`राजापुर चम्क्याको छै के ?´ ……….
कुनै समय रेडियो नेपालमा यो गीत दिनमा पटक – पटक गुन्जिरहन्थ्यो। पश्चिम नेपालको निकै पूरानो हाटबजार राजापुर (बर्दिया) २०४०-४२ सालपछि बिस्तारैओरालो लागेको थियो।
पश्चिम क्षेत्रको प्रमुख व्यापारिक केन्द्र राजापूरमा दैनिक उपभोग्य वस्तुहरु खरिद गर्न सुदूर पश्चिमका अछाम, बझाङ , बाजुरा , डोटी , मध्यपश्चिमका दैलेख, जाजरकोट लगायतका जिल्लाहरु र कर्णाली अंचलका सवै जिल्लाहरुवाट सर्वसाधारणहरु आउने गर्थे।
पहाडवाट घिउ, खाद्यान्न, उन, राडीपाखी आदि लिएर आउने मानिसहरु यतावाट नुन, तेल लत्ताकपडा लिएर फर्किन्थे। राजापूरमा त्यतिवेला व्यापार व्यवसाय निकै चम्केको थियो। विस्तारै यो हाटवजजार कैलालीको बलचौर, कटाँसे हुँदै कर्णाली चिसापानी सर्यो। केही समय सुर्खेतको गुटुमा चलेको यस्तो वजार कर्णाली राजमार्ग वनेपछि बन्द प्राय भयो। पहाडवाट यस्तो वजारमा जानुलाई `हाट जाने´ भन्ने चलन थियो।
३० को दशकमा निकै चम्किएको `राजापूर´ को सम्झना गर्दै देउडा शैलीमा गाईएको गीत `राजापुर चम्क्याको छै के ?´ पहाडी क्षेत्रमा निकै लोकप्रिय थियो। अघिल्लो पुस्ताका मानिसहरु त्यो चम्किलो राजापूरको चर्चा गर्थे।
सम्भवत: नेपालकै उर्वर भूमी राजापुर क्षेत्रमा १० गाविस थिए। सशस्त्र द्वन्दले यस क्षेत्रलाई नराम्ररी प्रभावित पार्यो। धेरै विस्थापित भए। कर्णाली नदीले टापुजस्तो राजापुर क्षेत्र पन्टुन व्रिज र हाल नेपालकै दोस्रो लामो मानिने पक्की पूलले जोडेपछि केही चहलपहल छ। राजापुर भएर निस्केको हुलाकी राजमार्ग पूर्ण रुपमा संचालनमा छैन।
पंतिकार सोमवार पुग्दा राजापूरको मुख्य वजारमा खासै रौनक देखिएन। `राजापुर चम्केको छैन´। द्वन्द्वकालको धङधङी अझै नगएजस्तो !
मूख्य वजारको रजत जयन्ती चोक नै अस्तव्यस्त देखियो । तर राष्ट्रिय झण्डा र राजा वीरेन्द्रको तस्वीर भने चम्कीरहेको थियो।