प्रशान्त कठायत / जेनिसा ओलि श्रवणदृष्टि बिहिन छात्रा हुन । नेपालगन्जको कारकाँदोस्थित श्री मा.बि. लग्दहवा श्रोत कक्षामा अध्ययनरत उनी सुन्न ,बोल्न मात्र होइन दृष्टि क्षमता गुम्दै गएकाले शारीरिक सन्तुलन मिलाएर राम्रोसँग हिडडुल गर्न समेत सक्दिनन् । श्रवणदृष्टि बिहिनताका कारण संचार, सिकाइ देखि दैनिक क्रियाकलापमा समेत अवरोध भोग्नुपरेको उनको अनुभव छ । उनी एक उदाहरण मात्र हुन् । उनकै जस्तो समस्या भएका श्रवणदृष्टि बिहिन बालबालिकाहरु देशभर छरिएर रहे तापनी सरकार र सरोकारवालाहरु भने अनभिज्ञ देखिन्छन ।
नेपाल सरकारले श्रवणदृष्टि बिहिन अपांगतालाई सुनाइ सम्बन्धि र दृष्टि सम्बन्धि दुबै अपांगता भएको वा दुईवटा इन्द्रिय सम्बन्धि अपांगताको संयुक्त अन्तक्रिया रहेको व्यक्ति भनी परिभाषित गरेको पाइन्छ । तर यस परिभाषाले श्रवणदृष्टि बिहिनताको समग्र पक्षलाई समेट्न सकेको छैन । यस परिभाषा अनुसार पुर्ण रूपमा बहिरा र पुर्ण रूपमा दृष्टिबिहिन व्यक्ति मात्रको बुझाइ रहेको पाइएको छ तैपनि श्रवणदृष्टि बिहिन व्यक्ति र बालबालिकामा सुन्ने वा दृष्टि क्षमता अलिअलि बचेको हुन सक्छ।
श्रवणदृष्टि बिहिन बालबालिकाले अरुसँग संचार गर्न र सिक्नका लागी अन्य इन्द्रिय जस्तै हात, पाखुरा ढाड आदि शरीरका विभिन्न भागमा स्पर्श गरेर, गन्ध लिएर साथसाथै आफुसित बचेको दृष्टि वा सुनाइ क्षमतालाई प्रयोग गर्न सक्छन । श्रवणदृष्टि बिहिनता संम्वेदनसिल अपांगता हो । यसले बालबिकास र सिकाइमा नकारात्मक प्रभाव पार्दछ ।
श्रवणदृष्टि बिहिन अपांगता भएका बालबालिकाले गम्भीरता र व्यक्तिगत भिन्नता अनुसार साँकेतिक भाषासंगै स्पर्श, ह्याप्टिक सिग्नल, ताडोमा, औंला हिज्जे ब्रेल, लिपरिडिङ आदि विभिन्न बिशेष बिधीबाट संचार गरि सिक्ने गर्दछन । स्पर्श संचार हातले गरिने संकेतलाई हातले नै छोएर सूचना आदानप्रदान गरिने तरिका हो भने ह्याप्टिक सिग्नल आवाज, साँकेतिक भाषा वा अन्य कुनै संचारका माध्यमको विकल्पमा हत्केला वा हातका औंलाहरुको प्रयोग गरेर ढाड वा काँधमा विभिन्न आकार वा संकेत बनाएर संक्षिप्त्तमा श्रवणदृष्टि बिहिनता भएका व्यक्तिलाई कुनै कुरा बुझाउन प्रयोग गरिने माध्यम हो । श्रवणदृष्टि बिहिन बालबालिकालाई सिकाउँदा अन्य सवाद सँगसँगै कक्षाकोठा वा वरपर के भैरहेको छ भनी ह्याप्टिक सिग्नलबाट सहजै वर्णन गर्न सकिन्छ । नेपालीमा विभिन्न ह्याप्टिक सिग्नलहरु श्रवणदृष्टि बिहिन संघ नेपालद्वारा संकलन तथा बिकास गरि शब्दकोष प्रकाशन गरिएको छ । यसलाई तालीम मार्फत सम्बन्धित बिद्यालय, शिक्षक, दोभासे, अभिभावक र सहयोगी सम्म पुर्याउन नेपाल सरकारले आवश्यक सहयोग र लगानी गरेमा श्रवणदृष्टि बिहिन बालबालिकालाई पनि अन्य अपांगता भएका बालबालिका सरह सिकाउन संभव छ ।
सामान्यतया बालबालिकाहरुले प्रायः अरुलाई हेरेर, बस्तुहरु अवलोकन गरेर आवाजहरु सुनेर वा क्रियाकलापहरु गरेर सिक्छन र उनीहरुले सिक्नका लागी आफ्नो परिवेशसँग अन्तक्रिर्या गर्न सुनाई र दृष्टि क्षमता प्रयोग गर्नुपर्ने हुन्छ । तर जब एउटै बालकमा सुनाइ र दृष्टि दुबैमा सम्झौता हुन्छ, संयुक्त प्रभावहरुले अवरोध सिर्जना गर्दछ, जसले महत्त्वपूर्ण मात्रामा सुचनालाई रोक्छ वा बिकृत पार्छ । श्रवणदृष्टि बिहिन बालबालिकामा यस्तो समस्या दीर्घरोग झैं जिवनकालभरी रहिरहने गर्छ । उनीहरुले आफुले देख्न र सुन्न नसकेको वा पत्ता लगाउन नसकेको कुरा सिक्न सक्दैनन् र छुटेका कुराहरूबारे अनजान हुन सक्छन् । यसैले श्रवणदृष्टि बिहिन बालबालिकालाई उपयुक्त हस्तक्षेप सहित सिक्ने व्यवस्था मिलाउनु पर्छ ।
अझ बिस्तारमा भन्नुपर्दा आँखा र कानले बालबालिकालाई भौतिक संसारसँग जोडिन अनि विभिन्न सिकाइ क्रियाकलापमा संलग्न हुन सघाइरहेको हुन्छ । श्रवणदृष्टि बिहिन बालबालिकामा यी दुई इन्द्रियको कार्यक्षमतामा सिमितता आउनाले उनीहरु आफू बसेको वातावरण अनुरुप अर्थपुर्ण संचार गर्न सक्दैनन् । जसले गर्दा उनीहरु सिक्ने प्रेरणा प्राप्त गर्नबाट बन्चित भैरहेका हुन्छन् । सूचना प्राप्त गर्न नसक्नाले श्रवणदृष्टि बिहिन बालबालिकालाई आफुले गर्ने क्रियाकलाप र सोको नतिजा र भविष्यमा हुन सक्ने प्रभावबारे बुझ्न कठिन हुन्छ ।त्यस्तै उनीहरुमा संसार र आफुबारे स्पष्ट अवधारणा बिकास नभएको हुन सक्छ । महत्त्वपूर्ण कुरा श्रवणदृष्टि बिहिनता जति गम्भीर हुँदै जान्छ त्यति नै बालबालिकाको सूचनामा पहुँच र सिक्ने संसार साँघुरिदै जाने हुनाले उपयुक्त हस्तक्षेप सहित सिकाउनु अघि गम्भीरता बुझ्नु महत्त्वपूर्ण हुन्छ ।
नेपालमा बनेका नीति नियम कार्यन्वयन हुन नसक्दा श्रवणदृष्टि बिहिन बालबालिकाहरु शिक्षाबाट बन्चित भैरहेका छ । कतिपय अभिभावक, शिक्षक, शिक्षाविद, सरकार तथा सरोकारवालाहरु पनि श्रवण दृष्टि बिहिन बालबालिकाहरुले सिक्न सक्छन् भन्ने कुरामा शंका गरेको देखिन्छ । हुन त उनीहरु डाक्टर हेलेन केलरले पढेर संसार हल्लाएको बारे चर्चा गर्न पछि पर्दैनन् तर बर्तमान समयमा आफ्नै परिवेशमा सुनाइ र दृष्टि क्षमता गुमाएका जेनिसा जस्ता श्रवणदृष्टि बिहिनलाई चिन्दैनन । उनीहरु केवल हेलेन केलर लाई चिन्छन । नेपालमा श्रवणदृष्टि बिहिन बालबालिकाका लागी पुनर्स्थापना सेवा सहितको छुट्टै बिद्यालय आवस्यक परेको भएतापनि स्थापना हुन सकेको छैन । अर्कातिर श्रवणदृष्टि बिहिन भएकै कारण साधारण मात्र नभई बहिरा वा दृष्टिबिहिन बिद्यार्थीका लागी संचालित कतिपय बिद्यालयमा समेत भर्ना नगर्ने वा गरेपनि पुर्ण रूपमा स्वीकार नगर्ने अवस्था छ ।
निष्कर्षमा भन्नुपर्दा श्रवणदृष्टि बिहिन अपांगताले सिर्जित अवरोधका कारण बाल बिकास र सिकाइमा नकारात्मक प्रभाव पार्छ । यसलाई बुझेर समयमै उपयुक्त हस्तक्षेप सहित सिक्ने अवसर प्रदान गर्न सकियो भने श्रवणदृष्टि बिहिन बालबालिकाले सिक्न सक्छन् । राज्यले श्रवणदृष्टि बिहिन बालबालिकाको शिक्षामा लगानी र बनेका नीति, नियम अक्षरस कार्यन्वयन गर्नु गराउनु आजको आवस्यकता हो ।
(नोट : लेखक श्रवणदृष्टि बिहिन संघ नेपालका महासचिव र श्रवणदृष्टिबिहिन छात्रावास तथा पुनर्स्थापना केन्द्र नेपालगन्जका व्यवस्थापन समिति अध्यक्ष हुन ।)