको अर्का स्थानीय सावित्री केवट बताउँछिन् । घाँसको लागि नर्सरीको व्यवस्था वडा कार्यालयले नगरेको हुनाले घाँस खोज्न राँझा एयरपोर्ट, जयसपुर र खजुरासम्म पुग्ने गरेको घसियाराहरु बताउँछन् । लकडाउनपछि नुन तेलको जोहो गर्न निकै अप्ठेरो परेको अर्का स्थानीय छोटन्ना केवटले बताइन् । उनले कुनै सीपमूलक व्यवसाय पाए गर्ने इच्छा भएता पनि अवसर नपाएको बताइन् । वडा नम्बर ८ घसियारन टोलको प्रतिनिधित्व गर्ने वडाअध्यक्ष सुरेन्द्र गुप्ता वैश्यले घसियारनका लागि घाँसमण्डी बनाएको र अन्य योजनाहरु कार्यान्वयनका लागि प्रयासरत रहेको बताए । उनले विभिन्न संघ संस्थासँग समन्वय गरी उनीहरुको जीवन सहज बनाउन पहल थालिरहेको बताए ।