जनरल परभेज मुशरफ र महारथी रुक्माङ्गद कट्वाल आफ्नो समयका फुर्तिला, महत्वकांक्षी र टाठा सेनापतिको रुपमा चिनिन्छन्।
प्राय: सेनापति र जनरलहरु शान्त र अन्तर्मुखी हुन्छन् तर यी जनरलद्वय भने बोलक्कड र मुखर थिए । यी दुबै जनाको पृष्ठभूमि, स्वभाव र उदय-पतनको कथा एउटैएउटै खाले देखिन्छ।
दुबै एउटै कालखण्डका जनरल हुन्। मुशरफ पाकिस्तानमा सन् १९९८ देखि २००९ सम्म सेनाप्रमुख र राष्ट्रप्रमुख रहे।
कट्वाल नेपालमा सन् २००६ देखि २००९ सम्म सेनाप्रमुख रहे।
बाहिरबाट हेर्दा यी दुबै जना आँटिला, केही गरौं भन्ने भावना भएका र प्रभावशाली देखिन्छन्। तर देखिए अनुरुप यिनले आफ्नो कार्यकाललाई त्यस्तो स्मरणीय बनाउने केही राम्रो काम भने गर्न सकेनन्।
मुशरफले सन् १९९९ मा सैन्य विद्रोह गरेर दश वर्षसम्म सत्तामा कब्जा गरे पनि आफ्नो लिगेसी बोक्ने कुनै संगठन र विचार वर्ग तयार पार्न सकेनन्।
मुशरफले पाकिस्तानी सेनाको साख, पाकिस्तानी समाजमा रहेको प्रभाव र सैन्य विद्रोह गर्ने क्षमताको ह्रास गरेर गएको आरोप लाग्ने गरेको छ।
कट्वालले माओवादी नेता प्रचण्डको राजनीतिलाई साँघुर्याउनमा मुख्य भूमिका खेलेर प्रशंसा पाए पनि उनले राजसंस्था जोगाउन नसकेको, सेनाको पुरानो साख समाप्त पारेको र सेनाभित्र वाह्य शक्ति केन्द्रहरुको घुसपैठ गराएको आरोप लाग्दछ।
आ-आफ्नो देशको राष्ट्रिय राजनीतिमा यी दुई जना जनरलहरुले केही त गर्छन् कि भन्ने आश गरेका थिए मान्छेहरुले। तर पेन्सन बुझेर घर जानुबाहेक यी दुई जना जनरलबाट राखिएको अपेक्षा त्यत्तिकै रह्यो।
संयोग पनि कस्तो पर्यो भने जनरल परभेज मुसरफ लामो अस्वस्थतापछि ७९ वर्षको उमेरमा हिजो स्वर्गे भए, ७४ वर्षका महारथी कटवाल पनि मृगौलाको रोगले नराम्ररी थलिएका छन्।
जेहोस् पाकिस्तान र नेपालमा सेनापति त कति भए कति ! तर यी दुई जना जनरलहरुलाई आआफ्नो देशको सैन्य इतिहासको चर्चा गर्दा बिर्सिन भने सकिन्न।
स्वर्गीय मुशरफको आत्माले शान्ति पाओस्, महारथी कट्वाललाई शिघ्र स्वास्थ्यलाभ होस्।