संयुक्त राष्ट्र संघले सन् १९८५ लाई अन्तर्राष्ट्रिय युवा वर्ष मनाउने निर्णय गरे पश्चात युवाको सवाल जोडतोडका साथले उठ्न थालेको छ । १९९५ मा World program me of action for youth to the year 2000 and beyond (WPAY) दस्तावेज आउनुका साथै १९९८ को अगष्ट ८ देखि १२ सम्म पोर्चुगलको लिस्वन शहरमा सम्पन्न युवाका लागि जिम्मेवार मन्त्रीहरुको विश्व सम्मेलन, २०१४ मै अजरबैजानको बाकु शहरमा First Global Forum on Youth Policies Conference भएबाट युवाको सवाल बिश्वव्यापीकरण भएको मानिन्छ ।
संयुक्त राष्ट्रसंघको आयोजनामा सन २००१ देखि हरेक वर्ष १२ अगष्ट आजका दिन संसारभर अन्तराष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रमहरुका साथ मनाइँदै आइएको छ । व्यक्ति, परिवार, समुदाय, राष्ट्र अनि सिङ्गो विश्वकै विकासमा युवाहरूको भूमिकाको महत्वलाई दर्शाउन हरेक वर्ष संसारभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइन्छ । यो दिवसले अन्तर्राष्ट्रिय जगतलाई सकारात्मक दिशातर्फ लैजान युवा सहभागितालाई थप सक्रिय गर्ने नवप्रवर्तनात्मक उपाय तथा हुनसक्ने परिवर्तनलाई पनि उजागर गर्छ ।
राष्ट्रसंघले यस वर्षको अन्तराष्ट्रिय युवा दिवसको नारा Transforming Food Systems Youth Innovation for Human and Planetary Health युवाहरूको सीप र कौशललाई केन्द्रमा राख्दै यो वर्ष खाद्यान्न प्रणालीको रुपान्तरण र समग्र पृथ्वीको नै स्वास्थ्यलाई महत्व दिइएको छ । खाद्यान्न सुरक्षा र खाद्यान्न सार्वभौमिकतालाई यस वर्ष महत्व दिइएको छ । नेपालजस्तो कृषि–प्रधान देशमा कृषिको व्यवसायीकरण, कृषिमा युवाहरूको सहभागिता आदि कुराहरूलाई महत्वका साथ हेरिनुपर्ने स्पष्ट देखिन्छ ।
संयुक्त राष्ट्र संघ पुर्व महासचिव वान कि मूनले युवा दिवसको अवसरमा शुभकामना दिदै नेतृत्वबाट नयाँ र प्रभावकारी लक्ष्य राखेर दीर्घ विकास गर्ने सोच राख्दा युवाहरूको सहभागिता अन्य समयहरूभन्दा थप महत्वपूर्ण रहन्छ । यस ऐतिहासिक बिन्दुमा म ‘वान कि मूनको सम्बोधन’ संसारका युवाहरूसँगै नेपाली युवाहरूलाई बहुआयामिक विकासका निमित्त मागहरू राखेर आजको आवश्यक्तालाई सम्बोधन गरिदिन आग्रह गरेका छन् ।
दिगो विकासका लक्ष्य ४ ले निर्देश गरे वमोजिम युवाहरुको सहभागितामा शिक्षालाई वढी सान्दर्भिक एवं सबै युवाका लागि समतामूलक र समावेशी बनाएर शिक्षामा रुपान्तरण गर्ने लक्ष्य रहेको छ । यो दिवस मनाउनुको प्रमुख उद्देश्य युवाका सवालमा लगानी सहितको प्रतिवद्धतामा बृद्धि गर्नु, युवा सहभागिता र साझेदारीमा बृद्धि गर्नु र युवाहरुका बीच अन्तरसाँस्कृतिक समझदारीमा बृद्धि गर्नु भनिएको छ ।
संयुक्त राष्ट्र संघ र विश्व बैंकले १५ देखि २४ बर्षका लाई युवा मानेको छ तर जापानले ० देखि २४ बर्ष, चिनले १४ देखि २८ बर्ष, भारतले १५ देखि ३५ बर्ष र नेपालमा १५ देखि ४० बर्ष सम्मका लाई युवा मानिएको छ ।
२०६८ को जनगणनालाई आधार मान्दा, १६ देखि ४० वर्षका युवा समूह ४०.३५ प्रतिशत, १६ देखि ३५ वर्षका युवा समूह ३४.३६ प्रतिशत, १५ देखि २९ वर्षका युवा २७.८ प्रतिशत, १५ वर्ष मूनिको जनसंख्या हेर्दा झण्डै ३४.८ प्रतिशत रहेको छ ।
युवा शक्ति राष्ट्रको अमूल्य शक्ति हो । युवा राज्यको अनन्त स्रोत र परिवर्तनको वाहक शक्ति पनि हो । युवा आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक रूपान्तरणका अग्रदूत तथा परिवर्तनका संवाहक शक्ति हुन् । साहस, सिर्जनशीलता, सिक्ने क्षमता एवं उच्च आत्मविश्वासका कारण यो राष्ट्रको प्रमुख धरोहरको रूपमा रहेको हुन्छ जसलाई हरेक देश निर्माणको प्रमुख स्रोत समेत मानिन्छ । गुणात्मक र सङ्ख्यात्मक दुवै दृष्टिले युवा राष्ट्रको मेरूदण्ड भएकोले युवाको सर्वाङ्गीण विकास गरी उनीहरूको क्षमतालाई राष्ट्रिय विकासको मूलधारमा ल्याउनु जरूरी छ । युवामा राष्ट्र, राष्ट्रियता, समाजप्रति उत्तरदायी र नेतृत्वदायी भूमिका, युवाका आधारभूत आवश्यकताहरूको परिपूर्ति, समानता एवं समतामूलक वितरणको सिद्धान्त; संवैधानिक सर्वाेच्चता, वैयक्तिक स्वतन्त्रता, विश्वव्यापी मानवाधिकारको सिद्धान्त, लोकतान्त्रिक गणतन्त्रको मूल्यमान्यता, विश्वशान्ति, सह–अस्तित्व, जाति, भाषा, संस्कृति र वातावरणीय सम्पदाको संरक्षण र सम्वद्र्धन जस्ता आधारभूत मूल्यमान्यताहरूको प्रवद्र्धन गर्ने उद्धेश्यले नेपालमा राष्ट्रिय युवा नीति आउनु पर्ने माग चौतर्फिक रुपमा उठेपछि २०६६ सालमा नेपाल सरकारले राष्ट्रिय युवा नीति जारी गरेको थियो । यसले बिभिन्न महत्वाकाक्षि उद्धेश्यहरु राखेको छ तर कार्यान्वयन पक्ष कमजोर छ ।
राष्ट्र निर्माणको कार्र्यमा युवाहरुको सहभागिता खोज्ने, युवाहरुलाई उत्तरदायित्व र जवाफदेही बनाउने, युवाहरुलाई सिर्जनशील, उद्यमशील, नैतिकवान, सुसंस्कृत, सिर्जनशील तथा व्यावसायिक बनाउने लगाएतका बिभिन्न उद्धेश्यहरु राखि जारी गरिएको युवा नीति ५ बर्ष पश्चात २०७२ मा आएर संसोधन भयो तर नीतिलाई व्यवहारतः कार्यान्वयन गर्न नसकिरहेको अवस्था छ ।
युवा नीतिले राष्ट्र निर्माण एवं राष्ट्रिय विकासमा युवाको भूमिका र सम्भाव्यताको विकास र विस्तार गर्ने, उनीहरूमा रहेको अन्तर्निहित क्षमता उजागर गर्ने, श्रमप्रति सम्मान गर्ने संस्कृतिको विकास गर्दै युवाको शारीरिक, मानसिक, बौद्धिक, नैतिक तथा संवेगात्मक पक्षको समुचित विकास गरी उच्च मनोवलयुक्त, नैतिकवान, सुसंस्कृत, सिर्जनशील तथा व्यावसायिक रूपमा दक्ष युवा तयार गर्ने उद्धेश्य राखेकोछ । नीतिले युवाहरुको जीवनयापनका आधारभूत अधिकार स्थापित गर्नुका साथै शिक्षा स्वास्थ्य तथा परिवार कल्याण, सामाजिक सुरक्षा, रोजगारी, युवाको सशक्तिकरण तथा नेतृत्व विकास, सहभागिता तथा परिचालन, कला, संस्कृति, खेलकुद तथा मनोरञ्जन, लागू पदार्थ दुव्र्यसन नियन्त्रण, मानव तस्करी तथा मानव बेचबिखन नियन्त्रण, वातावरण संरक्षण र दिगो विकासमा युवा सहभागिता, विज्ञान तथा सूचना प्रविधिमा युवाको पहुँच, अपराध तथा हिंसामा संलग्नताबाट युवालाई मुक्त गर्ने, दिगो शान्ति स्थापना र द्वन्द्व समाधानमा युवा सहभागिता अभिबृद्धि गर्ने, समविकास, विशेष समूहगत प्राथमिकताहरू र साझेदारीलाई अघि बढाउने लक्ष्य लिएको छ ।
यसैगरी नेपाल सरकारले युथ भिजन २०२५ तयार गरेकोछ । युवा विकासको दुर दृष्टि तय गरी आगामी दश बर्षका लक्ष सूचक तय गर्ने, युवा नीति २०६६ ले निर्दिष्ठ गरेका नीति र कार्यनीतिहरुलाई कार्यन्वयनका लागि मार्गनिर्दश गर्ने, युवा क्षेत्रको विकासका मूल समस्या, चुनौति र सम्भावना पहिचान गरि तद्अनुरुप योजना तथा कार्यक्रम तय गर्ने, राष्ट्रिय र अन्तराष्ट्रिय विकास लक्षसँग एकाकार गर्दैं सबल, सक्षम, प्रतिष्पर्धि र आत्मनिर्भर युवा तयार गर्ने उद्धेश्यले भिजन २०२५ तयार गरिएको हो ।
नेपालको सँबिधानले हरेक नेपाली नागरिकलाई बिशेष अधिकार दिएकोछ । सामाजिक न्यायको हक बमोजिम सामाजिक रूपले पछाडि परेका बिभिन्न बर्ग सहित युवाहरुलाई समावेशी सिद्धान्तका आधारमा राज्यको निकायमा सहभागिताको हक हुनेछ भन्ने कुरा उल्लेख छ ।
यसैगरी स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा स्थानीय तहले युवा लक्षित ट्रेकिंग, बञ्जिजम्प, र्याफ्टिंग, बिभिन्न खेलकुद सञ्चालन गर्नुका साथै शिक्षामा युवाहरुको पहुँच स्थापित गराउनु पर्ने कुरा उल्लेख छ ।
ऐनमा युवाहरुका लागि स्थानीय पुस्तकालय, बाचनालय, अभिलेख केन्द्र, अतिरिक्त शैक्षिक क्रियाकलाप, आधारभुत स्वास्थ्य, सरसफाई, बेरोजगारहरुको तथ्याँक संकलन, रोजगार सूचना केन्द्रको स्थापना, बैदेशिक रोजगारबाट फर्केकाहरुको सामाजिक पुनएकिकरण, लागु पदार्थ बिरुद्ध बिशेष कार्यक्रम, लक्षित समूह उत्थान गतिविधिहरु सञ्चालन गर्नुपर्ने व्यवस्था छ भने वडा स्तरबाट सहभागितामूलक योजना तर्जुमा गर्नुपर्ने, सामाजिक सद्भावका लागि कार्य गर्ने, स्वयंसेवकको रुपमा परिचालन गर्ने, सामाजिक कुरिति बिरुद्ध कार्य गर्ने उल्लेख छ ।
ऐनमा युवाहरुका लागि प्रष्ट रुपमा अन्य बर्गहरुका लागि गर्ने कार्यहरु लेखिए जसरी नलेखेता पनि युवाहरुले हरेक अधिकारमा आफ्नो सहभागिता खोज्न सक्ने अवस्था छ । अर्काे तर्फ वडा स्तरबाट योजना तर्जुमा हुँदा युवामैत्री कार्यक्रमहरु सञ्चालनका लागि आवश्यक बातावरण तयार गर्न सकिन्छ । ऐनले स्थानीय तहलाई बिभिन्न योजना बनाएर लागु गर्न सक्ने अधिकार दिएको छ । यसरी योजना बनाउँदा लक्षित बर्गलाई प्रत्यक्ष फाईदा पूग्ने, स्वयंसेवक परिचालन गर्न सकिने, तत्काल परिणाम देखिने खालको हुनुपर्ने व्यवस्था छ । यसरी योजना तर्जुमा र कार्यान्वयन गर्दा युवालाई अनिवार्य समाबेश गर्नुपर्ने ऐनमा व्यवस्था गरिएकोछ ।
अतः नेपालको संबिधान, युवा नीति, युथ भिजन २०२५, स्थानीय सरकार सञ्चालन ऐनमा भएको व्यवस्था बमोजिम व्यवहारमा कार्यान्वयन गर्न जरुरी छ । युवा नीति, युथ भिजन आफैमा अव्वल छन् । यसमा भएको व्यवस्थालाई हृदहंगम गर्ने हो भने युवाहरुको समग्र बिकास हुनेमा दुई मत छैन । जसका लागि संघिय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले युवाहरुलाई प्राथमिकतामा राखि युवा मैत्री कार्यक्रमहरु सञ्चालन गर्न जरुरी छ भने बिभिन्न अन्तराष्ट्रिय, राष्ट्रिय गैससहरुले युवा लक्षित कार्यक्रमहरु सञ्चालन गर्न जरुरी छ ।
बिशेषतः युवाहरुको साझा थलोको रुपमा बिकास गर्दै युवाहरुको चौतर्फिक बिकासमा काम गर्ने उद्धेश्यले स्थापित राष्ट्रिय युवा परिषदको सक्रियता केही हद सम्म देखिएता पनि परिषदको मातहतमा रहेका जिल्ला युवा समितिहरु निष्क्रिय भईसकेको छन् । युवा परिषदको कार्यक्रम समेत अहिले स्थानीय तहमा गईसकेका छन् । हरेक स्थानीय तहले राष्ट्रिय युवा नीतिलाई आधार मानेर स्थानीय युवा नीति बनाई युुवाहरुका लागि यथेष्ठ बजेट बिनियोजन गरि युवा लक्षित कार्यक्रम सञ्चालन गर्न जरुरी छ । युवाहरु स्वयं जागरुक भई आफ्नो कर्तव्य पालना गर्न तर्फ अग्रसर हुनुपर्दछ ।
युवाहरुको व्यक्तित्व, क्षमता बिकास गर्दै उनीहरुलाई सिपयुक्त बनाउन, स्वरोजगार बनाई स्वदेशमैं बसेर कर्मशिल नागरिक बन्न उत्प्रेरणा प्रदान गर्नुपर्ने बेला आएकोछ । साराँशमा देशको समृद्धिका लागि सबै तह र तप्काबाट युवामा लगानी गर्नु पर्दछ ।
नेपाली गाउँहरूमा आजभोलि पहिलेजस्तो युवाहरूको उपस्थिती देखिदैन ! हाम्रा देशका युवाहरू गएका बैदेशिक रोजगारीमा जाने संख्या दिनहुँ बढ्दैछ । संसारले युवाको महत्व बुझेर ठूल्ठूला कार्यहरू, विकासका लहरहरू र उर्जायुक्त दिवसहरू आँट्दासम्म पनि नेपालले आफ्ना युवाशक्तिलाई देशभित्रैका विभिन्न सम्भावनायुक्त क्षेत्रहरूमा अझै अटाउन सकेको छैन ।
हाम्रा युवाहरू मुख्यतः खाडी, कोरिया, जापानका देशमा पसिना बगाइरहँदा यता गाउँमा मलामीसम्मको जनशक्ति हम्मे–हम्मे परेको समाचार विभिन्न सञ्चार माध्यमबाट आएकै हुन् ।
वैदेशिक रोजगारबाट आएका विप्रेषण ‘रेमिट्यान्स’को पैसाले सिमेन्टका सँग्ला घर, राम्रा लूगाफाटा, मीठा खाना अनि महँगा टिभी, मोबाइलहरू हात–हातमा देखिए तापनि यसरी सधैं लाहुरे नियतिले जीवन र देश चल्ला र ? सोच्ने बेला आएको छ ।
दिनहुँजसो बाकसमा बन्द भएर आउने नेपाली युवाका शवहरू अनि तिनमा आश्रित परिवारका आँसुको हिसाब–किताब आजको दिनमा सरकारसँग माग्ने बेला आएको छ । सबैको ध्यान जाओस् ।