युवा विकास केन्द्र (वाइडिसी) को आयोजनामा भएको दोश्रो बंगलादेश अध्ययन भ्रमणका लागि २४ सदस्सीय नेपाली टोली विमान बंगलादेशक एअरलाइन्सको विमानबाट काठमाडौंबाट पौष २५ गते बंगलादेशको ढाका प्रस्थान गरेको थियो ।
युवा विकास केन्द्रका अन्तर्राष्ट्रिय कार्यक्रम संयोजक अरुण खड्का नेतृत्वको टोली करिब सवा घण्टाको हवाई यात्रापछि बंगलादेशको ढाका पुग्यो, ढाकास्थित हजरत शहजलाल अन्तर्राष्ट्रिय विमानस्थलभित्रको केही औपचारिक प्रक्रिया पूरा गरेर हामी विमानस्थलबाट बाहिरियौं । विमानस्थल बाहिर युवा विकास केन्द्र बंगलादेशका संयोजक मो. आसिफलगायतको टोलीले हामीलाई आत्मीयताका साथ स्वागत गरेपछि हामी ४ वटा सानो गाडीहरुमा चढ्यौं ढाकादेखि करिब ६ सय किलो मिटर टाढा रहेको बंगलादेशको पर्यटकीय शहर कक्सेस बजार जानका लागि ।
स्थानीय तहमा कार्यरत जनप्रतिनिधि, गैससकर्मी, सहकारीकर्मी लगायतको सहभागिता रहेको हाम्रो टोली राती १० बजेतिर बंगलादेशको कुमिल्ला भन्ने ठाउँमा खानाका लागि रोकियौं । जहाँ कुमिल्ला विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुले भव्य स्वागत गर्नुका साथै हामीसँग अन्तक्र्रिया गरे । तत्पश्चात् रात भरको यात्रा जारी राख्दै पछिल्लो दिन पौष २६ गते हामी कक्सेस बजार स्थित योङ पावर इन सोसिएल एक्सन (एप्सा) को श्रोत केन्द्रमा पुग्यौं । केही बेरको विश्राम पछि पूर्व निर्धारित कार्यक्रम बमोजिम हामी उक्त संस्थाले सञ्चालन गरेको माइक्रो फाइनान्स कार्यक्रम क्षेत्रमा विभिन्न समूहमा विभाजित भएर गयौं । जहाँ कार्यक्रमका लाभान्वित महिलाहरुलाई भेटेर अन्तक्र्रिया ग¥यौं । संस्थाले सञ्चालन गरेको कार्यक्रमबाट आएको परिवर्तन, आर्थिक सशक्तिकरणका विषयमा जान्ने मौका मिल्यो । बंगलादेशको ग्रामीण बस्ती र नेपालको ग्रामीण बस्तीको गरिबी एउटै प्रकारको रहेको अनुभव हामीले ग¥यौं । महिलाहरुसँगको अन्तक्र्रिया पछि हाम्रो टोली कक्सेस बजारमा रहेको समुन्द्री तटहरु हेर्न करिब पुग्यो र अबेर बेलुकीसम्म कक्सेस बजार छेउमा रहेको समुन्द्रका छालहरु हेर्दै आनन्दित हुँदै बासस्थान तर्फ फक्र्याैं ।
पछिल्लो दिन पौष २७ गते बिहानै सेन्ट मार्टिन्स सामुन्द्रिक टापुमा जानका लागि यात्रा तय गर्यौं । करिब ३ घण्टाको गाडीको यात्रा र ३ घण्टा बढीको पानी जहाजको यात्रापछि हामी गन्तव्य स्थलमा पुग्यौं । पानी जहाजको यात्रा पनि अविष्मरणीय रह्यो । हामीहरु विभिन्न समूहमा विभाजित हुँदै विभिन्न कोठामा बसेका थियौं तर बीच, बीचमा हामी बाहिर निस्किँदै नेपाली गीतहरु गाउँदै, नाच्दै रमाउँथ्यौं । सबै आ–आफ्नै तालमा थिए, कोही टिकटिक बनाउँदै थिए कोही फोटो खिच्दै थिए । हामी रमाइलो गरिरहँदा एक महिला नराम्रोसँग रोएको, कराएको आवाज आयो, म र मसँगै रहेका एक जना साथी के रहेछ भनेर आवाज आएको तर्फ हेर्न गयौं, जुन कोठामा एकजना अधबैंशे पुरुष रिसले चुर हुँदै श्रीमतीलाई कुटिरहेका रहेछन्, हामी सबैले रमिता हे¥यौं, उनले श्रीमतीलाई कुटिरहे, आफ्नै देशमा भए त केही भनिन्थ्यो होला गरिन्थ्यो होला अर्काको देशमा हामी के नैं गर्न सक्थ्यौं र ? निरिह भएर हेर्न बाहेक । उक्त घटनाले मेरो मानसपटलमा नेपाली महिलाहरुले भोगिरहेका हिंसाको याद गरायो, हिंसा हाम्रो देशमा मात्रै रहेनछ, त्यता पनि रहेछ भन्ने कुराको प्रत्यक्षदर्शी आफू भइयो, अर्काे कुरा आफू माथि हिंसा र यातना हुँदा प्रतिकार नगर्ने महिलाको अवस्था जताततैको एउटै पाएँ मैले ।
हामीहरु गन्तव्यमा पुग्नु पूर्व समुन्द्रको तिरमा रहेको म्यानमारको भूभागको अवलोकन समेत गर्न पायौं । गन्तव्यमा पुगेपछि हामी सबै उक्त सुन्दर टापुको किनार जहाँ सामुन्द्रिक छालहरुले आआफ्नै तालमा छाल हानिरहेका थिए । तिनै छालहरुका चाल हेर्दै रमायौं, टोलायौं, पौडियौं हामी । करिब २ घण्टाको त्यहाँको बसाइपछि हामीहरु पुनः फर्किन पानी जहाज चढ्यौं । पानी जहाजको अविष्मरणीय यात्रा गर्दै हामी गाडी चढ्यौं । गाडीमा हामीसँगै रहेकी आठराई गाउँपालिका तेह्रथुमकी उपाध्यक्ष रुपा कन्दङ्गवा, अमरगढी नगरपालिका डढेलधुराकी उप–प्रमुख संगीता भण्डारीलगायतका साथीहरुको दोहोरी सुन्दै हामी बासस्थान कक्सेस बजार पुग्यौं । नेपालका गैरसरकारी संस्थाहरुलाई गैरनाफामूलक हुनुपर्दछ भन्ने कानुन छ तर बंगलादेशका सबै गैससहरु नाफामूलक हुने रहेछन्, जहाँ, जहाँ हामी पुग्यौं सबै गैससका कार्यालयहरुमा श्रोत केन्द्र रहेको पायौं । भान्छा, आवासदेखि तालिम केन्द्रसम्मको व्यवस्था सबै गैससहरुमा अनिवार्य जस्तै रहेछ त्यहाँ । कक्सेस बजारको दुई दिनको बसाइँमा एप्सा संस्थाका कर्मचारीहरुबाट प्राप्त न्यानो स्वागत, सत्कार अनुकरणीय रह्यो, वहाँप्रति अनुग्रहित हुँदै वहाँहरुको शिरमा नेपाली टोपी पहि¥याउँदै वहाँहरुबाट बिदाई भयौं र लाग्यौं बंगलादेशको अर्काे सुन्दर शहर चित्तगञ्ज (चट्गाउँ) को यात्रामा ।
पौष २८ गतेको बेलुकी पख गन्तव्यमा पुग्यौं होटेल एसिएसनमा आयोजित नेपालको युवा विकास केन्द्र र बंगलादेशको एप्सा संस्थाबीच भएको साझेदारी पत्र आदान, प्रदान कार्यक्रममा सहभागी भयौं, जहाँ एप्साका प्रमुख कार्यकारी मोहम्मद अरिफुर रहमानको उपस्थिति रहेको थियो । साझेदारी पत्र आदान, प्रदान हुनुका साथै सम्मान आदान, प्रदान, मायाको चिनो आदान, प्रदान सो अवसरमा भयो । नेपाली पोसाखमा उपस्थित सबै नेपाली टोलीका सदस्यहरुबाट उक्त कार्यक्रममा उपस्थित सबै बंगलादेशी नागरिकहरु प्रभावित भए । अझ नेपाली सांस्कृतिक पोसाकमा उपस्थित समावेशी मञ्च नेपालकी अध्यक्ष दिलु पुन, महिला उद्यमी प्रतिमाया पुन र शान्ति पुनको नेपाली नृत्यले सबैको मन प्रफुल्ल पारिदियो । यसरी महत्वपूर्ण कार्यक्रमका साथ बंगलादेश यात्राको चौथो दिन बित्यो ।
पाँचौं दिन पौष २९ गते चित्तगञ्जबाट हाम्रो टोली ढाकाका लागि प्रस्थान ग¥यो । बाटोमा रहेका मिसरिमाई नगरपालिकाले आयोजना गरेको स्थानीय सरकारका अभ्यासहरु आदान, प्रदान कार्यक्रममा सहभागी भइयो, त्यहाँको अभ्यासबारे जानकार हुने अवसर प्राप्त भयो । समावेशीता, लोकतान्त्रिक अभ्यासमा नेपाल भन्दापछि रहेको उक्त कार्यक्रम पश्चात् हामीलाई महसुस भयो । नगरपालिकाका मेयरलगायत उच्च अधिकारीहरुसँग भेट शिष्टाचारपूर्ण रह्यो । त्यसपछि मिसरमाई नगरपालिकामै एप्साले सञ्चालन गरेको सागर गिरी एफ.एम. रेडियोको अवलोकन गरियो । बंगलादेश गएको पाँचौं दिनसम्म सामुदायिक महिलाहरु बाहेकसँग हामीले अन्तक्र्रिया गर्न पाएका थिएनौं । एफएममा पुगेपछि एफएममा कार्यरत बुर्का ओढेका महिला सञ्चारकर्मीहरुसँग अन्तक्र्रिया ग¥यौं । एफएमले सञ्चालन गर्ने कार्यक्रमलगायतका विषयमा जानकारी लिँदै हामी त्यहाँबाट बिदाई भयौं ।
त्यसपछि मिसरिमाईमैं रहेको ओप्का नामक संस्थाले प्रवद्र्धन गरेको कालो मरिच खेतीको अवलोकन ग¥यौं, जुन बंगलादेशकै सफल पहिलो खेती थियो । उक्त खेती हेरेपछि ओप्काको कार्यालयमा भएको स्वागत ग्रहण गर्दै केही समय अन्तक्र्रिया गरियो । बहुआयमिक व्यक्तित्वको रुपमा परिचित ओप्काका कार्यकारी निर्देशक मोहमद आलम गिर पिएचएफलगायतको भेटघाट अर्थपूर्ण रह्यो ।
यी बाटोमा भएका विभिन्न कार्यक्रम र भेटघाटलाई समापन गर्दै हामी ढाकाका लागि हिँड्यौं । ढाकाका लागि यात्रा गरिरहँदा हामी कुमिल्लामा रहेको दोश्रो विश्व युद्ध हुँदाको व्यारेक जहाँ अहिले बंगलादेशी सेनाको ३३ इनफेन्टरी डिभिजन कुमिल्ला क्यान्टोलमेन्ट रहेको छ उक्त ऐतिहासिक, पुरातात्विक स्थानमा जाने अवसर प्राप्त भयो । उक्त क्यान्टोनमेण्टका प्रमुखकी छोरी युवा उद्यमी जाफ्रिनको निमन्त्रणामा हामी त्यहाँ गएका थियौं । युद्धकालीन अवस्थाको झल्को दिने विभिन्न स्मारक, स्तम्भ, ठाउँ, सुरुङको अवलोकन गर्दै त्यहाँ राखिएका विभिन्न सूचनाहरु हेरेर धेरै जानकारी प्राप्त गर्ने सुअवसर हामीलाई पायौं । आत्मीयतापूर्ण तवरले गरिएको स्वागत सहितको रात्रिकालीन मैत्रीपूर्ण भोजमा सरिक भएर राती अबेर हामी त्यहाँबाट ढाका पुग्यौं ।
छैटौं दिन पौष ३० गते बंगलादेशी युवा स्वयम्सेवकहरुले हामीलाई ढाका बजार घुमाए, उनीहरुको स्वयम्सेवाबाट हामी असाध्यै प्रभावित भयौं । बेलुकी पख बंगलादेशकी एक सफल सफ्टवेयर इन्जिनियरसँगको अन्तक्र्रियामा हामी सहभागी भयौं ।
बंगलादेश यात्राको अन्तिम दिन अर्थात सातौं दिन माघ १ गते नेपालीहरु नेपालमा माघी मनाइरहेका थिए । उक्त दिन हाम्रा लागि रोमाञ्चक र तनावपूर्ण रह्यो । बंगलादेश जानु पूर्व काठमाडौंमा हामी सबैले कोभिड परीक्षण गर्दा हामी सबैको प्रतिवेदन नेगेटिभ आएर हामीहरु बंगलादेश गएको थियौं । नेपाल फर्किदा पनि सोही प्रकारले कोभिड परीक्षणका लागि पिसिआर गर्नु अनिवार्य शर्त थियो । हामी सबैको नेपाल फर्किने टिकट माघ २ गते थियो । बिहान पिसिआरका लागि स्वाब दिएर हामी आआफ्नै तरिकाले बजार घुम्न निस्केका थियौं । बेलुकी ढाका विश्वविद्यालयका विद्यार्थीहरुले हाम्रो स्वागतार्थ कार्यक्रम आयोजना गरेका थिए । सोही कार्यक्रममा सहभागी हुन हामीहरु मध्ये केही विश्वविद्यालयकै गाडी चढ्यौं । गाडी चढेको आधा घण्टा बितिसक्दासमेत टिम लिडरसहितका साथीहरु आएनन्, अबेर हस्याँग, फस्याङ गर्दै आएका टिम लिडर अरुण खड्काले विश्वविद्यालयको कार्यक्रम स्थगित भएको जनाउँदै गाडीबाट ओर्लिन आग्रह गरे ।
कार्यक्रम किन स्थगित भयो भनेर जानकारी माग्न नपाउँदै उनले हामीहरु मध्ये केहीलाई कोभिड देखिएको बताउँदै आआफ्नो कोठामा गएर बस्न भने । सोही मुताविक होटेलतर्फ हामी लाग्यौं । कोठमा जानका लागि लिफ्ट चढिरहँदा मलगायत ७ जनाको रिपोर्ट पहिले आइसकेको बताए एकजना सहयात्रीले । मैले सोचे हामीलाई कोभिड देखाएछ क्यारे । हामी सबै आआफ्नो कोठा गयौं, कोठामा गएको आधा घण्टासम्म ककसलाई कोभिड देखिएको हो भन्ने सूचना प्राप्त भएन, त्यो आधा घण्टा पूर्णरुपमा हामी सबैका लागि तनावपूर्ण रह्यो । आधा घण्टा पछि हाम्रो ग्रुपको फेसबुक म्यासेन्जरमा म सहित ७ जनाको नाम आयो, फेरि मैले सोचे हामीलाई कोभिड देखायो तर त्यसैको तल टिम लिडर अरुणले लेखे । उल्लेखित ७ जना बाहेकलाई कोभिड देखियो, एक प्रकारले म खुसी त भएँ तर मेरो बंगलादेश यात्रा भरिका रुम पाटनर दिनेश भण्डारीसहित १६ जनालाई कोभिड भएको खवरले म लगायत हामी सबै दुःखी भयौं ।
यसरी म सहित ७ जना प्रतिमाया पुन, साहिँला तामाङ, सीता शर्मा मरासिनी, अनुप देवकोटा, शेखर भट्राई र हरिलाल शर्मा पछिल्लो दिन अर्थात आठौं दिन माघ २ गते नेपाल फर्कियौं । १६ जना साथीहरु केही दिन पछि गरिएको कोभिड परीक्षणमा नकारात्मक भएपछि नेपाल फर्किए ।
टोलीमा आयोजक बाहेक म लगायत प्रतिमाया पुन, साहिँला तामाङ, सीता शर्मा मरासिनी, अनुप देवकोटा, शेखर भट्राई, हरिलाल शर्मा, भुवन त्रिपाठी, चेतकला बेल्वासे अधिकारी, दिलु पुन, गोमा अवस्थि, हरि प्रसाद ढकाल, प्रकाश घिमिरे, रोमकान्त घिमिरे, रुपा देबि कन्दंगवा, संगिता भण्डारी, शान्ति पुन, शिव पोख्रेल, सूर्य कुमारी शाहीलगायत थियौं ।
यस अध्ययन भ्रमणका क्रममा उनीहरुको देश प्रतिको प्रेम उच्च पाइयो, सहयोग, सहकार्यका सन्दर्भमा उनीहरुबाट हामी नेपालीले धेरै सिक्न जरुरी छ । कतिपय पक्षहरु नेपाल, भारत र बंगलादेशमा समान रहेको आभास हामीलाई भयो । गरिबी, विकास निर्माण, ट्राफिक अस्तव्यस्तता, भौगलिक विविधता, बोलीचालीका केही शब्दावलीहरु हामी तीनै देशका मिल्दाजुल्दा छन् । नेपालको जस्तो पहाड, हिमाल बंगलादेशमा हामीले देखेनौं । हामी अलि जान्ने हुने बित्तिकै अरु भाषालाई प्राथमिकता दिन्छौं तर बंगालीहरु अंग्रेजी भाषा आए पनि आफ्नै भाषालाई बढी प्रयोग गर्ने गरेको हामीले पायौं, यो राष्ट्र प्रतिको प्रेम हो जस्तो लाग्दछ ।
त्यहाँको अर्थतन्त्र मजबुत छ, देश समृद्ध छ तर नागरिक गरिब छन्, नेपाल देश गरिब छ, जनता समृद्ध हुँदैछन् । बंगलादेशका हरेक सडकमा माग्नेहरुको संख्या अत्याधिक छ । धुम्रपानले विश्वलाई तहस, नहस बनाई रहेको सन्दर्भमा बंगलादेश धुम्रपानमा चुर्लुम्म छ, यत्रतत्र सर्बत्र धुम्रपानको प्रयोग निर्बाध छ तर मदिरा पूर्ण रुपमा निषेध छ । केही निश्चित स्थानहरुमा मात्र मदिरा पाइन्छ बंगलादेशमा । ट्राफिकको अस्तव्यस्तता हाम्रो देशको भन्दा बढी छ त्यहाँ । उक्त देश समुन्द्र, समुन्द्रका देश हो, त्यहीँ समुन्द्र बंगलादेशलाई समृद्ध बनाउने महत्वपूर्ण पक्ष हो । अर्काे तर्फ बंगलादेशबाट नेपालले सिक्नु पर्ने पक्ष भनेको देश बनाउने व्यक्ति प्रतिको सम्मान हो, हाम्रो देशमा कसैले कसैलाई मान्ने वाला छैन । तर बंगलादेशमा फादर अफ बंगलादेशको रुपमा मानिने शेष मुजिवुर रहमान र बंगलादेशकी प्रधानमन्त्री शेष हसिनालाई नमान्ने सायदै कोही होला । एक, अर्काको सम्मान गर्ने संस्कार हामीले बंगलादेशबाट सिक्ने कि ?